ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु (बिओके)को एकीकृत कारोबार यही पुस २५ देखि हुने भएको छ। दुवै बैंकले गत मंसिर २३ गते सम्पन्न साधारणसभाबाट एक–आपसमा गाम्भे/गाभिने (मर्जर)सम्बन्धी प्रस्ताव पारित गरेसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो।
राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो। दुई बैंक मर्जरपछि ग्लोबल आइएमई बैंकका नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो।
मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं. २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु १ः१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्। बैंक अफ काठमाण्डुको १०० कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १०० कित्ता सेयर प्राप्त गर्नेछन्।
मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पुँजी रु. ३४ अर्ब ४१ करोड पुग्नेछ। बैंकको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप रु. तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा रु. तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ। मर्जरपश्चात् बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछन्।
मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ग्लोबल आइएमई बैंकका सिइओ रत्नराज बज्राचार्य रहनेछन्। साथै मर्जरपश्चात् बैंक अफ काठमाण्डुका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नेछन्। बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँचजना र बैंक अफ काठमाण्डुका तर्फबाट दुईजना रहने सहमति भएको थियो।