मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडाैं
२०७९ पौष १८ सोमबार ०७:१८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

शून्य लागतमा स्थानीय सरकारले नै मौसमी कामदार पठाउन सक्ने

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ पौष १८ सोमबार ०७:१८:००

अब स्थानीय सरकारले नै मौसमी कामदार भिसामा नेपाली कामदार पठाउन सक्ने भएका छन् । सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ जारी गर्दै रोजगारदाताले तोकेअनुसार निश्चित स्थानीय सरकारले नेपाली कामदार पठाउन सक्ने व्यवस्था भएको हो । छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन निर्देशिका जारी गरेको जनाएको छ । 

पछिल्लो समय कोरिया, बेलायत, रोमानिया, अस्ट्रिया, जापानलगायतका मुलुकमा नेपालीहरू मौसमी कामदारका रूपमा जान थालेका छन् । तर, मौसमी कामदारका लागि नेपालले कुनै पनि मुलुकसँग श्रम सम्झौता नगरेकाले उनीहरू अनौपचारिक रूपमा जान थालेका हुन् ।

त्यसैले एजेन्टहरूले कामदारसँग चर्को शुल्क असुल्ने गरेको पाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । गन्तव्य मुलुकमा पुगेपछि पनि नेपाली कामदारले तोकिएबमोजिम सेवा र सुविधासमेत नपाएर जोखिम पर्ने गरेको गुनासो मन्त्रालयमा आएको उनले बताए । 

सोही कारण मौसमी कामदारको मागलाई मध्यनजर गर्दै सुरक्षित बनाउन निर्देशिका नै जारी गरिएको सचिव अर्यालले बताए । उनका अनुसार निर्देशिकाबमोजिम रोजगारदाता वा निकायसँग स्थानीय सरकारले कामदारका लागि मागपत्र प्राप्त गर्न सक्नेछन् । स्थानीय तहलाई यस्तो जिम्मेवारी दिँदा वैदेशिक रोजगारी अझै व्यवस्थित हुने अपेक्षा गरिएको उनले बताए । 

 शून्य लागतमा नै कामदार पठाइने
स्थानीय सरकारले मौसमी कामदार शून्य लागतमा नै पठाउनुपर्नेछ । सम्बन्धित रोजगारदातासँग श्रम सम्झौता गर्दा कामदार सम्बन्धित रोजगारीमा पुगेर फर्कंदासम्मको सम्पूर्ण आर्थिक जिम्मेवारी रोजगारदाताले नै व्यहोर्ने गरी सम्झौता गरिनुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ । स्थानीय तहले मौसमी रोजगारीका लागि वैदेशिक रोजगारमा जान चाहने व्यक्तिसँग आवेदन माग गरी सार्वजनिक सूचना प्रकाशन गर्नुपर्नेछ । यस्तो सूची विभागले सार्वजनिक जानकारीका लागि आफ्नो वेबसाइटमार्फत प्रकाशन गर्नुपर्नेछ । 

 तीन महिनादेखि एक वर्षको श्रम स्वीकृति
मौसमी कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति अवधि थोरैमा तीन महिना र धेरैमा एक वर्षको हुनेछ । रोजगारीमा जानुपूर्व वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्नेछ । कामदार पुनः सोही रोजगारीमा जाने भएमा विभागबाट पुनः श्रम स्वीकृति लिनुपर्ने निर्देशिकामा व्यवस्था छ । त्यस्तै, रोजगारीमा जानुपूर्व कामदारले अनिवार्य रूपमा वैदेशिक रोजगार म्यादी जीवन बिमा गर्नुपर्नेछ भने सरकारले तोकेबमोजिम कल्याणकारी कोषको रकमसमेत जम्मा गर्नुपर्नेछ । 

रोजगार सम्झौता गर्दा रोजगारदाताले त्यस्तो रोजगार सम्झौताको तीन प्रतिमा हस्ताक्षर गरी विभागमार्फत सम्बन्धित कामदारको हस्ताक्षरका लागि पठाउनुपर्नेछ । यसरी प्राप्त भएको रोजगार सम्झौताको प्रतिमा सम्बन्धित कामदारको हस्ताक्षरका लागि कामदार छनोट गर्ने सम्बन्धित स्थानीय तहमा पठाउनुपर्नेछ । रोजगार सम्झौता प्राप्त भएपछि सम्बन्धित स्थानीय तहमा कामदारको हस्ताक्षर गराई सो सम्झौताको एकप्रति सम्बन्धित कामदारलाई दिई एकप्रति विभागमार्फत सम्बन्धित रोजगारदातालाई उपलब्ध गराउनुपर्नेछ र बाँकी एकप्रति अभिलेखका लागि राखी प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ । सम्झौता समाप्त भएपछि यस्तो कामदारले पुनः रोजगार प्राप्त गर्ने भएमा सम्बन्धित नेपाली कूटनीतिक नियोगमार्फत विभागमा जानकारी गराउनुपर्नेछ । 

रोजगार सम्झौता सम्पन्न भएका उम्मेदवारको प्रवेशाज्ञाका लागि विभागले सम्बन्धित मुलुकको नेपालमा अवस्थित वा नेपाल हेर्ने कूटनीतिक नियोगसमक्ष सिफारिस गर्नेछ । रोजगार सम्झौता भएको कामदारले प्रवेशाज्ञाका लागि आवेदन गर्दा सम्बन्धित मुलुकको प्रचलित कानुनबमोजिम समावेश गर्नुपर्ने कागजात बुझाउने जिम्मेवारी सम्बन्धित कामदारको नै हुनेछ । कामदारले सम्बन्धित मुलुकमा प्रस्थान गर्नुअघि कम्तीमा दुई दिनको अभिमुखीकरण तालिम लिनुपर्नेछ । कामदारले अनिवार्य रूपमा बिमा गर्नुपर्नेछ । कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्नेछ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ अनुसार आर्थिक वर्ष ०७४/७५ देखि आव ०७८/७९ सम्ममा ६० हजार नेपाली कामदारले व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा गएका छन् । मौसमी कामदारका रूपमा रोजगारीमा जाने कामदारले व्यक्तिगत श्रम स्वीकृति लिएर गएको देखिन्छ । प्रतिवेदनअनुसार गत आवमा मात्रै २६ हजार सात सय ४० ले यस्तो श्रम स्वीकृति लिएर बिदेसिए । त्यस्तै, आव ०७७/७८ मा पाँच हजार तीन सय १७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर विश्वका विभिन्न मुलुक पुगे । आव ०७६/७७ मा नौ हजार ६ सय ७१, आव ०७५/७६ मा नौ हजार एक सय ५१ र आव ०७४/७५ मा आठ हजार नौ सय ६ जनाले यस्तो श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।

तथ्यांकअनुसार गत आवमा तीन हजार सात सय २३ जना क्रोएसिया गए । दुई हजार ६ सय ६६ बेलायत पुगे । दुई हजार ६ सय ५७ जना माल्दिभ्स, एक हजार ६९ जापान, एक हजार चार सय ९१ पोल्यान्ड, एक हजार दुई सय ४५ रोमानिया, एक हजार दुई सय २९ माल्टा, सात सय ५८ टर्की पुगेका छन् ।