१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
सोनिमाया गुरुङ र विदेशमा बेपत्ता श्रीमान् सोमबहादुर गुरुङ 
२o८१ बैशाख २५ मंगलबार १६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
फिचर डिजिटल संस्करण

'१२ वर्षमा खोला त फर्किन्छ रे, छोराछोरीको मायाले उनी कसो नफर्केलान् ?'  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:२o:oo

श्रीमान् विदेशिएको १२ वर्ष भयो। ९ वर्षदेखि उनका श्रीमान् बेपत्ताजस्तै छन्। ऋणधन गरेर उनले दुई छोरा एक छोरीको लालनपालन र आफ्नो गुजारा मुश्किलले गरेकी छन्। 

रोगले थलिएर ऋणको भारीमा चुर्लुम्म डुबेकी धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोटकी सोनीमाया गुरुङ भन्छिन्, ‘म त धेरै बाँच्दिन होला, छोराछोरी कसरी बचाउने? ऋण तिर्ने उस्तै चिन्ता छ। उनी आउँछन् कि जस्तो लाग्छ, म त श्रीमानकै पर्खाइमा छु।’

सोनीमायाका अनुसार सुखले पाल्ने सपना देखाएर १२ वर्ष अगाडि श्रीमान् सोमबहादुर गुरुङ घरसल्लाहमै कतार गएका थिए। ‘तीन वर्षसम्म त कुराकानी भयो’, उनी भन्छिन्, ‘विदेश गएर घर पनि आए। थोरै थोरै पैसा पनि पठाउँथे। जेनतेन घर खर्च चलेको थियो। म तिमीहरुकै लागि विदेशिएको हो, दुःख गर्न पर्दैन, स्वास्थ्यको ख्याल गर, मिठो मसिनो खानु भन्थे। तर पछि एक्कासी उनको  व्यवहार फेरियो। थुप्रै सपना देखाएर विदेशिएका श्रीमान् नफर्केपछि अहिले सपना देख्नेगरी सुत्न पनि सकेको छैन।’ 

सोनीमाया अहिले छोराछोरीसँगै भाडाको घरमा बस्छिन्। गाउँमा भएको घर परिवारका सदस्यले नै भत्काउन लगाए। ‘बनाएको घर भत्किएपछि गाउँमा बस्न सक्ने अवस्था नभएपछि उनी भाडामा बस्न थालिन्। श्रीमानको बाटो हेर्दाहेर्दै वर्षाैँ बित्यो। सानीमायाले श्रीमान सोमबहादुर फर्किने आसमा दैनिक गुजारेकी छिन्।

सोनीमाया पाठेघरको बिरामी छिन्। मोटो रकम खर्चिएर उपचार गर्दा पनि निको नभएको उनी बताउँछिन्। उनले प्रश्न गर्दै भनिन्, ‘मुखमा हाल्ने माड छैन, उपचार कसरी गर्नु? छिट्टै उपचार नगरे डाक्टरले क्यान्सर हुन्छ भन्नु भएको छ । तर उपचार गर्ने पैसा मसँग छैन। छोराछोरी हुर्काउन पठाउन र उपचार गर्दा झण्डै १५ लाख ऋण भइसकेछ। चिने जानेका आफन्त, माइती, दिदिबहिनी, समूह, सहकारी सबै ठाउँमा पैसा तिर्नुछ। जता हेरेपनि पीर मात्रै छ।’

परिवार पाल्न घर छाडेर काममा जाँदा गाउँमा उनीमाथि विभिन्न लाञ्छना लाग्ने गरेको उनले बताइन्। ‘घरमा बसेर काम पाइन्न, काममा जाँदा गाउँमा पोइला गयो भनेर हल्ला गर्छन्। ज्याला मजदुरी गर्थेँ, पाठेघरमा समस्या आएर काम गर्न सक्दिन। होटल चलाएँ, त्यो व्यवसायले पनि उकासेन। भारत पुगेर पनि काम गरेँ। १२ वर्षमा खोला त फर्किन्छ भन्छन्, उनी पनि छोराछोरीको मायाले कसो नफर्केलान्?’ 


 तस्बिर : अर्जुन श्रेष्ठ/नयाँ पत्रिका 


 

ad
ad