१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
कमल खत्री म्याग्दी
२o८१ जेठ ५ शनिबार १५:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बेनी बजारका अव्यवस्थित संरचना हटाउन सुरु 

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:५२:oo

म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना हटाउन सुरु गरेको छ। बसपार्क, सडक, पुललगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचना हटाउन सुरु गरिएको हो।

शुक्रबार बेनी नगरपालिका– ८ मा पर्ने कालीपुलको बसपार्क क्षेत्रमा निर्माणाधीन बसपार्क क्षेत्रभित्र रहेका अव्यवस्थित संरचना हटाइएको हो। कालीपुल बसपार्कलाई विस्तार र निर्माणका लागि सञ्चालन भएको पूर्वाधार योजनालाई पूर्णता दिन अव्यवस्थित रूपमा रहेको टिकट काउन्टर, सार्वजनिक शौचालय र भवन हटाइएको वडाध्यक्ष उत्तम कर्माचार्यले बताए।

उनका अनुसार अव्यवस्थित रूपमा सार्वजनिक जग्गामा सञ्चालित रेस्टुरेन्टलाई समेत एक साताभित्र हटाउने तयारी भएको छ। ‘बसपार्कलाई व्यवस्थित बनाउन यहाँका अव्यवस्थित संरचना हटाइएको हो, रेस्टुरेन्ट सञ्चालकले एक साताभित्र आफैँ खाली गर्छु भनेपछि समय दिएका छौँ,’ वडाध्यक्ष कर्माचार्यले भने। 

बसपार्कलाई व्यवस्थित बनाउन त्यहाँ रहेका भौतिक संरचना डोजर चलाएर हटाउन थालिएको हो। नगरपालिकासँग सार्वजनिक जग्गा भाडामा लिएर बसेकाले सम्झौताको म्याद सकिएको र नगरपालिकाले पटक–पटक ताकेता गर्दासमेत अटेर गरेपछि नगरपालिकाले डोजर लिएर अव्यवस्थित संरचना हटाउन सुरु गरेको जनाएको छ।

शुक्रबारसम्म कालीपुल बसपार्क निर्माणस्थलमा पर्ने यातायात कम्पनीको दुईवटा टिकट काउन्टर, क्लबको भवन, सार्वजनिक शौचालयलगायतका  अव्यवस्थित संरचना हटाइसकिएको छ।

नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको पर्खाल पनि भत्काइएको छ। सघन सहरी तथा भवन डिभिजन कार्यालय बाग्लुङले कालीपुल बसपार्कको गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। 

भवन निर्माण आसपासका क्षेत्रमा बसपार्क ढलानका लागि संरचना भत्काइएको नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिए। उनका अनुसार बजारभित्रका अन्य क्षेत्रमा रहेका अव्यवस्थित भौतिक संरचनासमेत क्रमिक रूपमा हटाइनेछ। ०७४ मा तयार पारिएको कालीपुल बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार अहिले भौतिक संरचना निर्माण भइरहेको छ। यसका लागि रु. २१ करोड लागत लाग्ने अनुमान गरिएको छ।

नगरपालिका कार्यालयअगाडि म्याग्दी नदीमाथि रहेको मोटरेबल पुलको हाँडेभिरतर्फ अतिक्रमण गरेर बनाइएको  संरचना हटाएर त्यहाँ पनि जिपपार्क बनाउने तयारी गरेको नगर प्रमुख केसीले जानकारी दिए। 

‘नगरपालिकाले पुल अतिक्रमण गरेर व्यवसाय गरेकासँगको सम्झौताको म्याद यसअघि नै सकिएकाले सो ठाउँ छाड्न पटकपटक पत्राचार गरेकोे छ, दुई वर्षदेखि भाडा पनि लिएका छैनौँ, अब बजेट विनियोजन भएर निर्माण व्यवसायी कार्यक्षेत्रमा परिचालन हुनासाथ त्यहाँका अव्यवस्थित तवरले बनाइएको संरचना पनि हटाउँछौँ,’ मेयर केसीले भने।

पुलनजिकै भएका अतिक्रमण हटाएर बाग्लुङ, भकिम्ली र बरञ्जा चल्ने जिप तथा बस पार्किङस्थल बनाउने नगरपालिकाको योजना छ। जिल्ला प्रशासन कार्यालयअगाडिको सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँग पनि नगरपालिकाले सम्झौता नवीकरण गरेको छैन। 

त्यहाँ नाली निर्माणसँगै पार्किङस्थल बनाउन व्यवसायीलाई हट्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बेनी नगरपालिका– ८ कालीपुलको पुरानो बजारको एक रोपनीभन्दा बढी अतिक्रमण हटाएर उद्यान बनाइएको छ। 

बेनीको सार्वजनिक जग्गा, पुल, खोल्सा र सडक अतिक्रमण गरेर घर, अस्थायी टहरा बनाएका छन्। नगरपालिकासँग सम्झौता गरी सार्वजनिक जग्गा भाडामा लिएर व्यवसाय गरेका कतिपयले वर्षौँदेखिको बक्यौता तिरेका छैनन्। केहीले सस्तोमा सार्वजनिक जग्गा भाडामा लिएर महँगाेमा अरूलाई भाडामा लगाउने पनि गरेका छन्।
 

ad
ad