मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १३ बुधबार ०६:४९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

थप ४३.६५ मेगावाट बिजुली बिक्री गर्न भारतको अनुमति

तर, अझै ६ सय ३४ मेगावाटका सात आयोजना स्वीकृतिको पर्खाइमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १३ बुधबार ०६:४९:००

भारतले आफ्नो देशमा थप ४३.६५ मेगावाट बिजुली बिक्री गर्न नेपाललाई अनुमति दिएको छ । काबेली बी–१ जलविद्युत् आयोजनाको २४.२५ मेगावाट र तल्लो मोदी जलविद्युत् आयोजनाको १९.४ मेगावाट विद्युत्लाई स्रोत मानेर सोबराबरको बिजुली बिक्री गर्न भारतले यसै साता नेपाल विद्युत् प्राधिकरणलाई अनुमति पठाएको हो । 

अब विभिन्न १० जलविद्युत् आयोजनाको विद्युत्लाई स्रोत मानेर भारतमा ४५२.६ मेगावाट विद्युत् बिक्री गर्न सकिने भएको छ । भारतले यसअघि पनि विभिन्न आठ आयोजनाको विद्युत्लाई स्रोत मानेर ४०८.९५ मेगावाट विद्युत् बिक्री गर्न प्राधिकरणलाई अनुमति दिइसकेको छ । अहिले अरुण काबेली पावर कम्पनी लिमिटेडले पाँचथर र ताप्लेजुङमा सञ्चालनमा ल्याएको काबेली बी–१ र मोदी इनर्र्जीले पर्वतमा सञ्चालनमा ल्याएको तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली पनि भारतमा बिक्री गर्न अनुमति पाएको प्राधिकरणका एक अधिकारीले बताए । 

यद्यपि, अहिले हिउँदका कारण विद्युत् उत्पादन कम हुँदा नेपालले भारतबाट विद्युत् आयात गरिरहेको छ । बर्सात लागेपछि सोबराबरको विद्युत् भारतमा निर्यात गरिने प्राधिकरणको भनाइ छ । नेपालमा विद्युत्को मुख्य स्रोत जलविद्युत् हो । त्यसमा पनि अधिकांश जलविद्युत् आयोजनाहरू नदी प्रवाह (आरओआर)मा आधारित छन् । त्योअनुसार बर्सातमा खोलामा पानी बढी हुँदा आयोजनाहरूबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यतिवेला भारतमा विद्युत् निर्यातसमेत गर्न सकिन्छ । तर, हिउँदमा भने खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि स्वतः घट्छ । हिउँदमा स्वदेशी माग धान्न भारतबाट नै विद्युत् आयात गर्नुपर्छ । पुसको पहिलो सातासम्म भारतमा बिजुली निर्यात गरिरहेको प्राधिकरणले अहिले भने भारतबाटै विद्युत् आयात गरिरहेको छ ।

प्राधिकरणले सुरुमा गत वर्ष कात्तिकमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतमा बिक्री गर्ने अनुमति पाएको थियो । त्यसपछि गत २७ जेठमा थप चार आयोजनाको तीन सय २५ मेगावाट विद्युत् बिक्री गर्ने अनुमति प्राप्त भएको थियो । यसैगरी, गत १८ र ३० कात्तिकमा थप दुई जलविद्युत् केन्द्रको ४५ मेगावाट विद्युत् भारतमा बिक्री गर्ने अनुमति प्राधिकरणले पाएको थियो । अहिले आएर भारतले थप दुई आयोजनाको ४३.६५ मेगावाट बिजुली बिक्री गर्ने अनुमति दिएको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठ ०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । हिउँद लागेर उत्पादन घटेपछि गत ४ पुसबाट निर्यात रोकिएको छ ।