
सप्तरीका मिटरब्याजी रामदेव तेलीविरुद्ध पीडितहरूले सोमबार राजविराजमा नाराबाजी गरेका छन्।
स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, विपन्नलाई विस्थापित गराउने मिटरब्याजी साह परिवारमाथि कारबाही गर, बलात्कारी रामदेव साह मुर्दावाद, मिटरब्याजी रामदेव साहलाई पक्राउ गर भन्दै नारा लगाए।
मिटरब्याजी ठगी तथा आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी साहलाई पक्राउ गर्न विगत सात महिनाको अवधिमा पीडितले १९ औँपटक प्रदर्शन गरेका हुन्।
‘छोरालाई वैदेशिक रोजगारीमा पठाउन जग्गा राखेर दुई लाख ७० हजार ऋण लिएको थिएँ, अहिलेसम्म उहाँ (साहुकार रामदेव)लाई १२ लाख तिरिसकेँ,’ आन्दोलनमा भेटिएका शीतल यादवले भने, ‘साहुले अझै ४४ लाख तिर्न बाँकी छ, उक्त रकम तिरेपछि मात्रै जग्गा फिर्ता दिन्छु भन्नुहुन्छ।’
४४ लाख नतिरे जग्गा बिक्री गरिदिने धम्कीसमेत दिएको उनले गुनासो गरे। ‘छोराले कमाएको सबै पैसा साहुलाई तिर्दा पनि ऋण चुक्ता भएन। हामी गरिबमाथिको अत्याचार कसैले सुन्दैन। सरकार पनि हाम्रा लागि भएन,’ यादवले भने।
मिटरब्याजी संघर्ष समितिका सचिव छेदी पासवानले पटक-पटक आन्दोलन गरे पनि अझैसम्म हाम्रो माग सरकारले सुनेको छैन। १९ पटक सडकमा आन्दोलन गरेँ, अब अन्तिम विकल्प सांसद भवन घेरिने उनले बताए।
अर्का पीडित तैयव अलीले जालसाजीपूर्वक घरजग्गा हड्पेर साहुकार रामदेवले सुकुमबासी बनाएको गुनासो गरे। ‘हेर्दाहेर्दै साहुकार रामदेवले हामीलाई सुकुमबासी बनाइदिए। जालसाजीपूर्वक घर र जग्गा खाए। हामीमाथि अन्याय भएको छ, न्याय नपाएसम्म संघर्ष गरिरहन्छौँ,’ उनले भने, ‘न्याय नपाए अब मर्छौँ, हामी गरिबसँग अर्को विकल्प छैन।’
९५ लाख तिरिसक्दासमेत रामदेवले आफ्नो घरसहित एक बिघा १० कट्ठा जग्गा कब्जा गरेको उनले बताए। साहुका छोरा नन्दकिशोर र छोरी अनुराधा भने ५ महिनाअघि नै पक्राउ परी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि राजविराज कारागारमा छन्। सो मुद्दामा खुंखार मिटरब्याजी रामदेव तेली फरार छन्।
तस्बिर : सौरभ यादव/ नयाँ पत्रिका