Skip This
नेपाल ‘लिटरेचर फेस्टिभल’ को १०औँ संस्करण सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ पौष ६ बुधबार २o:२९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल ‘लिटरेचर फेस्टिभल’ को १०औँ संस्करण सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार २o:२९:oo

नेपाली कला, साहित्य र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटकीय नगरी पोखरामा १०औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल २०२२ सुरु भएको छ।

बुकवर्म फाउन्डेसनको आयोजना पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइडस्थित फेवाताल किनारको बाराहीघाटमा ११ पुससम्म चल्ने महोत्सवको सहआयोजकमा गण्डकी प्रज्ञा प्रतिष्ठा, प्रवर्द्धकमा पोखरा महानगरपालिका र पोखरा प्रज्ञा–प्रतिष्ठान सहयोगी संस्थाका रूपमा छ। 

‘सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको प्रांगणबाट सुरु भएकाे फेस्टिभल सन् २०१६ देखि पोखरामा आयोजना हुँदै आएको छ। ’शब्दशक्ति उत्सवको एक दशक’ नारासहित सुरु फेस्टिभलको पूर्वसन्ध्यामा बुधबार शुभारम्भ साँझ सम्पन्न भएको छ। पोखराको लेकसाइडस्थित एक होटेलमा भएको साँझमा नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति दिएका थिए।

औपचारिक उद्घाटन बिहीबार

 शुभारम्भ साँझसहित बुधबारदेखि सुरु फेस्टिभलको उद्घाटन भने बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नेछन्।

उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले ’नेपाल २०९०’ शीर्षकमा विद्वत् प्रवचन दिने आयोजक समितिका निर्देशक नीरज भारीले जानकारी दिए।

सोही दिन गोपाल योञ्जनको स्वर्गारोहणको २५ वर्षमा उनको सम्झनामा गोपालय सांगीतिक प्रस्तुतिसमेत छ । साँझलाई खुकुरी रमले प्रायोजन गरेको छ।

फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवं सरोकारवालालाई जवाफदेही बनाउन सघाउने सँगै सचेत समाज निर्माणमा समेत विशेष भूमिका निर्वाह गर्ने भारीको भनाइ छ। समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउनसमेत यस्ता फेस्टिभलले सहयोग पुर्‍याउने भारीले बताए।

५५ सत्र, विशिष्ट व्यक्तित्वको सहभागिता 

फेस्टिभलमा विभिन्न विषयमा गरी ५५ सत्रमा छलफल हुने आयोजक संस्थाका सदस्य केशवशरण लामिछानेले जानकारी दिए। ती शत्रमा हुने छलफलमा देश र विदेशका गरी करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको सहभागिता छ। 

सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलांकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सहप्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वको सहभागिता रहनेछ।

पूर्वप्रधानमन्त्री केपी ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवं लेखक विजयकुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बूलगायतको सहभागिता रहनेछ। फेस्टिभलमा फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरू, दार्चुला, गोरखा र मनाङका स्थानीय जनप्रतिनीधिसमेत सहभागी हुने लामिछानेले जानकारी दिए।

हरेक दिन सांगीतिक प्रस्तुति रहने फेस्टिभलमा गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष सांगीतिक  र रैथानको प्रस्तुति रहेको छ भने अन्तिम दिन प्रदीप रोदनको महफिल रहनेछ। 
यसैगरी, शिक्षाका तीन सत्रहरूसँगै कक्षा ९ देखि १२ सम्मका बालबालिकाको लागि वक्तित्वकला प्रतियोगितासमेत गरिनेछ। 

साहित्यका माध्यमबाट पोखरालाई चिनाउने फेस्टिभल नेपालकै सबैभन्दा ठूलो र एक मात्र फेस्टिभल रहेको दाबी लामिछानेले गरे। 

पोखरालाई फरक पहिचान दिने भन्दै लामिछानेले हिमाल, ताल र सौन्दर्यको सहर पोखरालाई साहित्यको सहर पनि बनाउन फेस्टिभलले सघाइरहेको बताए। 
फेस्टिभलका हरेक सत्रहरू दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने, सकेसम्म धेरै अन्तर्क्रिया गर्ने र नयाँ मुद्दाहरूबारे विमर्श गर्ने किसिमले निर्माण गरिएको लामिछानेको भनाइ छ। 

आयोजक संस्थाका अर्का सदस्य भरत कोइरालाले पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको बताए। फेस्टिभलले साहित्यसँगै संवादका अलावा पोखरामा पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिइरहेको बताए।

पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको गण्डकी प्रदेशका लागि समेत फेस्टिभलले टेवा पुर्‍याउने विश्वास आयोजको रहेको उनको भनाइ छ। फेस्टिभलका सहनिर्देशक सुजाता खत्रीले दशौँ संस्करणको फेस्टिभल आफूहरूका लागि थप विशेष रहेको बताइन्। कोरोनाका कारण गत वर्ष आयोजना गर्न नपाएको भन्दै खत्रीले यस वर्षको फेस्टिभललाई विशेष बनाउन खोजेको बताइन्। 

फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएको दाबी उनको थियो। फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आफूहरूको अनुभव रहेको उनले सुनाइन्।