शून्य कोभिड नीतिबाट पर्याप्त तयारीविनाको बहिर्गमनले चीनमा १० लाखको मृत्यु हुन सक्ने चेतावनी
शून्य कोभिड नीतिबाट चीनको आकस्मिक तथा न्यून तयारीको बहिर्गमनले झन्डै १० लाखको मृत्यु हुन सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ । देशका ठूला सहरदेखि ग्रामीण क्षेत्रसम्म संक्रमणको अभूतपूर्व लहर आउँदै गरेको देखिएको वेला यस्तो अध्ययन सार्वजनिक भएको हो ।
हङकङ विश्वविद्यालयका प्राध्यापकहरूले अहिलेको अवस्थामा देशव्यापी प्रतिबन्ध खुकुलो बनाउँदा प्रत्येक १० लाखमा ६ सय ८४ को मृत्यु हुन सक्ने प्रक्षेपण गरेको सिएनएनले लेखेको छ । चीनको एक अर्ब ४० करोड जनसंख्यामा हिसाब गर्दा कोभिड– १९ बाट चीनमा कम्तीमा नौ लाख ६४ हजार चार सयको मृत्यु हुने उनीहरूले आकलन गरेका छन् ।
झन्डै तीन वर्षदेखि भाइरसको प्रसार रोक्न चीनले कडा लकडाउन, क्वारेन्टिन, सामूहिक परीक्षण र कन्ट्याक्ट ट्रेसिङजस्ता उपाय पछ्याउँदै आएको थियो । तर, प्रतिबन्धविरुद्ध देशभर विस्फोटक विरोध प्रदर्शनपछि चीनले शून्य कोभिड नीति हटाएको छ । चीनले यसै महिनाको सुरुदेखि शून्य कोभिड नीति हटाइएको हो । निरोधात्मक कडा प्रतिबन्धहरूले दैनिक जीवनलाई कष्टकर बनाउनुका साथै व्यवसायलाई गम्भीर रूपमा प्रभावित पारेपछि मानिसमा असन्तुष्टि चुलिएको थियो ।
तर, विज्ञहरूले चीन शून्य कोभिड नीतिबाट बहिर्गमनका लागि तयार भइनसकेको चेतावनी दिएका छन् । वृद्धवृद्धाको खोप दर बलियो बनाउन, अस्पतालको क्षमता वृद्धि, गहन हेरचाह क्षमता र एन्टिभाइरल औषधिहरू भण्डारमा मुलुकको तयारी कमजोर रहेको भन्दै विज्ञहरूले चेतावनी दिएका हुन् ।
संक्रमण वृद्धिले ‘देशैभर अधिकांश स्थानीय स्वास्थ्य प्रणालीलाई अस्तव्यस्त बनाउन सक्छ’ अनुसन्धान प्रतिवेदनले भनेको छ । गत हप्ता मेडर्सिभ प्रिप्रिन्ट सर्भरमा सार्वजनिक गरिएको सो अध्ययनको गहिरो समीक्षा हुन बाँकी नै छ ।
सबै प्रान्तमा एकैपटक प्रतिबन्ध खुकुलो बनाउँदा संक्रमण प्रसार भई अस्पताल भर्ना हुने संक्रमितहरूको संख्यालाई धान्न अस्पतालको क्षमता १.५ देखि २.५ गुणाले बढाउनुपर्ने अध्ययनले देखाएको छ । चीनले तीव्र रूपमा कोभिडको बुस्टर डोज र एन्टिभाइरल औषधि सुरु गरेमा खराब अवस्थाबाट जोगिन सकिने सुझाव दिइएको छ ।
चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) र हङकङ सरकारद्वारा आंशिक रूपमा अनुदान प्रदान यो अध्ययनअनुसार चौथो डोज खोपले ८५ प्रतिशतलाई र एन्टिभाइरल खोपले ६० प्रतिशतलाई समेट्न सके मृत्युको संख्या २६ देखि ३५ प्रतिशतसम्म घटाउन सकिनेछ ।
यसैबीच, सोमबार चिनियाँ अधिकारीले राजधानी बेइजिङमा कोभिडबाट दुईजनाको मृत्यु भएको घोषणा गरेका छन् । बेइजिङ महामारीको सुरुवातदेखिकै सबैभन्दा खराब लहरसँग जुधिरहेको छ । ७ डिसेम्बरमा नाटकीय रूपमा प्रतिबन्ध खुकुलो बनाइएपछि आधिकारिक रूपमा पहिलोपटक मृत्युबारेको रिपोर्ट सार्वजनिक गरिएको छ । –एजेन्सी