१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा पुस ८ का लागि सर्वदलीय बैठक आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १९:o८:oo

बागमती प्रदेश सभा सचिवालयले पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ। सांसदहरूको शपथग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले शपथग्रहणअघि सर्वदलीय बैठक आह्वान गरेको हो। 

निर्वाचन आयोगले बागमती प्रदेश सभाका लागि निर्वाचित सांसदहरूको अन्तिम मतपरिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएसँगै संसद् सचिवालय सांसदहरूको शपथमा जुटेको छ। 

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभा सञ्चालनका लागि आवश्यक प्रक्रियालाई तीव्रता दिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुन्दर बाँस्कोटाले जानकारी दिए। 

‘प्रदेश सभा सञ्चालनको लागि सभाको अध्यक्षता गर्ने व्यक्ति आवश्यक पर्ने भएकाले हामीले बागमती प्रदेशका प्रदेश सभा सदस्यमध्ये जेष्ठ सदस्य पहिचान गरेका छौँ। सभामुख र उपसभामुख नहुँदाको अवस्थामा प्रदेश सभा बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्थाअनुसार जेष्ठ सदस्य पहिचान गरेका हौँ,’ उनले भने।

निर्वाचन आयोगको सहयोगमा बागमती प्रदेशका ११० जना प्रदेश सभा सदस्यमध्ये जेष्ठ सदस्य पहिचान गरिएको बताउँदै सूचना अधिकारी बाँस्कोटाले सोही विषयमा छलफलका लागि आगामी पुस ८ गते सर्वदलीय बैठक बोलाइएको जानकारी दिए। 

जेष्ठ सदस्य छनोटको अन्तिम निर्णय भने सर्वदलीय बैठकपछि मात्रै सार्वजनिक गरिने बाँस्कोटाले बताए। उक्त सर्वदलीय बैठकमा जेष्ठ सदस्यको शपथ र सभाका अन्य सदस्यहरूको शपथका विषयमा पनि छलफल गरिने सूचना अधिकारी बाँस्कोटाको भनाइ छ।

प्रदेश सभा बैठकअघि प्रदेश सभा सचिवालयले जेष्ठ सदस्यको पहिचान गरी शपथका लागि प्रदेश प्रमुखसमक्ष आग्रह गर्ने संवैधानिक व्यवस्था छ। सभाका जेष्ठ सदस्यले प्रदेश प्रमुखबाट शपथ लिएपछि बाँकी सदस्यलाई जेष्ठ सदस्यले नै शपथ गराउने प्रावधान छ।

ad
ad