१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ पौष २ शनिबार ०७:५४:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

राजनीतिक गतिविधिले पर्यटन प्रवर्द्धन

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ पौष २ शनिबार ०७:५४:००

‘अतिथि देवो भव’ भन्ने वाक्यांशसहित पाहुनाको स्वागतमा दिनरात खुला रहने ठूला होटेलहरू नेपालकै सन्दर्भमा भन्नुपर्दा भने ठूला राजनीतिक उथलपुथलका साक्षी पनि हुने गरेका छन् । साथै, त्यस्ता गतिविधि भएका होटेलको चर्चा पनि चुलिने गरेको छ । होटेल र राजनीतिक दलबीच देखिएको सम्बन्धले आन्तरिक पर्यटन प्रवर्द्धनमा भने उल्लेख्य योगदान पुर्‍याएको छ । सत्ता टिकाउन सांसदहरूलाई अप्रत्यक्ष रूपमा थुनेरै राख्न मात्र नभई दलीय समस्याका गाँठा फुकाउनसमेत प्रयोग भएका होटेलले चर्चा भने प्रशस्त बटुलेका छन् । त्यति मात्र नभई राजनीतिक प्रतिवेदनदेखि चुनावी घोषणापत्र देख्नसमेत नेताहरू होटेल नै धाउने गरेका छन् । राजनीतिक तनाव कम गर्न र ‘रिफ्रेस’ हुन होटेल धाउनु त सामान्य नै भइहाल्यो । नेता तथा राजनीतिक गतिविधिले चर्चा कमाएका होटेलबारे नयाँ पत्रिकाकर्मी नवीन अर्यालले तयार पारेको रिपोर्ट :

सिन्धुपाल्चोकको ‘सुकुटे बिच रिसोर्ट’
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रिफ्रेसमेन्टका लागि छोरीहरूसहित सिन्धुपाल्चोकको ‘सुकुटे बिच रिसोर्ट’ पुगे । साथमा सभामुख अग्निप्रसाद सापकोटा पनि थिए । पारिवारिक भ्रमणमा गएका उनी ‘सुकुटे बिच रिसोर्ट’मा बसे ।

छोरीहरूसँग र्‍याफ्टिङ गरेको र रिसोर्टभित्र नेतासँग गफिएका तस्बिर पनि भाइरल भए । राजनीतिक र पारिवारिक तनाव देखिएको अवस्थामा उनी समय–समयमा सुकुटे पुग्ने गरेको देखिएको छ । यसले उक्त रिसोर्टको राम्रो प्रवर्द्धन भएको छ ।

बाग्लुङको ‘द क्लिफ स्काई क्याफे’
गत फागुनमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे संसद्मा छलफल हुने वेला अर्थमन्त्री जनार्दन शर्मा संसद् छलेर पर्वत पुगे । श्रीमतीसहित पर्वत पुगेका उनले बाग्लुङको बलेवास्थित द क्लिफको स्काई क्याफेमा खाजा खाइरहेको भिडियो सार्वजनिक भयो ।

एमसिसीको छलफलमा सहभागी हुनुपर्ने मन्त्री संसद् छलेर स्काई क्याफेमा रमाइरहेको भिडियोमा देखिएपछि उनको चौतर्फी आलोचना भयो । तर, द क्लिफको स्काई क्याफेमा बसेर चियापान गरेको फोटोका कारण धेरै नेपालीले उक्त क्याफे वारेमा जानकारी पाए ।

लाँकुरीभञ्ज्याङको ‘द टेरेसस रिसोर्ट’
असोज अन्तिम साता एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको लाँकुरीभञ्ज्याङस्थित ‘द टेरेसस रिसोर्ट’मा रमाइरहेका तस्बिर सार्वजनिक भए । तस्बिरमा उनी दूरबिनबाट दृश्यावलोकन गरेको, पिङ खेलेको, नेताहरूसँग उभिएर मोबाइल हेरेको, समूहमा बसेर छलफल गरिरहेको देखिन्थ्यो ।

पार्टीको चुनावी घोषणापत्र लेखनका लागि रिसोर्ट पुगेका उनका तस्बिरहरू छिनभरमै सामाजिक सञ्जालमा भइरल भए । रिसोर्टले ओलीका तिनै तस्बिरहरू आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा राखेर प्रचार गर्‍यो । भर्खरै खुलेको लक्जरी रिसोर्टको राम्रो प्रवर्द्धन भयो । 

धुलिखेलको जिपलाइन
५ कात्तिक ०७८ मा नातिनातिनीसहित धुलिखेल पुगेर जिपलाइन गरेपछि प्रचण्ड चर्चामा आएका थिए । उनले क्लासिक जिपलाइनको अनुभव लिएका थिए । त्यसवेला उनीसँगै धुलिखेल जिपलाइनको पनि चर्चा भयो ।

एक हजार एक सय मिटर लामो जिपलाइन गरेपछि उनले आफूलाई पनि साहसिक गतिविधिमा रुचि रहेको बताएका थिए । प्रचण्डले जिपलाइन गरेपछि त्यस क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्यो ।

शान्ति वार्तामा चर्चित गोदावरी भिलेज रिसोर्ट, ठाकुरद्वारा रिसोर्ट, शंकर, हिमालय र समिट होटेल

१० वर्ष लामो सशस्त्र द्वन्द्वमा उत्रिएको विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन तत्कालीन सरकारले होटेल तथा रिसोर्टमै संवाद गरेको थियो । १० साउन ०५८ मा सरकार–माओवादी युद्धविरामपछि १४ भदौ ०५८ मा ललितपुरको गोदावरी भिलेज रिसोर्टमा द्विपक्षीय वार्ता भएको थियो ।

दोस्रो वार्ता बर्दियाको ठाकुरद्वार रिसोर्टमा भयो भने तेस्रो वार्ता २८ कात्तिकमा गोदावरी रिसोर्टमै भयो । त्यसपछि सरकार–माओवादीबीच शान्तिवार्ता, लडाकु समायोजन विषयसम्बन्धी छलफल शंकर, हिमालयन, समिट होटेल र गोदावरी रिसोर्टमै भए । ५ मंसिर ०६३ मा सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो ।

त्यसवेला जुन–जुन होटेलमा राजनीतिक गतिविधि भए, ती होटेलको चर्चा बढेको थियो । होटेल कहाँ छ भन्ने थाहा नपाएका सर्वसाधारणसमेत होटेलको वरपर (सुरक्षाकर्मीले जान दिएसम्म) पुगेका थिए । 

‘गोकर्ण फरेस्ट रिसोर्ट’

पहिलो संविधानसभाले देशलाई नयाँ संविधान दिन नसकेपछि ०७० मा दोस्रो संविधानसभाको निर्वाचन भयो । संविधान लेखनमा विभिन्न दलका आ–आफ्नै अडान थिए । ०७१ कात्तिक पहिलो साता संविधानका विवादित विषयमा सहमति कायम गर्न कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले काठमाडौंको थलीमा रहेको गोकर्ण फरेस्ट रिसोर्टमा बैठक गरेका थिए ।

‘निर्णायक वार्ता गर्ने’ भन्दै गोकर्ण रिसोर्ट पुगेका शीर्ष नेताहरू आ–आफ्नै अडानमा रहेपछि बैठक विनानिष्कर्ष टुंगिएको थियो । नयाँ संविधान लेखनका क्रममा देखिएका विवादित विषयहरूमा छलफल गर्न नेताहरूले होटेल र रिसोर्टलाई नै बैठक थलो बनाएका थिए । त्यसले गोकर्ण रिसोर्टको चर्चा पनि राम्रै बढायो । 

‘चन्द्रागिरि हिल्स रिसोर्ट’

निर्वाचन आयोगमा पार्टी दर्ताका लागि सनाखतमा जानुभन्दा दुई दिनअघि नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई चन्द्रागिरि हिल्स रिसोर्टमा लगेर आवश्यकीय छलफल गरे । रिसोर्टमा झन्डै सयजनालाई कोठा बुक गरिएको थियो ।

नेकपा एस दर्ताका लागि समर्थन जनाएका सांसद तथा केन्द्रीय सदस्यहरू एमालेमै फिर्ता हुन सक्ने भयले चन्द्रागिरि लगिएको थियो । त्यसअघि एमाले र माओवादी केन्द्रको पार्टी एकताका लागि छलफल गर्न भनेर ओली, प्रचण्ड, विष्णु पौडेललगायत शीर्ष नेताहरू चन्द्रागिरि नै पुगेका थिए ।

भक्तपुरको ‘डोलेश्वर भिलेज रिसोर्ट’
तत्कालीन प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने विपक्षी पार्टीहरूको योजनापछि दुई कित्तामा देखिएको जनता समाजवादी पार्टीका एक दर्जन सांसदलाई २९ वैशाख ०७८ मा भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा लगेर राखियो । अविश्वासको प्रस्ताव ल्याउन नहुने पक्षमा रहेका महन्थ ठाकुरले एमाले नेता महेश बस्नेतको सहयोगमा आफूनिकटका सांसदलाई रिसोर्टमा पुर्‍याएका थिए । उपेन्द्र यादव भने अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई हटाउने कित्तामा उभिए । त्यसै कारण सर्वसाधारणले खासै नसुनेको डोलेश्वर भिलेज रिसोर्टको चर्चा निकै चुलिएको छ ।

ललितपुरको ‘गोदावरी भिलेज रिसोर्ट’
जसपामा उपेन्द्र यादव तथा बाबुराम भट्टराई र महन्थ ठाकुरबीच विवाद बढ्दै गयो । दुवै पक्षले निर्वाचन आयोगमा आफूहरू आधिकारिक भएको दाबी पेस गरे । निर्वाचन आयोगले १२ साउन ०७८ मा जसपाको आधिकारिता विवाद टुंग्याउन सनाखतका लागि सबै कार्यकारी समितिलाई नगरिकतासहित उपस्थित हुन भन्यो । त्यसको अघिल्लो दिन यादव–भट्टराईले आफ्नो पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सांसदहरूलाई ललितपुरको गोदावरी रिसोर्टमा लगे । आफ्नो कित्ताका नेताहरूलाई सरकारको रोहबरमा ठाकुर समूहले तान्न सक्ने डरले उनीहरूलाई ‘बैठक छ’ भन्दै रिसोर्टमा पुर्‍याइएको थियो ।