मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर २९ बिहीबार ०७:५१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आठ वर्षपछि अर्जेन्टिना फाइनलमा

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २९ बिहीबार ०७:५१:००

पाँचौँपटक विश्वकप खेलिरहेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले दोहामा सञ्चालन भइरहेको विश्वकपको फाइनलमा स्थान बनाएका छन् । बुधबार बिहान भएको खेलमा क्रोएसियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुग्न सफल भयो । सन् २०१४ मा फाइनल पुगेर पनि मेसीको कप्तानीमा अर्जेन्टिना उपविजेतामै सीमित बनेको थियो । क्लब फुटबलमा सर्वाधिक सफल मानिएका मेसीले राष्ट्रका लागि विश्वकप उपाधि दिलाउन सकेका छैनन् । 

मेसीले क्रोएसियाविरुद्धको गोलसँगै पाँच गोल पूरा गरे । लुसेल मैदानमा फ्रान्स र मोरक्कोको विजेतासँग अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनालाई जित दिलाउन स्ट्राइकर जुलियन अल्भारेजले दुई गोल गरेका थिए । यसैगरी, मेसीले एक गोल र एक असिस्ट गरे । खेलको ३४औँ मिनेटमा मेसीले अर्जेन्टिनालाई पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । काउन्टर अट्याकमा बल लिएर बक्सभित्र पुगेका जुलियन अल्भारेजलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पायो ।

खेलको ३९औँ मिनेटमा अल्भारेजले काउन्टर अट्याकमै बक्सभित्रबाट २–० को अग्रता दिलाए । जहाँ क्रोएसियाका तीन खेलाडी र गोलरक्षकले कुनै दबाब सिर्जना गर्न सकेनन् । खेलको ६९औँ मिनेटमा मेसीले मिलाएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै अल्भारेजले दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनालाई सहज जिततर्फ डोर्‍याएका थिए । अल्भारेजले चार गोल पूरा गरे । सिएनएनका अनुसार क्रोएसियाविरुद्ध खेल हेर्न अर्जेन्टिनाबाट ४० हजार दर्शक दोहा आइपुगेका थिए । ८८ हजार दर्शक लुसेल मैदानमा उपस्थित भएका थिए । 

म्याथ्युजको कीर्तिमान बराबरी 
मेसीले फिफा विश्वकपमा सर्वाधिक क्याप जित्ने जर्मनीका लोथर म्याथ्युजको कीर्तिमान बराबरी गरेका छन् । बुधबार बिहान सेमिफाइलनमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराउँदा कप्तान मेसीले जर्मन खेलाडी म्याथ्युजको सर्वाधिक २५ खेलको कीर्तिमान बराबरी गरेका हुन् । 

मेसीले फाइनलमा मोरक्को वा फ्रान्सबीचको विजेताविरुद्ध मैदानमा उत्रँदा विश्वकपमा सर्वाधिक खेल खेल्ने विश्व रेकर्ड राख्नेछन् । जर्मनीका मिरोस्लाभ क्लोजले २४ खेल र इटालीका पाओलो माल्दिनीले २३ खेल खेलेका छन् । पोर्चुगलका रोनाल्डोले २२ खेल पूरा गरेका थिए ।

यसैगरी, मेसीले विश्वकपमा अर्जेन्टिनी स्ट्राइकर गाब्रियल बाटिस्टुटाले राखेका १० गोलको कीर्तिमान तोडेका छन् । मेसीले क्रोएसियाविरुद्धको गोलसँगै ११ गोल पूरा गरेका छन् । मेसीले सन् २०२२ मा मात्रै अर्जेन्टिनाबाट १६ अन्तर्राष्ट्रिय गोल गरेका छन् । मेसी सन् २००६ को विश्वकपबाट नियमति सहभागी हुँदै आएका थिए । पाँच संस्करण विश्वकपमा असिस्ट प्रदान गर्ने मेसीको नाममा कीर्तिमान छ ।

कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका मेसीले मेक्सिको, अष्ट्रेलिया, नेदरल्यान्ड्स र क्रोएसियाविरुद्ध प्लेयर अफ दी म्याच पुरस्कार प्राप्त गरेका छन् । मेसीले जारी विश्वकपमा पाँच गोल गरेका छन् । यसैगरी, तीन असिस्ट गर्न सफल भए । मेसीले पहिलो खेलमा साउदी अरेबिया, दोस्रो खेलमा मेक्सिकोविरुद्ध, प्रिक्वार्टरफाइलमा अस्ट्रेलिया, नेदरल्यान्ड्सविरुद्ध क्वार्टरफाइनल र क्रोएसियाविरुद्ध सेमिफाइनलमा एक गोल गरेका हुन् । मेसीले साउदी अरेबिया, नेदरल्यान्ड्स र क्रोएसियाविरुद्ध पेनाल्टीमा गोल गरेका थिए ।