मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७९ मङ्सिर २८ बुधबार ०६:३०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राजनीतिक नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’ बन्द 

त्रिविका ठूला आंगिक क्याम्पसमा १३ वर्षदेखि भएन स्ववियु निर्वाचन 

Read Time : > 3 मिनेट
२०७९ मङ्सिर २८ बुधबार ०६:३०:००

नयाँ कार्यकालका लागि स्थानीयदेखि प्रदेश सभा र प्रतिनिधिसभासम्मका निर्वाचन तोकिएकै समयमा सम्पन्न भए । तर, राजनीतिक नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’का रूपमा चिनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भने १३ वर्षदेखि हुन सकेको छैन । स्ववियु नियमअनुसार दुई वर्षमा स्ववियु निर्वाचन गर्ने व्यवस्था छ ।

एकातिर क्याम्पसहरूले विद्यार्थीको आधिकारिक प्रतिनिधि पाउन सकेका छैनन् भने अर्कोतर्फ युवाहरूमा राजनीतिक चेतको विकासक्रममा समस्या भएको छ । पञ्चायतकालमा समेत भएको स्ववियु निर्वाचन गणतन्त्रमा आएर ब्रेक लागेको छ । पछिल्लोपटक ०६५ मा त्रिविका प्रायः सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो ।

त्यसपछि ०७३ मा भने उपत्यकाका नौ र उपत्यकाबाहिरका १७ गरी २६ क्याम्पसमा मात्रै निर्वाचन भएको थियो । ती क्याम्पसमा समेत त्यसयता तेस्रोपटक निर्वाचन हुनुपर्ने समय गुज्रिसक्दा पनि नयाँ निर्वाचन हुने छाँटकाँट छैन । हाल त्रिविका आंगिक र सम्बन्धनप्राप्त गरी ६२ क्याम्पस छन् । विगतमा त्रिविका आंगिक, सामुदायिक र केही निजीमा समेत गरी करिब पाँच सय क्याम्पसमा स्ववियु निर्वाचन हुने गरेको थियो । 

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार ०७३ मा उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ आंगिक क्याम्पसमा भने स्ववियु निर्वाचन हुन सकेन । विद्यार्थीको आधिकारिक संगठन स्ववियुको प्रतिनिधित्व नहुँदा दलनिकटका संगठन र त्यसभित्र पनि विभिन्न पक्षका विद्यार्थी नेताको चित्त बुझाउनुपर्दा क्याम्पस प्रशासनसमेत अप्ठ्यारोमा छन् । 

विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीले अब त्रिभुवन विश्वविद्यालयमा जसरी पनि स्ववियु निर्वाचन हुनुपर्ने बताए । ‘नेपालमा नेतृत्व जन्माउने ठाउँ विश्वविद्यालय हो । स्ववियु निर्वाचन नहुँदा ब्याड (बिउ उत्पादन गर्ने ठाउँ)को उर्वराशक्ति नै ह्रास भयो,’ अधिकारीले भने, ‘देशमा सबै खालका निर्वाचन सम्पन्न भएका छन् । त्रिविमा स्ववियु निर्वाचन १४ फागुनमा हुनुपर्छ । स्ववियु निर्वाचनका लागि त्रिविका पदाधिकारीसँग छलफल भएको छ, उहाँहरू निर्वाचन गर्ने पक्षमा हुनुहुन्छ ।’ उनले विद्यार्थी संगठनसँग छलफल गरेर अघि बढ्ने पनि बताए । 

शैक्षिक क्यालेन्डरलाई असर नपर्ने गरी स्ववियु निर्वाचनका लागि त्रिविले पटक–पटक समय घोषणा गरे पनि निर्वाचन हुन सकेन । त्रिविले विद्यार्थी संगठन र विद्यार्थी संगठनले त्रिविलाई दोष दिएर उम्किँदै आएका छन् । 

निर्वाचन नहुँदा विद्यार्थीको नयाँ नेतृत्व चयन हुने र गतिशील हुने अवस्था छैन । त्रिविको नियमअनुसार क्याम्पस  व्यवस्थापन समितिलगायतमा स्ववियुको प्रतिनिधित्व रहने व्यवस्था छ । विद्यार्थीको गुनासो सुन्ने, समस्या समाधानका लागि पहल गर्ने आधिकारिक संगठन स्ववियु नभएपछि राजनीतिक दलनिकटका संगठन अघि सर्ने गरेका छन् । क्याम्पसहरूले विद्यार्थीको प्रतिनिधित्व हुने एउटा आधिकारिक संस्थासँग समन्वय गर्न सहज हुने क्याम्पस प्रमुखहरूको भनाइ छ ।

विद्यार्थी संगठन निर्वाचन गर्ने पक्षमा छन्, तर २८ वर्षे उमेरको हदबन्दी र मिश्रित प्रणाली चाहँदैनन्
निर्वाचन नगर्ने पक्षमा कुनै पनि विद्यार्थी संगठन देखिँदैनन् । तर, उनीहरू २८ वर्षे उमेरको हदबन्दी र मिश्रित निर्वाचन प्रणालीको भने विपक्षमा देखिन्छन् । 

त्रिवि स्ववियुसम्बन्धी नियममा २८ वर्षको उमेर हदबन्दी कायम छ । लामो समय स्ववियु निर्वाचनमा उम्मेदवार बन्नका लागि विद्यार्थी राजनीति गरेर बसेका नेताहरू उमेरहदका कारण वञ्चित हुने भएकाले उनीहरू विपक्षमा छन् । उमेरहदमा केन्द्रीय नेताले सहमति गरे पनि क्याम्पसमा राजनीति गरेका विद्यार्थीले प्रतिस्पर्धामा भाग लिने अवसर नपाएपछि निर्वाचन हुन दिएका थिएनन् । 

त्यस्तै, मिश्रित प्रणालीमा केही पदाधिकारी र सदस्य समानुपातिकबाट पनि चुनिने व्यवस्था छ । प्रत्यक्ष निर्वाचन नलडी माउ पार्टीको शीर्ष नेताको निगाहामा टीका लगाएर आउने प्रक्रियाको पनि विपक्षमा रहेको एक विद्यार्थी नेताले बताए । त्यस्तै, कतिपय विद्यार्थी नेता आफ्नो पालामा निर्वाचन हुँदा हार भयो भने आलोचना हुने डरले पनि जोखिम मोल्न नचाहेको उनको भनाइ छ । 

स्ववियु निर्वाचनका लागि क्याम्पस तयार छन् : डा. गोलमान गुरुङ, प्रमुख, सरस्वती बहुमुखी क्याम्पस

स्ववियु निर्वाचन अपरिहार्य भएको छ । स्ववियुको निर्वाचनले नेतृत्वको विकास हुन्छ । त्यति मात्र होइन, विद्यार्थीले आफ्नो प्रतिनिधि छान्न पाउँछन् र आफ्ना समस्या प्रतिनिधिमार्फत क्याम्पस प्रशासनसम्म पुर्याउन सक्छन् । विद्यार्थीले पनि आफ्नो नेताप्रति अपनत्व महसुस गर्छन् । स्ववियु निर्वाचनका लागि त्रिविका क्याम्पस तयार छन् । विद्यार्थीले चुनेका आधिकारिक प्रतिनिधिसँग छलफल गर्न क्याम्पस प्रशासनलाई पनि सहज हुन्छ । 

निर्वाचन नहुँदा विद्यार्थीका मुद्दा सम्बोधन हुन सकेनन् : दुजंग शेर्पा, अध्यक्ष, नेविसंघ
निर्वाचन नहुँदा क्याम्पस तथा विश्वविद्यालयमा विभिन्न विषयमा बहसको बाटो बन्द भएको छ । विश्वविद्यालयमा सञ्चालन हुनुपर्ने कोर्स, भर्ना, परीक्षा तथा नतिजा र शिक्षाको गुणस्तरका विषयमा बहस हुन सकेको छैन ।

विद्यार्थीले आफ्नो नेतृत्व छान्न पाएका छैनन् भने उनीहरूका सही मुद्दा पनि सम्बोधन हुन सकेका छैनन् । क्याम्पस प्रशासनले छलफलका लागि आधिकारिक प्रतिनिधि पाएको छैन । नयाँ नेतृत्व जन्माउन नसक्दा वडादेखि केन्द्रसम्म देश हाँक्न सक्षम युवाको आवश्यकता पूरा हुन सकेन ।

यसले दूरगामी असर पर्छ । स्ववियु निर्वाचन नहुँदा युवामा राजनीतिप्रति वितृष्णा पनि छ । यसकारण पनि युवाले पार्टी राजनीतिभन्दा बाहिर स्वतन्त्रको खोजी गरेका हुन सक्छन् । 

नयाँ पुस्तामा राजनीतिक चेत र नेतृत्व उत्पादनमा क्षयीकरण भएको छ  : पञ्चा सिंह, अध्यक्ष, अनेरास्ववियु (क्रान्तिकारी)
पहिले स्ववियुलाई मिनी संसद्का रूपमा हेरिन्थ्यो । लामो समय स्ववियु निर्वाचन नहुँदा नेतृत्व उत्पादन गर्ने नर्सरी नै बन्द भएको छ ।

केन्द्रदेखि स्थानीय तहसम्मका निर्वाचन पटक–पटक भए पनि स्ववियु निर्वाचन नहुनुले क्याम्पसदेखि राजनीति दलसम्ममा प्रभाव परेको छ ।

लामो समय स्ववियु निर्वाचन नहुँदा क्याम्पस प्रशासनलाई आवश्यकताको संगठन हो भन्ने लाग्न छाडेको छ भने नयाँ पुस्तामा राजनीतिक चेत र नेतृत्व उत्पादनमा क्षयीकरण भएको छ ।

अब १४ फागुनमा जसरी पनि निर्वाचन गर्नुपर्छ । सबै संगठनले आफ्ना स्वार्थ त्यागेर स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । 

सबै विद्यार्थी संगठनले निर्वाचनको वातावरण बनाउनुपर्छ : आरसी लामिछाने, वरिष्ठ उपाध्यक्ष, अनेरास्ववियु

स्ववियु निर्वाचन गराउने जिम्मेवारी त्रिभुवन विश्वविद्यालयको हो । यो जिम्मेवारीबाट विश्वविद्यालय भाग्न मिल्दैन र विद्यार्थी संगठन पनि कुनै बहाना नबनाई सहभागी हुनुपर्छ ।

सबै विद्यार्थी संगठन निर्वाचनको वातावरण बनाउन लाग्नुपर्छ । अहिले विद्यार्थी राजनीति धरापमा छ, स्ववियुबाट नेतृत्व नआउँदा राजनीतिमा दलाल, तस्कर, माफिया, व्यापारीको हालीमुहाली छ ।

यसको अन्त्य गर्न पनि स्ववियु निर्वाचन चाहिन्छ । त्यहाँबाट नेता जन्मन्छन् । स्ववियु नहुँदा विश्वविद्यालय पनि धराशायी छ । क्याम्पसको वृत्तिविकासको आधारस्तम्भ स्ववियु हो ।