१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर ।
श्रवण थापा सर्लाही
Invalid date format ११:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उखुको मूल्य बढाउन किसानको माग

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format ११:४७:oo

यस सिजनका लागि उखुको मूल्य सात सय पाँच रुपैयाँ कायम गर्न मिलगेट उखु उत्पादक समिति सर्लाहीले माग गरेको छ । मिलगेट उखु उत्पादक समिति हरिवन सर्लाहीले सरोकार वाला निकायसँग उखुको मूल्य बढाउन माग गरेको हो ।

समितिका कार्यवाहक अध्यक्ष राजकुमार उप्रेतीको नेतृत्वमा रहेको टोलीले आइतबार इन्दु शंकर चिनी उद्योग हरिवनमा ज्ञापनपत्रसमेत बुझाएको छ । गत सिजनको मूल्यमा उखु बेच्नुपरे किसानलाई प्रतिबिघा ५८ हजार नाै सय घाटा हुने विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, ‘हाल इन्धनमा भएको वृद्धि, बैंकको ब्याजदरमा भएको वृद्धि, कृषि मजदुरको अभाव तथा मजदुरीमा भएको वृद्धि, मलखादको अभाव कालोबजारीसँग महँगोमा किन्नुपरेको अवस्था सबैलाई मध्यनजर गरी यो मूल्य माग गरेका छौँ ।’

हालको अवस्थामा प्रतिबिघा उखु उत्पादन लागत मात्र दुई लाख ९४ हजार नौ सयको हाराहारीमा पर्न आउने उनीहरूको दाबी छ । अझ राज्यले कबाेल गरेको अनुदानबापतको रकम दिन आलटाल गर्नु थप दुःखद रहेको उल्लेख छ ।  

यसअघि क्रसिङ सिजन ०७८–७९ को लागि सरकारले उद्योगले पाँच सय २०  रुपैयाँ र सरकारले अनुदानबापत ७० रुपैयाँ दिने गरी पाँच सय ९० कायम गरेको थियो । 

यस सिजनका लागि कम्तीमा सात सय पाँच रुपैयाँ कायम गरिनुपर्ने समितिका कार्यवाहक अध्यक्ष उप्रेतीले बताए । 

समितिले ज्ञापनपत्रको बोधार्थ कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यलय सर्लाहीलाई समेत बुझाएको जनाएको छ । 

केही वर्षयता राज्यको व्यवस्था र उद्योगीको मिचाइका कारण उखु किसान लगातार पलायन भइरहेकोले वेलैमा किसानका मर्का बुझ्नसमेत उनीहरूको आग्रह छ । 

मिलगेट उखु उत्पादन समिति हरिवन सर्लाहीले चिनीमा राज्य आत्मनिर्भर हुनै लाग्दा उद्योगहरू उखु नपाएर धमाधम बन्द हुनुपर्ने अवस्था अत्यन्त चिन्ताजनक भएको किसान अगुवाको भनाइ छ । 

कार्यक्रममा बोल्दै अगुवा उखु किसान एवं हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले किसानलाई उखु खेतीतर्फ आकर्षण गर्न र उन्नत जानका उखु उत्पादनमा जोड दिन नसके उखु र उद्योग दुवै संकटमा पर्ने बताए । 

राज्य मूकदर्शक बन्ने र सोझा साझा किसानले बर्सेनि ५०–१०० रुपैयाँ मूल्य वृद्धिको माग राखेर टाउको फोड्नेदेखि ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त अन्याय पूर्ण रहेको अगुवा उखु किसान हरिवन– ३ का कैलाश लामाले बताए ।

विभिन्न उद्योगको तथ्यांकअनुसार सर्लाहीका एक करोड २० लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेको थियो । यसको अनुपात क्षेत्रफल र उत्पादन परिणाम दुवैतर्फबाट घटेको उद्योगहरूको तथ्यांकमा उल्लेख छ । 

गत सिजनमा जिल्लामा झन्डै ६५ लाख क्विन्टर हाराहारीमा उखु उत्पादन भएको देखिएको छ । यो अनुपात लगातार घट्दो क्रममा देखिएको छ । सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले पाँच वर्षपहिला ४० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरेको थियो । 

उखु अभावमा यस उद्योगले गत सिजनमा जम्मा २४ लाख १३ हजार तीन सय ४८ क्विन्टल उखु मात्र क्रसिङ गर्नै पाएको थियो । यस सिजन उखुको परिमाण थप घट्ने जानकारहरूको भनाइ छ । 

जिल्लामा योसहित अन्नपूर्ण चिनी उद्योग धन्कौल र महालक्षमी चिनी उद्योग बगदह पनि सञ्चालनमा छ । यसमध्ये अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको भुक्तानी नदिएपछि क्रसिङ गर्न सकेको छैन भने बगदहले पनि सोचेजति उखु नपाएको स्रोतले जनाएको छ ।