
हेल्थ टिप्स
हाम्रो मुखभित्र घाँटीमा दुईवटा ग्रन्थि हुन्छन्, जसलाई टन्सिल भनिन्छ । यसको काम कीटाणुविरुद्ध लडेर शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउनु हो । यी ग्रन्थिहरू आफैँ संक्रमित भएको अवस्थालाई हामी टन्सिलाइटिस वा टन्सिल भन्छौँ । भाइरस र ब्याक्टेरियाका कारण यी ग्रन्थि संक्रमित हुन सक्छन् ।
बालबालिका विशेष जोखिममा
टन्सिल सबै उमेरका मानिसमा हुन सक्छ । यद्यपि, वयस्कको तुलनामा बच्चाहरूमा टन्सिलको जोखिम धेरै हुन्छ । ५ देखि १५ वर्ष उमेरका बच्चामा तुलनात्मक रूपमा धेरै टन्सिल हुने गरेको पाइन्छ । स्कुल जाने उमेरका बालबालिकाले आफ्ना साथीहरूसँग धेरै समय बिताउँछन्, जसकारण उनीहरू संक्रमित हुने जोखिम धेरै रहन्छ ।
लक्षण
- घाँटी दुख्ने, थुक निल्दा दुख्ने, घाँटीमा अप्ठ्यारो महसुस हुने
- स्वर सुक्ने
- ज्वरो आउने
- जाडो हुने, काम्ने
- कान दुख्ने
- टाउको दुख्ने
- सास गनाउने
- स्वरमा परिवर्तन आउने
- घुर्ने आदि
के गर्ने, के नगर्ने ?
- टन्सिल भएपछि थकान र कमजोरी महसुस हुन सक्ने हुँदा आराम गर्नुपर्छ ।
- तातो पानी खाइरहनुका साथै तातो कुराहरू खानुपर्छ ।
- भीडभाड हुने स्थलमा जान हुँदैन ।
- धूम्रपान र मदिरा सेवन गर्नुहुँदैन ।
- सरसफाइमा ध्यान दिनुपर्छ । धुलोधुवाँबाट बच्नुपर्छ ।
- टन्सिल बल्झिरहन्छ भने नाक, कान, घाँटीरोग विशेषज्ञसँग उपचार गराउनुपर्छ ।
घरेलु उपचार
तातो पानीमा मह मिसाएर पिउनुस्, यसले घाँटीलाई आराम दिन्छ । झोलिलो खानेकुरा खानुस् । चिल्लो, पिरो नखानुस् । तातो दूधमा एक चम्चा बेसार मिसाएर राति सुत्नुभन्दा अघि सेवन गर्नुस् । बेसारले टन्सिल मात्रै नभएर अन्य धेरै रोग पनि ठीक गर्न सहयोग गर्छ । एक चम्चा महमा कागतीको दुई–तीन बुँदा कागतीको रस मिलाएर दिनमा तीन–चारपटक सेवन गर्न सकिन्छ । तर, कागती र सुन्तलाजस्ता अम्लीय फल सीधै सेवन गर्दा भने अमिलो धेरै भएर समस्या निम्तिन सक्छ ।
तातो पानीमा कागतीको रस र ताजा अदुवालाई मिसाएर हरेक ३० मिनेटमा कुल्ला गर्न पनि सकिन्छ । कागतीको रस, कालो मरिच र थोरै नुन मिसाएर कुल्ला गर्न पनि सकिन्छ । नुनपानीले कुल्ला गर्दा संक्रमण सुन्निन कम हुन्छ । लसुन मिसाइएको मनतातो पानीले पनि कुल्ला गर्न सकिन्छ । यसले सुन्निएको अवस्था र दुखाइबाट आराम दिन्छ । मेथी मिसाइएको मनतातो पानीले कुल्ला गर्नु पनि लाभदायक छ । मनतातो पानीमा प्याजको रस मिलाएर कुल्ला गर्दा पनि हुन्छ । त्यस्तै, तुलसीपत्ता मिसाएर पनि कुल्ला गर्न सकिन्छ ।
यी कुरा नखानुस्
टन्सिल भएका वेला सुक्खा र कडाखाले खाद्यपदार्थ सेवन गर्न गाह्रो पर्छ । यसलाई निल्न गाह्रो हुन्छ र गलामा दुखाइ हुन सक्छ । चिप्स, पकौडा, समोसाजस्ता जंकफुडबाट टाढै बस्नुपर्छ । यसले टन्सिलमा दुखाइ थप्न सक्छ । बासी खानेकुरा खानुहुँदैन । दही, चिसो दूध, चिसो पानी, आइसक्रिमलगायत चिसो खाद्यवस्तु नखानुस् । मसालेदार भोजन नगर्नुस् । किनकि, यसले गर्दा गला सुन्निन सक्छ र दुख्छ । गोलभेँडा सेवन नगर्नुस्, किनकि यसमा अक्सालिक एसिडको मात्रा अधिक हुन्छ र यसले टन्सिल दुख्ने समस्या हुन सक्छ ।