१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
परदिस महदवी
२o८१ बैशाख २१ शुक्रबार o८:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

आखिर को हुन् इरानका नैतिक प्रहरी ?

Read Time : > 2 मिनेट
परदिस महदवी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३४:oo

देश/विदेश
नैतिक प्रहरी खारेज भए–नभएको पुष्टि भएको छैन र प्रदर्शनकारी व्यवस्था परिवर्तन गर्न आह्वान गरिरहेका छन्

परदिस महदवी

केही समयअघिसम्म इरानबाहिर बस्ने अधिकांश मानिसले मध्यपूर्वमा नैतिक प्रहरीको भूमिका त के नाम पनि सुनेका थिएनन् । यद्यपि, १६ सेप्टेम्बर २०२२ मा महसा अमिनीको नैतिक प्रहरी हिरासतमा भएको निधनले इरान र विश्वभर व्यापक प्रदर्शन उराल्यो, जुन आज पनि जारी छ । फारसी नाम गस्त–ए–इरसाद भएको यो कुख्यात नैतिक प्रहरीले अमिनीलाई ‘अनुचित ढंगले हिजाब पहिरेको’ भनेर पक्राउ गरेको थियो । 

यही ४ डिसेम्बरमा इरानका महान्यायाधिवक्ता मोहम्मद जफर मोन्तजेरीले नैतिक प्रहरी खारेज गर्ने सुझाव दिएको विषयलाई सञ्चारमाध्यमले उद्धृत गरेको छ । मोन्तजेरीले नैतिक प्रहरीमा न्यायिक शक्तिको अभाव रहेको र हिजाब कानुनको समीक्षा भइरहेको बताएका थिए । यसले इरानले समस्याबाट निकास खोजिरहेको छ भन्ने अनुमानलाई बल पु¥याएको छ । यद्यपि, धेरैले सरकारी निर्णयमाथि प्रश्न गरेका छन् र निर्णयलाई मामिलालाई थुमथुम्याउने हत्कन्डाका रूपमा बुझेका छन् । नैतिक प्रहरी खारेज र महिलाले हिजाब पहिरिनुपर्ने बाध्यतामा खुकुलो गरिए पनि इरानी सत्ता आफ्ना सबै मानव अधिकार उल्लंघनका लागि जवाफदेही हुनुपर्छ भनेर धेरैले आँैल्याएका छन् । यही भावना ५ डिसेम्बरमा सुरु भएको तीनदिने राष्ट्रव्यापी आन्दोलनको आधार बन्यो, जहाँ तेहरानको प्रसिद्ध ग्रान्ड बजारसहित हजारौँ व्यापारिकस्थल बन्द भए । मुलुकको अर्थतन्त्र पूर्ण रूपमा ठप्प भयो । तर, नैतिक प्रहरी को हुन् ? यिनको सिर्जना कसरी भयो ? इस्लामिक गणतन्त्र इरान स्थापनाअघि यिनको हैसियत के थियो ? नैतिक प्रहरीको जनअनुमोदन र शक्ति सन् १९७९ मा इरानलाई हल्लाउने इस्लामिक क्रान्तिअघिको हो र यिनको पहुँच मध्यपूर्वसम्म फैलिएको थियो । कुरानले धार्मिक नेतालाई ‘सहीलाई सुनिश्चित गर्न र गलतलाई निषेध गर्न’ आदेश दिन्छ र पैगम्बर मोहम्मदको समयदेखि मुहतासिब भनेर चिनिने बजार निरीक्षक सार्वजनिक नैतिकता कायम राख्न जिम्मेवार थिए ।

मध्यपूर्वमा लैंगिकता र नारीवादको अध्येताका रूपमा मैले नैतिकतालाई नियमन गर्न इस्लामको भूमिकाबारे बहसको लामो इतिहासको अध्ययन गरेकी छु । चाखलाग्दो के छ भने प्रारम्भिक प्रमाणअनुसार पहिलो मुहतासिब पैगम्बर आफैँले छानेका महिला थिए । शताब्दीयौँपछि मुहतासिबको उद्देश्य महिलाको पोसाक नियमनमा केन्द्रित भयो । यी बजार निरीक्षक मुहतासिबले जरिवाना र कोर्रा बर्साएका अभिलेख भए पनि यिनको न्यायपालिकास्तरको अधिकार थिएन ।

२०औँ शताब्दीको सुरुवातीताका नै मुहतासिब नैतिक प्रहरीमा विकसित भइसकेका थिए, जसले मानिसले इस्लामिक मूल्य–मान्यता पालना गरिरहेका छन् वा छैनन् भनेर सडकमा गस्ती गर्थे । साउदी अरेबियामा वहाबी मतको विस्तारसँगै नैतिक प्रहरीले स्थान बनायो र गतिशील बन्यो । साउदीमा सन् १९२६ मा ‘सही आदेश दिने र गलतलाई निषेध गर्ने’ औपचारिक समितिको गठनलाई नै आधुनिक नैतिक प्रहरी मान्न सकिन्छ ।

तस्बिर : इमराह गुरेल/एपी

अधिकांश पुरुषको सहभागिता हुने यस प्रहरीलाई शालीन पोसाक लगाए–नलगाएको नियमन, समलैंगिक सामाजिकीकरण रोक्न, अविवाहित महिला र पुरुषबीचको सम्बन्ध वा नाता साइनो नपर्ने महिला र पुरुषको सम्बन्धमा निगरानी गर्न र प्रार्थनामा सहभागी भए नभएको हेर्ने जिम्मेवारी दिइन्थ्यो ।  

इस्लामिक सहयोग संगठनका ५६ राष्ट्रमध्ये एकतिहाइभन्दा बढीले सन् २०१२ सम्ममा धार्मिक रूपमा प्रशिक्षित नैतिक प्रहरी परिचालन गरेका थिए, जसले सत्तामा रहेका इस्लामवादीले भन्ने गरेको सही–गलतको अनुगमन गर्छन् । इस्लामिक क्रान्तिपछि इरानमा ‘इस्लामिक क्रान्ति समिति’ भनेर चिनिने एउटा समूह देशको पहिलो नैतिक प्रहरी बन्यो । क्रान्तिको नेतृत्व गर्ने सिया धर्मगुरु अयातोल्लाह रुहोल्लाह खोमेनी र सहकर्मी ‘धर्मनिरपेक्ष पश्चिमा विषाक्तीकरण’ले ग्रसित इरानी नागरिकको व्यवहारलाई नियन्त्रण गर्न चाहन्थे । 

धेरै इरानीले ‘कोमितेह’ भनेर चिनिने इस्लामिक क्रान्ति समितिलाई सन् १९८० मा आधुनिक राजमार्ग निरीक्षण गर्ने पहिलो ग्रामीण प्रहरी बल जेन्डरमारीमा गाभेर इस्लामिक गणतन्त्र इरानको कानुन प्रवर्तन कमान्ड गठन गरिएको थियो । सहीलाई समर्थन गर्ने र गलतलाई निषेध गर्ने जिम्मेवारीका अतिरिक्त कोमितेहलाई सन् १९८३ मा हिजाब नियम कार्यान्वयनको जिम्मेवारी दिइएको थियो । तत्कालीन राष्ट्रपति महमुद अहमदिनेजादले आधिकारिक रूपमा हालको नैतिक प्रहरी गस्त–ए–इरसादलाई सन् २००५ मा प्रहरी बलको शाखाका रूपमा मान्यता दिएका थिए । 

सन् १९८० देखि कोमितेहको संगठन बिस्तारै बढ्यो र सन् २००५ सम्म संगठनमा सात हजारभन्दा बढी अधिकारी कार्यरत थिए । नैतिक प्रहरीको एकचौथाई संख्या महिलाले ओगटेका छन्, तर ती महिला नियमित रूपमा आफ्ना पुरुष सहकर्मीसँग यात्रा गर्छन् जो बारम्बार चिह्नरहित भ्यानमा ओहोरदोहोर गर्छन् । हरियो पोसाक लगाउने पुरुष प्रहरी र शिरदेखि पाउसम्म कालो लुगा लगाउने महिला प्रहरी सडकमा खटिन्छन् । 

सन् १९८० र १९९० को दशकमा कोमितेहमा मौलवीको प्रेरणाबाट सत्ताका धार्मिक भक्त अनुयायी सहभागी हुन्थे । यद्यपि, सन् २००० को सुरुवातमा इरानको जनसंख्यामा युवाप्रधान थियो । जब अहमदिनेजादले कोमितेहलाई आधिकारिक प्रहरी बल बनाए तब धेरै युवा पुरुष आफ्नो अनिवार्य सैन्य भर्ती पूरा गर्न बलमा सामेल भए । यो युवा पुस्ता आफ्ना पुराना समकक्षभन्दा धेरै बेपर्वाह थिए, नतिजा गस्तीमा असंगति देखिन थाल्यो । 

राष्ट्रपति इब्राहिम राइसीले सन् २०२१ मा पदभार ग्रहण गरेपछि नैतिक प्रहरीलाई इरानी जनतालाई विशेष गरी सहरमा निर्मम दमनको अधिकारसहित बलियो बनाए । खोमेनी र अन्य धार्मिक गुरुलेझैँ राइसीले नैतिक प्रहरीमार्फत इरानी जनतालाई राज्यले निगरानी गरिरहेको सन्देश दिए । धेरै इरानी नैतिक प्रहरीको दमनबाट आक्रोशित छन् विशेषतः अमिनीको मृत्युपछि थप आक्रोशित भएका छन् । नैतिक प्रहरी खारेज भए नभएको पुष्टि भएको छैन र प्रदर्शनकारी व्यवस्था परिवर्तन गर्न आह्वान गरिनैरहेका छन् ।

(महदवी मोन्टाना विश्वविद्यालयका कार्यकारी उपाध्यक्ष हुन्) 
द कन्भर्सेसनबाट

 

ad
ad