
निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट नाम पठाउन दलहरूलाई आज अपराह्न चार बजेसम्मको समय दिएको थियो । तर, यतिवेलासम्म सबै दलबाट नाम नआएपछि कर्मचारी कुरेर बसेका छन् ।
कांग्रेसले अहिलेसम्म बन्दसूचीबाट छानेको अन्तिम नामावलीको सूची बुझाएको छैन । कांग्रेसका प्रतिनिधि सूर्य भट्टराई चार बजेदेखि टोकन लिएर कुरेर बसेका छन् ।
समानुपातिकको अन्तिम नाम चयन गर्न आजै कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको थियो । तर, बैठकले निर्णय गर्न नसकेपछि अपराह्न बसेको पदाधिकारी बैठकले नाम तय गरेको छ । तर, सूची अहिलेसम्म आयोगमा पुगेको छैन ।
आयोगमा कुरिरहेको कांग्रेस प्रतिनिधि भट्टलाईले कांग्रेसका महामन्त्री र मुख्यसचिव अन्तिम सूची बुझाउन आउने जानकारी दिएका छन् । सोही सूचनाका आधारमा आयोगका पदाधिकारी कांग्रेसका पदाधिकारीलाई कुरेर बसिरहेका छन् ।
एमाले, माओवादी, राप्रपा, जसपालगायतका दलले भने अन्तिम सुची बुझाइसकेका छन् । तर, एमाले र राप्रपाले बुझाएको नाममा कलस्टर नमिलेर त्रुटि देखिएको छ । त्रुटि सच्याउन दलले दुई दिन समय पाउनेछन् ।