Skip This
कंक्रिटको प्रयोगपछि सुक्यो खोटाङमा ऐतिहासिक पोखरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २४ शनिबार
  • Saturday, 27 July, 2024
२o७९ मङ्सिर २४ शनिबार ११:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कंक्रिटको प्रयोगपछि सुक्यो खोटाङमा ऐतिहासिक पोखरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २४ शनिबार ११:३३:oo

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १३ नुनथलास्थित महुरेगढीमा रहेको पोखरीमा पानी सुकेको छ। उक्त ऐतिहासिक पोखरीमा कंक्रिट प्रयोग गरेर पुनर्निर्माण गरिएपछि अहिले पानी सुकेको हो।

मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थल महुरेगढीमा पर्ने उक्त पोखरी किराँती राजा भ्रमराजले निर्माण गरेका बताइन्छ। उक्त ऐतिहासिक पोखरीलाई नगरपालिकाको ५१ लाख रुपैयाँ खर्चेर आँखाको आकार दिएर ३२ मिटर लम्बाईमा पुनः निर्माण गरेपछि अहिले सुक्खा पोखरीमा परिणत भएको छ।

नगरपालिकाको रु ४३ लाख र स्थानीय बासिन्दाको रु आठ लाखबराबरको जनश्रमदानमा बनाइएको पोखरीको बीच भागमा ब्रिज डाईनिङ, सेन्सर बिजुली बत्ती र डिजिटल बोर्ड राखिएको छ भने आसपासमा रेलिङ बार राखिएको छ। पोखरी निर्माणमा पर्यटन मन्त्रालयको बजेटसमेत खर्च भएको स्रोतले जनाएको छ। तर, पर्यटन मन्त्रालयको बजेट कति लगानी भएको भन्ने खुल्न सकेको छैन।

मुहान व्यवस्थापन नहुँदा नगरपालिकाको लगानीमा निर्माण गरिएको आँखा पोखरीमा पानी भर्न समस्या भएको पोखरी व्यवस्थापन समितिले जनाएको छ। कृत्रिम पोखरीमा लगाउन नगरपालिकाबाट नयाँ योजना बनाएर पानी व्यवस्थापन गर्ने भनिए पनि अहिलेसम्म मुहान नै पहिचान गरिएको छैन।

ऐतिहासिकस्थल नष्ट गरेर निर्माण गरिएको कृत्रिम पोखरीमा पानी सुकेपछि अहिले तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र निर्माण उपभोक्ता समितिको चौतर्फी विरोध भइरहेको छ। स्थानीयले पानीबिनाको कृत्रिम पोखरी सामाजिक सञ्जाल फेसबुकमा राखेर तत्कालीन नगरप्रमुख रिजाल र निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईको आलोचना गर्न थालेका छन्।

ऐतिहासिक पोखरीलाई परिमार्जन गरेर नयाँ स्वरुप दिएपछि अवलोकन गर्नेको भीड लाग्ने गरेको थियो। पोखरीमा नगरको समग्र वस्तुस्थिति झल्कने तस्विरहरु समेत राख्ने भनिएपनि निर्माण गरेको छोटो समयमै अलपत्र परेको छ।

समुन्द्री सहतदेखि करिब दुई हजार २०० मिटरको उचाईमा रहेको महुरेगढीको पर्यटन प्रवद्र्धनका लागि भन्दै नगरपालिकाले बनाएको पोखरीमा नियमित पानी व्यवस्थापन नहुँदा बजेट खर्च गर्ने प्रवृत्ति झल्किएको स्थानीयबासीको आरोप छ। नेकपा (एमाले)बाट निर्वाचित तत्कालीन नगरप्रमुख रिजालले आफ्नो कार्यकर्ता संरक्षण गर्न महुरेगढीमा ‘आँखा पोखरी’ नामक योजना सिर्जना गरेको नाम नबताउने शर्तमा एक स्थानीयले आरोप लगाए।

खानेपानीको पाइप छुटाएर पोखरीमा पानी हाल्ने गरिएको थियो। तर, पिउने पानीकै अभाव हुन थालेपछि पोखरीमा पानीको अभाव भएको नुनथलाका पूर्ववडाध्यक्ष भीम राई बताउँछन्। ‘पोखरीका लागि मुहानको व्यवस्था छैन। हलेसीतिर लगेको खानेपानीको पानी निकालेर हाल्ने गरिएको थियो,’ उनले भने, ‘अहिले पोखरीमा पानी छैन। आँखा पोखरी भनिएको पोखरी अहिले सुक्खा पोखरीमा परिणत भइसकेको छ।’

मध्यपहाडी लोकमार्गको क्षेत्र सेन्टर (मध्य भाग)बाट दायाँ–बायाँ ६२ मिटर कायम गरिएको छ। त्यसबेला मापदण्ड मिचेर लोकमार्ग क्षेत्रभित्र पोखरी निर्माण गरिएको भनेरसमेत विरोध भएको थियो। पोखरी निर्माणका क्रममा नगरपालिकाले वडा कार्यालय नुनथलासँग समन्वय पनि गरेको थिएन। अहिले सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङ्टार सडक कालोपत्र गर्ने क्रममा फराकिलो बनाउँदा पोखरीको बारलाई मिचेर सडकको माटो थुपारिएको छ।

पर्यटकीयस्थल महुरेगढीमा विशेष गरी हिमश्रृङ्खला, तराईका फाँट र लालीगुराँस हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ। महुरेगढी आउने पर्यटकलाई थप मनोरञ्जन दिलाउँदै नगरपालिकाको आन्तरिक आयश्रोत बृद्धि गर्ने उद्देश्यले मानिसको आँखा आकारको पोखरी निर्माण गरिएपनि अहिले पोखरी नै सुकेको छ।