मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
फाइल तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:o२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समानुपातिक उम्मेदवार टुंग्याउन एमालेले बोलायो सचिवालय बैठक 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:o२:oo

एमालेले समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउन शुक्रबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदहरूको नामबारे सुझाब मागेलगत्तै एमालेले बैठक बोलाएको हो ।

समानुपातिकतर्फ पहिलो लोकप्रिय मत पाएको एमालेले संघमा ३४ जना सांसद निर्वाचित गराउनेछ । त्यस्तै, एमालेले सातमध्ये ६ प्रदेशमा पहिलो लोकिप्रय मत पाएको छ । आयोगले बिहीबार तीन दिनभित्र संघ र प्रदेशमा निर्वाचित हुने समानुपातिकतर्फका सांसदहरूको नामावलीमाथि सुझाब पठाउन पत्राचार गरेको थियो । 

डा. भीष्म अधिकारी, एमाले केन्द्रीय कार्यालय सचिव
समानुपातिकतर्फका सांसदहरूको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको हो । यसबाहेक अरू एजेन्डा छैनन् ।

केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले आयोगको पत्र प्राप्त भएकाले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नाममाथि छलफलका लागि बैठक डाकिएको बताए । ‘समानुपातिकतर्फका सांसदहरूको नामबारे छलफल गरेर सुझाब दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको हो,’ अधिकारीले भने, ‘यसबाहेक अरू एजेन्डा छैनन् ।’

बैठकमा एमालेले आमनिर्वाचनको प्रारम्भिक समीक्षासमेत गर्ने भएको छ । औपचारिक समीक्षाका लागि भने उसले २९ मंसिरभित्र जिल्ला कमिटी बैठक राखेर केन्द्रीय कार्यालयमा समीक्षा प्रतिवेदन पठाइसक्न जिल्ला कमिटीहरूलाई विशेष सर्कुलर गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यालयको अनौपचारिक बैठकबाट जिल्लाहरूलाई चुनावी समीक्षा प्रतिवेदन पठाउन एमालेले निर्देशन दिएको थियो । संघमा एक सय ४१ सिट तथा प्रदेशमा तीन सय तीसमध्ये ४५ सिटमा तालमेल गरेर बाँकी सिटमा एमालेले उम्मेदवारी दिएको थियो । 

चुनावी परिणामअनुसार एमालेले संघमा प्रत्यक्षतर्फ ४४ र समानुपातिक ३४ सहित ७८ सिट प्राप्त गरेको छ । त्यस्तै, प्रदेश १ मा प्रत्यक्षतर्फ २५ र समानुपातिकमा १५ सहित ४०, मधेस प्रदेशमा प्रत्यक्षमा १५ र समानुपातिकमा आठसहित २३, बागमती प्रदेशमा प्रत्यक्षमा १३ र समानुपातिकमा १४ सहित २७, गण्डकीमा प्रत्यक्षमा १२ र समानुपातिकमा १० सहित २२, लुम्बिनीमा प्रत्यक्षमा १८ र समानुपातिकमा ११ सहित २९, कर्णालीमा प्रत्यक्षमा पाँच र समानुपातिकमा पाँचसहित १० तथा सुदूरपश्चिममा प्रत्यक्षमा तीन र समानुपातिकमा सातसहित १० सिट प्राप्त गरेको छ ।

केन्द्रीय कार्यालयको निर्देशनअनुसार जिल्ला कमिटीहरूले प्रत्यक्ष र समानुपातिकतर्फ मतको अवस्था, जित/हारका कारण, पार्टीपंक्तिको परिचालन, केन्द्रीय तहका नेताहरूको भूमिका, जनसंगठनका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरूको भूमिका, प्रतिस्पर्धीहरूको जित या हारको कारण, राज्य संयन्त्रहरूको भूमिका, घात–अन्तर्घातलगायतका विषय केन्द्रित गरेर प्रतिवेदन बुझाउनेछन् । जिल्लाहरूबाट समीक्षा प्रतिवेदन आएलगत्तै औपचारिक समीक्षाका लागि क्रमशः सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी छ । 

पूर्वाग्रह साँधेर विनाआधार अन्तर्घात गरेको आरोप लगाइयो : चन्द
एमालेमा अन्तर्घातको आरोप लागेका बैतडी पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले आफूलाई  पूर्वाग्रह राखेर कारबाही गरिएको दाबी गरेका छन् । काठमाडौंमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई बिनाआधार पूर्वाग्रहको आधारमा कारबाही सिफारिस गरिएको गुनासो गरेका हुन् । 

चन्दले आरोप पुष्टि गर्न चुनौतीसमेत दिए । ‘मेरो गाउँपालिका पञ्चेश्वरबाटै प्रदेश सभामा पराजित पार्टीका उम्मेदवार लीलाधर भट्टलाई  धेरै भोट आएको छ । ममाथि पूर्वाग्रह राखेर अन्तर्घातको आरोप लगाएर कारबाही सिफारिस गरियो,’ उनले भने, ‘पार्टी बनाउन यत्रो योगदान गरेको छु, कसरी पार्टीलाई घात गर्न सक्छु ? पुष्टि हुने प्रमाण देखाउन चुनौती दिन्छु । होइन भने कानुनी उपचार खोज्न बाध्य हुनेछु ।’

प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको भन्दै एमाले बैतडी जिल्ला कमिटी बैठकले चन्दलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासनको कारबाहीका लागि प्रदेशमा सिफारिस गरेको थियो । उनीमाथि बैतडी प्रदेश सभा (ख) तर्फका उम्मेदवार भट्टलाई  पराजित गर्न भूमिका खेलेको आरोप छ । जिल्ला अध्यक्ष सुरेन्द्र पालका अनुसार चन्दले अन्तर्घात गरेको पाइएपछि कारबाहीका लागि प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको हो । चन्द एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हुन् ।