१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कञ्चनपुरको बेदकोट नगरपालिका-३ चुरे फेदमा जमिनमुनी गाडीको अवस्थामा मृत फेला परेका पशु चौपाया । तस्बिर : नयाँ पत्रिका
मोहन विष्ट कञ्चनपुर
२०७९ मङ्सिर २१ बुधबार ०९:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरको बेदकोटमा गाईगोरु खाल्टोमा गाडिएको अवस्थामा फेला 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ मङ्सिर २१ बुधबार ०९:४९:००

बेदकोट नगरमा छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै 

कञ्चनपुरको  बेदकोट नगरपालिका– ३ को चुरे फेदमा आठवटा गाईगोरु खाल्टोमा गाडिएको अवस्थामा फेला परेका छन् भने चारवटा चौपाया  भिरबाट लडेर मरेकाे अवस्थामा फेला परेका छन् । यहाँ छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै गएको छ । गत शनिबारदेखि स्थानीय किसानले छाडिएका पशु चौपाया नगरपालिका हुलेर आन्दोलनमा उत्रिएका थिए । 

स्थानीयले छाडा पशु चौपायाका कारण अन्नबालीदेखि राजमार्ग क्षेत्रमा सवारी दुर्घटना बढाएको भन्दै नगरपालिका कार्यालयभित्र पशु चौपाया हुलेर आन्दोलन गरेका थिए । यसअघि नगरपालिकाले बेदकोट– ६ चुनेपानी सिद्ध सरोवर सामुदायिक वनमा छाडा पशु चौपाया व्यवस्थापन गरेको थियो । 

अल्पकालीन व्यवस्थापनका लागि चुनेपानी पशु चौपाया लगे पनि त्यहाँ पनि स्थानीयले राख्न नदिएपछि नगरपालिकातिरै फिर्ता गरेका थिए । सिद्ध सरोवर सामुदायिक वनका अध्यक्ष एवं चुनेपानी छाडा पशु चौपाया व्यवस्थापन समितिका अध्यक्ष गणेश बमले नगरपालिकाले समन्वय नै नगरेर यहाँ ल्याइएका सयौँ पशु चौपाया फिर्ता गरिएको बताए । ‘यहाँ खानका लागि अन्न छैन,’ उनले भने, ‘हामीसहित उपभोक्ताले फिर्ता गरिदिएका छौँ ।’ 

सोमबार नगरपालिबाट व्यवस्थापन गर्छौँ भनी लगिएका पशु चौपाया चुरे फेदमा मृत र गाडिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । स्थानीय एवं बेदकोट नगरका निवर्तमान सदस्य डम्बर दत्त भट्टले नगरपालिकाले व्यवस्थापन गर्छौँ भनी लगेका पशु चौपाया भिरबाट खसालेर हत्या गरेको आरोप लगाए ।

‘नगरपालिकाबाट चुनेपानीमा व्यवस्थापन गर्छौँ, भनेर ट्रकमा ल्याइएका केही पशु भिरबाट खसालेर मारिएको रहेछ,’ उनले भने, ‘केही खाल्टोमा गाडिएको रहेछ ।’ बेदकोट नगरपालिका– ३ दैजी–लिप्ना सडकखण्डअन्तर्गत चुरे क्षेत्रमा गाडिएको अवस्थामा आठ गाईगोरु भेटिएका छन् ।’ 

६ बाच्चाबाच्ची र दुईवटा बयस्क गाई खाडलमा गाडिएको अवस्थामा भेटिएपछि स्थानीयले नगरपालिकाले हत्या गरेको आरोप लगाएका छन् । स्थानीय एवं नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरि सुवेदीले नगरपालिकाले दीर्घकालीन रूपमा समस्या समाधान गर्न नसक्दा खाल्डोमा गाडेको आरोप लगाए । 

‘सोमबार व्यवस्थापन गर्छौँ भन्दै नगरपालिकाबाट लगिएका पशु चौपाया केही भिरमा भेटिए, केही घाइते अवस्थामा फिर्ता भएका थिए,’ सुवेदीले भने, ‘हामीले अनुगमन गर्दा सडकछेउमा गाडेको अनुमानमा जेसिभी लगाएर उत्खनन गर्दा पशु चौपाया मृत भेटिए ।  यो सरासर हत्या हो ।’ 

विश्व हिन्दू गौरक्षा अभियानका अध्यक्ष चक्रदेव जोशीले नगरपालिकाले व्यवस्थापन गर्ने नाममा नेपालको राष्ट्रिय जनावर गाईको हत्या गरिएको आरोप लगाएका छन् । ‘यो कुनै व्यवस्थापन होइन सरासर हत्या हो,’ उनले भने, ‘यो घटनाको छानबिन गर्नुपर्छ, दोषिीपर कारबाही हुनपर्छ ।’ 

बेदकोट नगरपालिका छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै गएपछि राजनीतिक दलले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्थापन गर्ने बहानामा ट्रकका ट्रक हुलेर चोरपानी हुँदै भिरमा खसाल्नेदेखि गाड्ने काम भएको भन्दै भर्त्सना गरेका छन् । 

नेकपा बहुमत पार्टीका जिल्ला इन्चार्ज अर्जुन र नेकपा वैद्य माओवादीका जिल्ला इन्चार्ज विक्रान्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा अव्यवस्थित ढंगबाट पशु चौपायाको हत्यादेखि अलपत्र छाड्ने कामको चिन्ता प्रकट गरिएको छ । 

स्थानीयले चुरे र चुरे फेदमा कतै गाडिएको र कतै मृत फेला परेका पशु चौपायाबारे छानबिन गरेर दोषीउपर कारबाहीको माग अघि सारेका छन् ।बेदकोट नगरपालिकाले चालू आर्थिक वर्ष ०७९/७९ मा छाडा पशु चौपाया व्यवस्थापनका लागि बैतडास्थित बालज्योति विद्यालयले जमिन भाडामा लिएर व्यवस्थापन कार्य अघि बढेको जनाएको छ । 

बेदकोट नगरका प्रवक्ता चित्रदेव भट्टले नगरपालिकाले अस्थायी रूपमा कार्यालयपरिसर र स्थायी रूपमा बैतडास्थित बालज्योति विद्यालयको जमिन भाडामा लिएर व्यवस्थापन कार्य अघि बढेको बताए  ।