१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format १८:२१:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेको नागरिकता विवादमा कहाँ पुग्यो अनुसन्धान?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२१:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीको अनुसन्धान चलिरहेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले लामिछानेको नागरिकता विवादमाथि अनुसन्धान भइरहेको बताए। ‘अहिले हामी सूक्ष्म अनुसन्धान गरिरहेका छौँ। छानबिनकै क्रममा रहेकाले तत्काल केही भन्न मिल्दैन,’ उनले भने। 

नागरिकता अनुसन्धानको क्रममा प्रहरी आइतबार निर्वाचन आयोग पुगेको थियो। निर्वाचन आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले यसको पुष्टि गरे। ‘प्रहरीले हामीसँग उम्मेदवारी दर्ता गर्ने क्रममा पेस गरेको नागरिकतालगायत दस्ताबेज माग गरेको थियो। त्यसकै आधारमा आइतबार प्रहरीले उनको नागरिकताको प्रतिलिपिसहित आवश्यक कागजात लिएर गएको हो,’ उनले भने। 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकाल भन्छन् – यो विषय राजनीतिक ब्ल्याकमेलिङका हिसाबले आएजस्तो देखिन्छ

यस्तै, प्रहरीस्रोतका अनुसार काठमाडौंस्थित अमेरिकी दूतावासबाट समेत लामिछानेको नागरिकता र पासपोर्टबारे जानकारी मागिएको छ। 

लामिछानेले सन् २०१४ मा अमेरिकाको नागरिकता र पासपोर्ट लिएका थिए। विदेशी नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः बदर हुने नागरिकता ऐनको प्रावधान छ। 

तर, उनले सन् २०१८ मा जिल्ला प्रशासन कार्यालयलाई अमेरिकी नागरिकता त्याग गरेको जानकारी गराएपछि नयाँ नागरिकता नलिएर पुरानै खारेज भइसकेकै नागरिकता प्रयोग गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान गर्दा उनले नागरिकता ऐनसम्बन्धी कसुर गरेको देखिएमा उनीमाथि पक्राउ पुर्जी जारी गरी विस्तृत अनुसन्धान अघि बढाउन सक्नेछ। 

लामिछानेको नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै उनको उम्मेदवारी खारेजीको मागसहित सबैभन्दा सुरुमा निर्वाचन आयोगमा उजुरी परेको थियो। ३० कात्तिकमा उजुरीका आधारमा आयोगले सात दिनको समय दिएर उनलाई स्पष्टीकरण सोधेको थियो। तर, चितवन २ बाट उम्मेदवारी दिएका उनले सातौँ दिन मात्रै आयोगमा स्पष्टीकरण बुझाए। 

आयोगले निर्वाचन परिणाम आइसकेको र जाँचबुझको समय घर्किसकेकाले केही गर्नुनपर्ने भन्दै उनीमाथिको उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेपछि फेरि यही विषयलाई लिएर गृह मन्त्रालयमा उजुरी परेको थियो। 

त्यसपछि गत बिहीबार गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंलाई उनको नागरिकता विवादमाथि छानबिन गर्न पत्राचार गरेको थियो। सोही पत्रका आधारमा प्रहरीले अहिले लामिछानेको नागरिकता विवादमाथि छानबिन गरिरहेको छ। 

यसैबीच लामिछानेमाथि निर्वाचन आयोगमा अर्को उजुरी परेको छ। काठमाडौं प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइरहेका वेला सोमबार आयोगमा पार्टीबाट साधारण सदस्यता खारेजीको माग गर्दै उजुरी परेको हो। 

रवि लामिछाने, अध्यक्ष - राष्ट्रिय स्वतन्त्र पार्टी

लामिछानेले पुरानो नागरिकताका आधारमा गैरकानुनी ढंगबाट दल दर्ता गरेको भन्दै उनलाई सभापतिसँगै दलको साधारण सदस्यबाट हटाउनुपर्ने मागसहित नेपाली नागरिक तथा समाजवादी केन्द्रका नेता युवराज पौडेलले आयोगमा उजुरी दिएका हुन्।

लामिछानेले अमेरिकी नागरिकता हुँदा नेपाली नागरिकता नत्यागेको र त्यही पुरानै नागरिकताको आधारमा दलदेखि उम्मेदवारीसम्म दर्ता गराएको आरोप लागेपछि प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ। 

‘रवि लामिछानेका बारेमा जे–जुन प्रश्नहरू उठेका छन् सो गम्भीर छन्। अनागरिक, गैरनागरिक वा विदेशी नागरिकका हातमा मुलुकको राजनीतिक सत्ता, मुलुकको कानुन बनाउने निकाय संसद् र राजनीतिको बागडोर पुग्दा मुलुकको सार्वभौमसत्ता, राजनीतिक स्वाधीनता र राष्ट्रियता नै अन्ततः कमजोर बन्ने र समाप्त हुने खतरा उत्पन्न हुन्छ,’ उजुरीमा भनिएको छ, ‘तसर्थ, यस विषयको गम्भीरता र कानुनको शासनको प्रत्याभूतिका लागि तत्कालै निर्णय होस् भनी सविनयताका साथ निवेदन पेस गर्दछु।’ 

उजुरीमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) अन्तर्गत कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिएको अवस्थामा नेपालको नागरिकता स्वतः समाप्त हुने व्यवस्था रहेकाले लामिछानेको नागरिकता पनि स्वतः खारेज हुनुपर्ने दाबी गरिएको छ। 

निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपन्यायाधिवक्ता गुरु वाग्लेले लामिछानेउपर आएको पछिल्लो उजुरीउपर अध्ययन भइरहेको बताए। ‘कोही गैरनागरिक नेपालको पार्टीको सभापति बन्न मिल्दैन। हामी अहिले अध्ययन गर्दै छौँ, त्यस्तो देखिएमा कारबाही हुन्छ,’ उनले भने। 

लामिछानेको नागरिकता विवादबारे उनको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल पार्टीले बोल्नुपर्ने अवस्था नभएको बताउँछन्। ‘उम्मेदवारका रूपमा उहाँले आयोगमा स्पष्टीकरण दिइसक्नुभएको छ,’ उनले भने, ‘त्यसपछि प्रहरीले अनुसन्धान बढाएको, आयोगमा उजुरी परेकोलगायतका विषयमा हामीलाई आधिकारिक खबर छैन, समाचारबाटै थाहा पाइरहेका छौँ। जब आयोग, प्रहरीलगायत राज्यको कुनै निकायले सभापतिज्यूलाई बोलाउँछ, त्यसपछि मात्रै पार्टी बोल्ने हो। यो विषय कतिसम्म गम्भीर हिसाबले अघि बढ्छ, हामी त्यो हेर्दै छौँ।’

स्वतन्त्र पार्टीले निर्वाचनमा राम्रो सफलता हासिल गरेको अवस्थामा यो नागरिकताको विषय राजनीतिक ब्ल्याकमेलिङका हिसाबले आएको आशंका उनले प्रकट गरे। 

‘यो विषय राजनीतिक ब्ल्याकमेलिङका हिसाबले बाहिर ल्याएजस्तो देखिन्छ,’ उनले भने, ‘हामीलाई कसैले ब्ल्याकमेल गर्न सक्दैन। उहाँले हिजो सजिलोका लागि कागजात लिनुभयो होला। यो धेरै नेपालीको कथा हो। त्यसैले यो विषय अघि बढ्दा भोलि अरू नागरिकका लागि पनि सिस्टमको थालनीमा मद्दत गर्छ जस्तो लाग्छ।’

के थियो लामिछानेको स्पष्टीकरण? 
निर्वाचन आयोगका एक आयुक्तका अनुसार लामिछानेले सांसद निर्वाचित हुँदै गर्दा सातौँ दिन बुझाएको स्पष्टीकरणमा आफूले काभ्रेबाट लिएको पुरानै नागरिकता पेस गरेर उम्मेदवारी दिएको स्वीकार गरेका छन्। 

स्पष्टीकरणसँगै आफ्नो नेपाली राहदानी पनि पेस गरेका उनले पुरानो नागरिकताकै आधारमा पासपोर्ट पाएकाले उम्मेदवारी दिन पाउनुपर्ने तर्क गरेका छन्। 

‘मलाई पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा लगाउँदा पनि नेपाली नागरिक नै भनेर लगिएको थियो। म नेपाली नागरिक थिइनँ भने मलाई किन अदालतमा मुद्दा लाग्यो, सफाइ दियो? मुद्दा पर्दा म नागरिक हुने, अहिले अनागरिक कसरी हुन्छु? यी सबै प्रमाणले म नागरिक होइन भनेर कसरी भन्न मिल्छ?’ उनको प्रश्न छ। 

लामिछानेले स्पष्टीकरणसँगै विदेशी नागरिकता त्यागिसकेको अमेरिकी प्रतिवेदन, नागरिकता विवादमा प्रेस काउन्सिलमा परेको उजुरी, कारबाही तथा नेपाली नागरिक नै हो भनेर टुंग्याएको कागजात पनि पेस गरेका थिए। प्रहरीले ती सबै कागजात पनि लिएर गएको बुझिएको छ। 

यो विषय राजनीतिक ब्ल्याकमेलिङका हिसाबले आएजस्तो देखिन्छ
डा. मुकुल ढकाल, प्रवक्ता (राष्ट्रिय स्वतन्त्र पार्टी)

यो विषय राजनीतिक ब्ल्याकमेलिङका हिसाबले बाहिर ल्याएजस्तो देखिन्छ। हामीलाई कसैले ब्ल्याकमेल गर्न सक्दैन। उहाँ (रवि लामिछाने)ले हिजो सजिलोका लागि कागजात लिनुभयो होला। यो धेरै नेपालीको कथा हो। त्यसैले यो विषय अघि बढ्दा भोलि अरू नागरिकका लागि पनि सिस्टमको थालनीमा मद्दत गर्छ जस्तो लाग्छ।

प्रहरीले कागजात लगेको छ
गुरु वाग्ले, सहायक प्रवक्ता (निर्वाचन आयोग)
प्रहरीले हामीसँग उम्मेदवारी दर्ता गर्ने क्रममा पेस गरेको नागरिकतालगायत दस्ताबेज माग गरेको थियो। त्यसकै आधारमा आइतबार प्रहरीले रवि लामिछानेको नागरिकताको प्रतिलिपिसहित आवश्यक कागजात लिएर गएको छ।

छुटाउनुभयो की ?