
बर्दिया जिल्ला अदालतले लागुऔषधको कसुरमा ४७५ जनालाई कैद सजायको फैसला गरेको छ । बर्दिया जिल्ला अदालतले तीन वर्ष नौ महिनामा ४७५ जनालाई कैद सजायको फैसला गरेको हो ।
पछिल्लो समय लागुऔषधको ओसारपसार तथा प्रयोग बढ्दै गइरहेको छ । खुला सिमानाका कारण सीमावर्ती क्षेत्रबाट सहज रूपमा लागुऔषध ल्याएर बेचबिखन हुने गरेको छ । लागुऔषधसहित पक्राउ पर्नेमा विशेष गरी १६ देखि २८ वर्षका युवाहरू संलग्न रहेको पाइन्छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले आर्थिक वर्ष ०७८/७९ देखि चालू आर्थिक वर्ष ०८१/८२ को चैतसम्म लागुऔषधको अभियोग ५६६ जनालाई मुद्दा चलाएको छ । जसमध्ये ४७५ जनालाई कैद सजाय भएको छ । अदालतले १५ जनालाई सफाइ दिएको छ भने १२ जनाको मुद्दा मुल्तबीमा रहेको सरकारी वकिल राखिएको सहायक न्यायाधिवक्ता शिवराज पौडेलले बताए ।
उनले भने, ‘लागुऔषधको अभियोगमा पक्राउ पर्नेहरूसँग अफिम, गाँजा, चरेस, ब्राउनसुगर, ट्याब्लेट पाइने गरेको छ । प्रायः लागुऔषध प्रयोगकर्ताको पारिवारिक पृष्ठभूमिबारे बुझ्दा बुवाआमाको मेल नभएकाहरू बढी रहेका छन् भने केही भारतीय नागरिकसमेत लागुऔषधको अभियोगमा मुद्दा चलाइएको छ ।’
लागुऔषध ( नियन्त्रण ) ऐन, २०३३ मा रहेको कानुनी व्यवस्थाअनुसार लागुऔषधको प्रकृति, परिणाम, सञ्चय, खरिद बिक्री, ओसारपसार वा निकासी–पैठारीको आधारमा मुद्दा चल्ने गरेको अभिवक्ता सोम खड्काले बताए ।