
नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनका लागि ठूला दलहरू मिलेर अघि बढ्नुपर्ने बताएका छन्। भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित थापाले ठूला दलहरूले नयाँ सरकार गठनबारे एक ठाउँमा उभिएर बहस गर्नुपर्ने बताएका हुन्।
राष्ट्रिय सञ्चार केन्द्र, नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतिको आधारमा अघि बढाउनुपर्ने, तर संविधानमाथि खेलबाड गर्ने काम कसैले गर्न नहुने उनको भनाइ थियो।
सांसद थापाले ठूला राजनीतिक दलहरूले संविधानमाथि नै खेलबाड गर्ने गल्ती गरेकाले जनताले उनीहरूको विकल्पको खोजी गरेकाे जिकिरसमेत गरे। उनले भने, ‘जनादेशविपरीत जाने दलहरू समाप्त हुनेछन्। हामीले गल्ती गरेकाले जनताले दलहरूको विकल्प खोजेका हुन्। जनताले दिएको म्यान्डेटअनुसार अघि बढौँ।’