मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर २० मंगलबार १०:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय रातारात भालुवाङ सारियो 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २० मंगलबार १०:३९:००

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय स्थायी राजधानी भालुवाङ सारिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट काम गर्दै आएको कार्यालयले अब भालुवाङबाटै काम थाल्नेछ । सोमबार राति ११ देखि १२ बजेसम्म बुटवलबाट सबै सामग्री दाङ ल्याइएको हो ।

मुख्यमन्त्री कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान तीनवटा ट्रकमा दाङ ल्याइएको हो । दाङको राप्ती गाउँपालिका– ३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा सारिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय, आवासगृह र मुख्यसचिवको कार्यालय निर्माण कार्य भएको थियो । 

मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार आगामी आइतबारदेखि मुख्यमन्त्रीको कार्यालले देउखुरीबाटै सेवा प्रवाह गर्नेछ । बुटवलस्थित अस्थायी मुकाम बन्द गरिएको छ । यही हप्ताभित्र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखा नियन्त्रण कार्यालय पनि ल्याउने तयारी गरिएको छ । 

आज (मंगलबार) बिहान ११ बजेतिर राजधानी व्यवस्थापन मूल समितिको बैठक बस्दै छ । त्यही बैठकले के–के गर्ने भन्ने छलफल हुने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । साथै नवनिर्वाचित प्रदेश सभा सदस्यहरूलाई भालुवाङमै शपथ खुवाउनेसमेत तयारी गरिएको छ । प्रदेश सभा भवनसमेत निर्माणको अन्तिम चरणमा छ । 

०७७ असोज २० गतेको प्रदेश सभा बैठकले दाङको राप्ती  गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा  नगरपालिका वडा नं. ८ र ९  लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको  थियो । 

०५० सालमा स्थापना भएको राप्ती गाउँपालिका– ५ स्थित राप्ती प्राविधिक शिक्षालय १६  बिघा क्षेत्रफलमा  फैलिएको छ । जहाँ अहिले तीन सयजना अटाउन सक्ने एउटा सभाहलसमेत छ । त्यहाँ साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।