Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दार्चुलाको महाकाली नदीको बंगाबगड क्षेत्रमा नेपालतिर पानीको बहाव फर्काउन प्रयोग गरिएको भारतीय डोजर । तस्बिर : नरेन्द्रसिंह कार्की/नयाँ पत्रिका
२०७९ मङ्सिर २० मंगलबार ०६:०६:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महाकालीमा एकतर्फी तटबन्ध बनाइएकोबारे आज भारतलाई चिठी पठाइँदै

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर २० मंगलबार ०६:०६:००

दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले भारतसँग स्थायी समाधानका लागि पहल गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार भारतीय विदेश मन्त्रालयलाई आइतबार भएको झडपको घटना विवरण र तटबन्धका विषयमा पत्राचार गर्न लागेको हो ।

फणीन्द्रमणि पोखरेल प्रवक्ता, गृह मन्त्रालय

सोमबार अपराह्न हामीले स्थलगत विवरणसहित परराष्ट्रलाई चिठी लेखेका छौँ । प्राविधिक रूपमा पनि समस्याको दीर्घकालीन प्रयास खोज्नुपर्छ । यसका लागि दुवै पक्षले सम्भव भएजति प्रयास गर्नु आवश्यक देखिएको छ ।

गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनसहित दीर्घकालीन प्रयासका लागि परराष्ट्र मन्त्रालयलाई सोमबार साँझ चिठी लेखेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्न गृहले परराष्ट्रलाई चिठी पठाएको जानकारी दिए ।

‘सोमबार अपराह्न हामीले स्थलगत विवरणसहित परराष्ट्रलाई चिठी लेखेका छौँ,’ उनले भने, ‘प्राविधिक रूपमा पनि समस्याको दीर्घकालीन प्रयास खोज्नुपर्छ । यसका लागि दुवै पक्षले सम्भव भएजति प्रयास गर्नु आवश्यक देखिएको छ ।’ घटनाबारे कूटनीतिक प्रयासका विषयमा मुख्यसचिव शंकरदास वैरागी र परराष्ट्रसचिव भरतराज पौड्यालबीच पनि सोमबार छलफल भएको छ । गृह मन्त्रालयको चिठीका आधारमा मंगलबार भारतलाई चिठी पठाउने तयारी भएको छ । ‘मंगलबार बिहान भारतलाई चिठी पठाउने तयारी छ, त्यसपछि भारतको रेस्पोन्सका आधारमा हामी दीर्घकालीन समाधानका लागि अघि बढ्छौँ,’ प्रधानमन्त्रीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो । 

नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए । महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको थियो । स्थानीयले दुई देश जोड्ने झोलुङे पुलमा तालाबन्दी गरेका थिए ।

भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरेको विरोधमा स्थानीयले पुल बन्द गरेका थिए । उक्त स्थानमा एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण भइरहेको छ । आइतबार दिउँसो भारतीय पक्षको डोजरले बंगाबगड क्षेत्रमा नेपालतिर पानीको बहाव फर्काउने गरी काम थालेपछि नेपाली पक्षले विरोध गरेका थियो । त्यसपछि दुवैतर्फ ढुंगा हानाहान भएको थियो । ढुंगाले लागेर नेपालतर्फ प्रेमसिंह कुँवर र पुष्कर सिंह तथा भारततर्फ रमेश कुटियाल र तटबन्ध निर्माणमा काम गरेका नेपाली मजदुर जयसिंह घाइते भएका थिए । 

दार्चुलामा तटबन्ध निर्माण कार्य राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेको छ । उसले संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले यसबारे केही बोलेका छैनन् ।

भारतलाई महाकालीमा बनाइरहेको अनधिकृत संरचनाको काम रोक्न दार्चुला प्रशासनको आग्रह

अन्तर्राष्ट्रिय मापदण्डविपरीत महाकाली नदीमा बनाइरहेको अनधिकृत संरचनाको काम रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई आग्रह गरेको छ । सोमबार नेपाल–भारतका अधिकारीबीच भएको छलफलमा सहमति नै नभई बंगाबगडपारि निर्माण कार्य अघि नबढाउन नेपाल पक्षले आग्रह गरेको हो ।

दीर्घराज उपाध्याय प्रमुख जिल्ला अधिकारी, दार्चुला

बंगाबगड रिंगलताल क्षेत्रभन्दा माथि सहमति नभई थप काम नगर्न भारतीय पक्षलाई भनेका छौँ । अनधिकृत संरचनाभन्दा भित्र मात्रै आफ्नो क्षेत्रमा काम हुनेछ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले एकतर्फी रूपमा सहमतिविपरीत महाकालीमा संरचना बनाउँदा नेपाल जोखिममा पर्ने भएकाले थप काम रोक्न आग्रह गरिएको बताए । ‘बंगाबगड रिंगलताल क्षेत्रभन्दा माथि सहमति नभई थप काम नगर्न भनेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अनधिकृत संरचनाभन्दा भित्र मात्रै आफ्नो क्षेत्रमा काम हुनेछ ।’ तटबन्ध निर्माणमा अवरोध गर्न नहुने भन्दै भारतीय प्रशासन सोमबार नेपाल आएको हो । आफूहरूले सहमति नभईकन निर्माण कार्य अघि बढाउँदा फेरि समस्या हुने भन्दै सचेत गराएको उपाध्यायले जानकारी दिए । भारतले अहिले पुलभन्दा तल्लो क्षेत्रमा निर्माण कार्य जारी राखेको छ । तर, नेपाली नागरिकले विरोध गरेपछि नेपाल–भारत जोड्ने झोलुङे पुलभन्दा माथिल्लो क्षेत्रमा काम सुस्त बनाएको छ । 

०७० महाकालीमा आएको बाढीले खलंगाको आधा बजार बगाएको थियो । त्यसपछि साढे चार किलोमिटर क्षेत्रमा नेपालले पक्की तटबन्ध बनाए पनि यो वर्ष आएको बाढीले रिंगल तालभन्दा माथिको तटबन्ध फेरि भत्काएको छ । अहिले भारतले त्यही क्षेत्रमा संरचना अन्तिम चरणमा पु¥याएपछि नेपालतर्फ क्षति हुने अवस्था पुगेको छ । 

गत भदौ दोस्रो साता महाकालीमा दोस्रोपटक आएको बाढीले भारततिर बगर बनाएको छ । भारततर्फ बगर बनेको मौकाछोपी भारतले बगर क्षेत्रमा संरचना बनाएर नदीको पूरै धार नेपालतर्फ फर्काएको छ । भारतले बगर क्षेत्रभित्र पसेर तारजाली लगाएर नदी नेपालतर्फ फर्काउँदा भविष्यमा पूरै खलंगा बजार जोखिममा रहेको भन्दै विरोध गर्नुपरेको बंगाबगडका स्थानीय अमनसिंह बोहराले बताए । दार्चुला घटनाको विषयमा गृह मन्त्रालयलाई लिखित रूपमा जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । 

गत वर्षबाटै निर्माण कार्य थालेको भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरिरहेको छ । भारतीय पक्षले एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण गरिरहेको हो । ‘नेपालतिर क्षति हुने अवस्था आएको विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकेका छौँ,’ उनले भने । नेपाललतर्फ पनि तटबन्ध निर्माणका लागि टेन्डर भइसकेको छ । पुसभित्रै निर्माण कार्य अघि बढाउनसमेत पहल भइरहेको छ ।