१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५४:oo

वनको माझमा एउटा सानो गाउँ छ । त्यही गाउँछेउमा कक्षा पाँचसम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरूका लागि बनाइएका डेस्क–बेन्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एकजनाबाहेक अरू कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ ।  

पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय ०४० मा स्थापना भएको हो । विगतमा विद्यार्थीको संख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् । 

विद्यालयमा  विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै छन् । विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो ।  त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै भएकी हुन् । 

‘गत वर्षसम्म १०–१५ विद्यार्थी नियमित पढ्न आउँथे,’ उनले भनिन्, ‘गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ । तर, बर्खामा तर्न सकिँदैन । पुल नहुँदा विद्यार्थीनजिक  छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।’ 

विद्यार्थीविनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले सुनाइन् । चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गर्दिए हुन्थ्यो भन्ने उनको चाहना छ । विद्यालयनजिकको गाउँ हिले, दराक, लम्सालथर, पंगालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरू एक घन्टा टाढाको विद्यालयमा पुग्छन् । 

विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ । ‘गाउँको ७० घरका  विद्यार्थी पढ्ने एक्लो विद्यालय हो,’ स्थानीयवासी शेरबहादुर केसीले भने, ‘विद्यालय आउने  खोलामा पुल, सहज बाटो निर्माण र अंग्रेजी माध्यमबाट पठनपाठन  गर्न पालिकामा छलफल भइरहेको छ ।’

गाउँपालिकाले अरू विद्यालयमा विद्यार्थीको संख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ । ‘एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट वञ्चित हुनुहुँदैन,’ गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भनिन्, ‘बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ । केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ ।’ रासस

ad
ad