मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ २२ आइतबार
  • Sunday, 05 February, 2023
सेठ बर्कले/वेर्नर होएर
२०७९ मङ्सिर १८ आइतबार १०:१४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

स्वास्थ्य संकट जलवायु संकट पनि हो

Read Time : > 2 मिनेट
सेठ बर्कले/वेर्नर होएर
२०७९ मङ्सिर १८ आइतबार १०:१४:००

देश/विदेश

एउटै भाइरसले अर्बौँको जीवन, जीविकोपार्जन र विश्वव्यापी अर्थतन्त्रमा पारेको विनाशकारी प्रभाव हेरेर जलवायुसम्बन्धी स्वास्थ्य जोखिमको सामना गर्न तुरुन्तै कदम चाल्नुपर्छ 

स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्ने ल्यान्सेट काउन्टडाउनको हालैको प्रतिवेदनले सम्भावित प्रकोपका लागि तयार रहन जोड दिएको छ । त्यसैगरी अर्को एक अध्ययनले कोभिड–१९ जस्तो नयाँ महामारीको जोखिम वार्षिक रूपमा दुई प्रतिशतले बढेको देखाएको छ, जबकि कोभिड–१९ महामारी अझै निमिट्यान्न भएको छैन । आगामी दशकमा जलवायु संकट र जनस्वास्थ्यबीचको सम्बन्धले विश्वव्यापीस्तरमा विनाश र उथलपुथल मिश्रित एक खतरनाक आँधी उत्पन्न हुन सक्छ ।

यद्यपि हामीसँग सकारात्मक निकास पनि छ । यदि हामीले हाम्रो स्वास्थ्य प्रणालीलाई आधुनिकीकरण गर्नतर्फ चाँडै अग्रसरता देखायौँ भने अर्को कोभिडजस्तै महामारीलाई रोक्न सक्छौँ । अहिलेको महामारीले जलवायु परिवर्तन वैज्ञानिक एवं प्राविधिक उपायमा मात्र नभई भूराजनीति र बजारशक्तिमा पनि भर परेको देखाएको छ । आफ्नो हित मात्रै हेर्दा स्रोतमा समान पहुँच हुनुपर्छ भन्ने बहस भइरहेका वेला जनस्वास्थ्यको अवमूल्यन हुन सक्छ । यसका बाबजुद अन्तर्राष्ट्रिय समुदाय वित्तीय तगाराका कारण खोपको पहुँचमा वञ्चित हुन पुग्ने न्यून आय भएका मुलुकका राहतका लागि नवप्रवर्तनीय कोभिड–१९ भ्याक्सिन ग्लोबल एक्सेस (कोभ्याक्स) योजनामा एक ठाउँमा आएका छन् ।  

जलवायु परिवर्तनसँग जोडिएर आउने जनस्वास्थ्यका समस्या समाधानका लागि माथिकै जस्तो योजना लागू गरिनुपर्छ । हामीसँग थुप्रै समाधान योजनाबारे जानकारी छ । यद्यपि, तिनको उपयोगिता प्रकोप सुरु हुनुअगावै लागू गर्दा मात्रै सिद्ध हुन्छ । यी आदर्श निःसृत योजना मात्रै होइनन्, यी बुद्धिमत्तापूर्ण आर्थिक छनोट पनि हुन्, जसले महामारी र जलवायु परिवर्तनसम्बन्धी प्रकोपको लागत घटाउनेछ ।   

यही नोभेम्बरमा इजिप्टमा भएको राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप २७) ले दिगोपन भनेको कार्बन प्रयोग घटाउँदै जानु, विद्युतीय सवारीसाधन वा बाढी प्रतिरक्षाजस्ता जलवायु–अनुकूलन उपाय मात्र होइनन् भनेर जोड दिएको छ । दिगोपन महामारीको तयारी पनि हो । अझ विस्तृत रूपमा भन्ने हो भने जलवायु परिवर्तनले घातक रोगका कारकको वासस्थानको दायरा परिवर्तन गर्ने आकलन गरिएको छ । अर्थात्, मलेरिया, यलो फिभर र डेंगु ज्वरोजस्ता संक्रामक, लामखुट्टेजनित रोग उत्तरी युरोप र क्यानडासम्म फैलिन सक्छ । त्यसैगरी जलवायु संकटले विकासोन्मुख विश्वमा मलेरिया, हैजा र स्किस्टोसोमियासिस रोगको प्रकोप बढाउने खतरा छ ।

विश्वकै विशुद्ध मुलुक अर्थात् कार्बन उत्सर्जनमा न्यूनतम भूमिका निभाएका मुलुक जलवायु परिवर्तनका सार्वधिक जोखिममा छन् । तसर्थ, अन्तर्राष्ट्रिय समुदायले विपन्न, सीमान्तकृत समुदायमा खोपको पहुँच बढाउन, रोगको निदान एवं उपचारको सुव्यवस्था गर्न तत्कालै कदम चाल्न आवश्यक छ । विगत तीन वर्षमा एउटै भाइरसले अर्बौंको जीवन, जीविकोपार्जन र विश्वव्यापी अर्थतन्त्रमा पारेको विनाशकारी प्रभावलाई ध्यानमा राख्दै हामीले जलवायुसम्बन्धी स्वास्थ्य जोखिमको सामना गर्न तुरुन्तै कदम चाल्नुपर्छ भन्नेमा दुईमत हुनु हुँदैन ।

कोभिड–१९ खोपको समतामूलक वितरणका लागि प्रयोग गरिएको वैश्विक विधिले एक उपयोगी मोडल सिर्जना गरेको छ । ‘गाभी कोभ्याक्स एड्भान्स मार्केट कमिटमेन्ट’मा दाता एवं युरोपेली लगानी बैंकको लगानीले युद्धस्तरमा गरेको वित्तीय संयन्त्रले विश्वका ९२ गरिब मुलुकका मानिसलाई निःशुल्क खोप प्राप्त गर्न सक्षम बनाएको थियो । विश्वको आधा जनसंख्या भएका यी गरिब मुलुकले यदि सहयोग नपाएको भए ठूलै दुःख र संघर्ष गर्नुपर्थ्यो । 

हालसम्म एक अर्ब ६० लाखभन्दा बढी कोभ्याक्स खोपका मात्रा विकासोन्मुख देशमा पुर्‍याइएका छन्, जसले यी मुलुकका ५२ प्रतिशत नागरिकलाई पूर्णरूपमा खोप लगाएको सुनिश्चित गर्न मद्दत गर्छ र स्मरण रहोस्, विश्वव्यापी यो आँकडाको औसत ६४ प्रतिशत छ ।

विशेषतः विकसित मुलुकले खोपको अनावश्यक सघन भण्डारण, निर्यात अवरोध र खोप उत्पादनमा नाफा खोजिने प्रवृत्तिका सन्दर्भमा कोभ्याक्स उल्लेखनीय उपलब्धि हो । कोभ्याक्स मोडलको सफलताले जलवायुसँग सम्बन्धित स्वास्थ्य जोखिमका लागि कोभ्याक्सजस्ता नयाँ वित्तीय समाधानका लागि अवसर रहेको देखाउँछ । 

उदाहरणका रूपमा धेरै निजी क्षेत्रसम्बद्ध मानिसले हाल जलवायु समाधानमा नवप्रवर्तन र लगानीलाई प्रोत्साहित गर्न ‘क्लाइमेट एडभान्स मार्केट कमिटमेन्ट’मा काम गरिरहेका छन् । त्यसैगरी ‘इन्टरनेसनल फाइन्यान्सिअल फ्यासिलिटी फर इम्युनाइजेसन’को मोडेलमा आधारित संयन्त्रमा ठूलो सम्भावना छ, जसले दीर्घकालीन दाताको प्रतिबद्धतालाई लागू गर्न ‘भ्याक्सिन बन्ड’ (खोप धितो) प्रयोग गर्छ, ताकि कोष तुरुन्त उपलब्ध गराउन सकियोस् ।

जोखिम निवारण संयन्त्र लागू गर्न बहुपक्षीयता आवश्यक छ । साझा हितका लागि वाणिज्य क्षेत्रका साझेदार, नागरिक समाज संगठन र अन्तर्राष्ट्रिय संस्थासँग एक सय ९० भन्दा बढी देशको स्रोत र विशेषज्ञता एक ठाउँमा ल्याएर मात्रै कोभ्याक्स सम्भव भएको हो । तर, यदि कोभ्याक्स महामारीअघि नै सिर्जना गरिएको भए जोखिमलक्षित कोषको तात्कालिक प्रयोग गरेर तीव्र ढंगले थप जीवन जोगाउन सकिन्थ्यो । 

कोप २७ पछि दाता सरकार र बहुपक्षीय ऋणदाताले खतरा देखा पर्नेबित्तिकै कोष उपलब्ध गराइने ग्यारेन्टी गर्न विद्यमान वित्तीय संयन्त्रलाई जलवायु परिवर्तनविरुद्धको लडाइँमा कसरी अनुकूलन गर्न सकिन्छ भनेर हेर्नुपर्छ । जलवायुसम्बद्ध स्वास्थ्य जोखिमको समग्र वित्तीय लागत न्यूनीकरणमा रोकथाम मात्र नभई प्रारम्भिक कार्य पनि समावेश छ । यी जोखिम निवारण संयन्त्र संसारका सबैभन्दा जोखिमयुक्त मानिस जहाँ छन्, त्यहाँका लागि बनाइनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरो तुरुन्तै यी पहलकदमी चालिनु हो । ल्यान्सेटको प्रतिवेदनले चेतावनी दिएझैँ नयाँ वैश्विक स्वास्थ्य संकट हाम्रो दैलोमै पुग्न आँटेको छ ।   

(बर्कले गाभी कोभ्याक्स प्रमुख कार्यकारी अधिकृत हुन् भने होएर युरोपेली इन्भेस्टमेन्ट बैंकका अध्यक्ष हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट