१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १८ आइतबार १०:३६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लमजुङका छंगाछुर भिरमा ‘महसिकार’ : पर्यटकको आकर्षण बन्दै हनिहन्टिङ

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १८ आइतबार १०:३६:००

लमजुङको छंगाछुर ठाडो भिरपहरामा हुने महसिकार हेर्दा जति डरलाग्दो छ, सिकार गर्न पनि उत्तिकै जोखिमपूर्ण छ । तर, निडर महसिकारीहरू आफ्नो ज्यानको बाजी लगाउँदै भिरपहरामा महसिकार गर्न रमाउँछन् । विश्वप्रसिद्ध चक्रिय अन्नपूर्ण पदमार्गसँगै लमजुङका विभिन्न पर्यटकीय सम्पदाले बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेका छन् । 

परापूर्वकालदेखि ग्रामीण भेगमा बसोवास गरेका गुरुङ समुदायका मानिसहरूको आम्दानीको स्रोत बन्ने गरेको महसिकार पछिल्ला वर्षहरूमा भने पर्यटक लोभ्याउने आकर्षण बन्ने गरेको छ । आङै सिरिंग हुने अग्ला भिरपहरामा निडरका साथ महसिकारीहरूले मह काढेको दृश्य देख्दा रोमाञ्चक लाग्ने बेँसीसहरकी सुस्मिता थापाले बताइन् । उनले भनिन्, ‘भिरमाहुरीको सिकार गरेको पहिलोपटक देख्दा अविस्मरणीय र रोचक बन्यो ।’ ‘हनिहन्टिङ’ अर्थात् महसिकार आजभोलि पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्दै गएको छ ।

महसिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटक आकर्षणका लागि ‘हनिहन्टिङ फेस्टिबल’का रूपमा पहिलोपटक ०६३ सालमा लमजुङको ताघ्रिङस्थित काप्रेभिरमा गरिएको थियो । त्यसपछि धेरै गाउँहरूमा पर्यटक आकर्षणका रूपमा महसिकार हुने गरेको थियो । 

गाउँमा युवा जनशक्तिको अभाव हुन थालेपछि वृद्धहरूले नै महसिकार धान्दै आएका छन् । लमजुङको सिउरुङ, पसगाउँ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, नाइचे, दूधपोखरीलगायतका भिरपहरामा भिरमौरी प्रशस्त पाइन्छ । झन्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहरामा भिरमौरीले घार बनाउने गर्छ । ‘परापूर्वकालदेखि नै भिरपहरामा पाइने भिरमौरीको सिकार गर्न गाउँले हानाथाप गर्थे । तर, अहिले त्यस्ता महसिकारी भेट्टाउनै मुस्किल हुन्छ,’ स्यागेका पर्यटन व्यवसायी बलबहादुर गुरुङले बताए । महसिकारको सिजन सुरु भएसँगै जिल्लाका भिरपहरामा महसिकार सुरु भएको छ । 

लमजुङमा प्रत्येक वर्ष वैशाख, कात्तिक र मंसिरमा भिरमाहुरीको मह सिकार गर्ने गरिन्छ । गुरुङ समुदायको परम्परागत पेसा नै रहेको महसिकारको सीप हस्तान्तरण गर्दै मौरीको संरक्षण गर्नुपर्ने महसिकारी बुद्धिबहादुर गुरुङको बुझाइ छ । ज्यानको बाजी थापेर महसुर सिकारीले गर्ने महसिकार स्थानीयलाई आय–आर्जन र साहसिक पर्यटकका लागि गन्तव्यका रूपमा स्थापित हुँदै गएको घनपोखराका महसिकारी भक्तबहादुर गुरुङ बताउँछन् ।

यसरी गरिन्छ महसिकार 
लमजुङका अधिकांश भिर तथा पहराहरूमा भिरमह पाइन्छ । भिरमाहुरीले आफ्नो सुरक्षा हेरेर पहराको बीचमा घार बनाएको हुन्छ । कहीँकतैबाट ठेस नपुग्ने ठाउँमा बनाइएका घारमा सिकार गर्न चोयाको डोरीको साथ लिनुपर्छ । दुईवटा डोरी बाँधेर ठेल्ना राखिन्छ र भर्‍याङजस्तो बनाएर डोरीलाई भिरको सिरानमा रहेको रूखमा बाँधी त्यसबाट सिकारी झुन्डिएर मह काढ्ने गरिन्छ ।

भिरमह विशेष गरी यौनवद्र्धक, शक्ति र हाडजोर्नी रोगीका लागि औषधिका रूपमा प्रयोग हुने महसिकार गर्दै आएका मस्र्याङ्दी घनपोखराका भक्तबहादुर गुरुङ बताउँछन् । भिरमाहुरीको मह काढ्दा थोरै गल्ती भए ज्यानै पनि जान सक्छ । नेपालमा विरलै हुने महसिकार लमजुङमा कहालीलाग्दो भिर तथा पहराहरूमा ज्यानको बाजी राखेर स्थानीय सिकारीहरूले गर्दै आएका छन् ।