१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १o:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वर्ष बित्दा पनि किसानले पाएनन् राहत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:१२:oo

बेमौसमी बर्सातले काटेको र काट्न तयारी अवस्थामा रहेको धानबालीमा क्षति पुगेका किसानले एक वर्ष बित्दासमेत सरकारबाट राहत पाएका छैनन् । किसानलाई राहत दिन क्षतिको विवरण संकलन भए पनि अहिलेसम्म नपाएको नरैनापुर गाउँपालिका–६, गंगापुरका आशाराम यादवले बताए । राहत रकम आएको सुने पनि अहिलेसम्म नपाएको उनको गुनासो छ । ‘गत वर्षको राहत एक वर्ष बित्दासमेत पाइएको छैन । सुक्खापीडितको रकम झन् के पाइएला,’ उनले भने, ‘आशा गरेर निराश हुनुभन्दा आशा नै नगर्न उचित लाग्न थालिसक्यो ।’

नरैनापुर गाउँपालिका–५, मटिहियाका सोहनलाल यादवले पनि गत वर्षको राहत नपाएको गुनासो गरे । ‘गाउँपालिकामा गएर बुझ्दा पाउनुहुन्छ भन्ने आश्वासन दिन्छन्, तर कहिले दिने यकिन समय भन्दैनन्,’ उनले भने, ‘गाउँपालिका धाएर हैरान भइसक्यौँ । अब त सोध्न मन लाग्न छाडिसक्यो ।’

राहत रकम लिन गाउँपालिका धाएर थाकिसकेको नरैनापुर गाउँपालिका–४, नरैनापुरका जाकिर खाँले बताए । ‘अब त गत वर्षको राहत रकम पाउने आशा पनि मरिसक्यो । यस वर्षको झन् आशा गर्नुको कुनै अर्थ छैन,’ उनले भने । समयमा बर्सात नभएपछि नरैनापुर गाउँपालिकाको ८५ प्रतिशत जमिनमा धान रोपाइँ भएको छैन । रोपाइँ नभएपछि गाउँपालिकाले सुक्खा क्षेत्र घोषणा गरेको छ । यस गाउँपालिकामा आठ गुणा कम धान उत्पादन भएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिए ।

गत वर्षको राहत छिट्टै वितरण गर्छौँ : कृषि कार्यालय
बेमौसमी बर्सातले धानबालीमा क्षति भएका किसानलाई छिट्टै राहत रकम वितरण गरिने गाउँपालिकाका कृषि शाखा प्रमुख भण्डारीले जनाएका छन् । उनले राहत वितरणका लागि सरकारले रकम पठाइसकेकाले प्रक्रिया पुर्‍याएर छिट्टै वितरण गरिने बताए । ‘जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको खातामा रकम पठाइसकेको छ । गाउँपालिकाले पीडित किसानको बैंक खातामा रकम पठाउने व्यवस्था मिलाउँदै छ,’ उनले भने । कागजी प्रक्रिया पुर्‍याउन केही समय लागेकाले वितरणमा केही ढिलाइ भएको उनको भनाइ छ । ‘किसानका लागि आएको रकम किसानले नै पाउने हो । रकम गाउँपालिकाको खातामा आइसकेको छ । केही दिनपछि वितरण हुनेछ । तपाईंहरू (किसान) नआत्तिनुहोला,’ भण्डारीले भने ।

ad
ad