मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १७ शनिबार ०८:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयात प्रतिबन्धविरुद्ध उत्रिए अटो व्यवसायी

आयात प्रतिबन्ध र कर्जामा कडाइले पाँच दर्जन सोरुम बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १७ शनिबार ०८:४८:००

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन आयातमा आठ महिनादेखि लगाएको प्रतिबन्ध खुला नगरेको भन्दै अटो व्यवसायीहरू आन्दोलित भएका छन् । आयात प्रतिबन्ध, ऋण प्रवाहमा कडाइलगायत अमैत्रीपूर्ण नीतिहरूले अटो व्यवसाय धराशायी हुने अवस्था आएपछि नाडा अटोमोबाइल एसोसिएसनले सरकारलाई दबाब दिन शुक्रबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

 विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले मोटरसाइकल, कार, जिप, भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले ल्याएका हायर पर्चेज कर्जामा ५० प्रतिशतको सीमा, जोखिम भारमा वृद्धि, प्रतीतपत्र मार्जिनमा बढोत्तरी, चालू पुँजी कर्जा तथा बैंकको ब्याज र प्रिमियम दरमा गरिएको वृद्धिजस्ता अमैत्रीपूर्ण नीतिहरूले अटोमोबाइल व्यवसाय धराशायी हुने अवस्थामा पुगेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । ‘राज्यले लिएका अमैत्रीपूर्ण नीतिहरूले ठूलो संख्यामा अटोमोबाइल सोरुम बन्द भइसकेका छन्, उत्तिकै संख्यामा थप सोरुम बन्द हुने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘सरकार र राष्ट्र बैंकको वर्तमान नीतिप्रति नाडाले दबाब दिँदै अगाडि बढ्नेछ ।’ पछिल्लो समय सवारीसाधन बिक्री ठप्प भएपछि देशभर करिब पाँच दर्जन सोरुम बन्द भइसकेको नाडाले जनाएको छ ।

 यस्ता छन् आन्दोलनका कार्यक्रम
नाडाले तय गरेका नाराहरू अटो व्यवसायीले सामाजिक सञ्जालमा प्रोफाइल पिक्चर राखेर आन्दोलन सुरु गरेको जनाएका छन् । २२ मंसिरसम्म चल्ने चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत ती नाराहरू आफू चढ्ने गाडी र सोरुममा ब्यानर बनाएर टाँस्ने योजना रहेको नाडाले जनाएको छ । नाडाले आफ्नो विरोध कार्यक्रममा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध वस्तुगत संघ, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरू, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत औपचारिक पत्रमार्फत सहयोग माग्ने घोषणा गरेको छ ।

२२ मंसिरमा सम्पूर्ण व्यवसायी कालो पहिरन लगाई, प्लेकार्ड बोकेर बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म काठमाडौंको माइतीघर मण्डलासहित सातै प्रदेशमा एकैपटक धर्ना कार्यक्रम गर्ने नाडाले जनाएको छ । सोही दिन नाडाका औपचारिक नाराहरू काठमाडौंसहित सातै प्रदेशमा रहेका संगठनमार्फत सार्वजनिक गर्ने पनि कार्यक्रम तय गरिएको छ । यदि २२ मंसिरसम्म पनि आफ्ना मागहरू सरकार र राष्ट्र बैंकले सम्बोधन नगरेमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने नाडाका अध्यक्ष थापाले बताए ।

यस्ता छन् नाडाका माग
नाडाले आठ महिनादेखि प्रतिबन्ध लगाएका कार, जिप, भ्यान र १५० सिसीभन्दा माथिका दुईपांग्रे सवारीसाधनको आयातमा लगाएको प्रतिबन्ध तत्काल खोल्न माग गरेको छ । राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ तत्कालका लागि स्थगित गर्नुपर्ने तथा शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतीतपत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने नाडाको माग छ । बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर तथा प्रिमियम दरलाई तत्कालै नियन्त्रणमा राख्नका लागि आवश्यक व्यवस्था गर्न पनि नाडाले माग गरेको छ ।

नाडाले टोलोन–हायर पर्चेज कर्जामा जोखिम भारलाई ७५ प्रतिशत नै कायम गर्नुपर्ने बताएको छ । अहिले जोखिमभार बढाएर १५० प्रतिशत पुर्‍याइएको छ । यस्तै, तरलता अभावलाई सहज बनाउन सिडी रेसियो पुनरावलोकन गर्नुपर्ने, बंैकबाट हायर पर्चेज लोन स्वीकृत भएपश्चात् जारी गरिने ‘डेलिभरी अर्डर’बापतको भुक्तानी समयावधि सवारीसाधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनुपर्ने, बैंकहरूबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ७० प्रतिशत कायम गर्नुपर्ने पनि नाडाको माग छ ।