राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले खारेज भइसकेको नागरिकता प्रयोग गरेको विषयमा परेको उजुरीउपर प्रहरीले अनुसन्धान थालेको छ । गृह मन्त्रालयले काठमाडाैं प्रशासन कार्यालय हुँदै यससम्बन्धी परेको उजुरीउपर छानबिन गर्ने जिम्मेवारी जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र पठाएको हो ।
प्रशासन कार्यालयले बिहीबार काठमाडौं प्रहरीलाई सो उजुरीमाथि छानबिन गर्न पत्राचार गरेको हो । प्रशासन कार्यालयबाट उजुरी प्राप्त भएको र अनुसन्धान प्रक्रिया अघि बढ्ने काठमाडौं प्रहरीले जनाएको छ । ‘त्यस विषयमा अनुसन्धानका लागि भनेर जिल्ला प्रशासन कार्यालयबाट पत्र आएको छ,’ परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले भने, ‘सरकारी वकिललगायतसँग छलफल गरेर अघि बढ्छौँ ।’
हालै सम्पन्न निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने अमेरिकाको नागरिक बनेपछि नेपालको नागरिकता स्वतः खारेज भएको, तर सोही खारेज भएको नागरिकताका आधारमा उम्मेदवारी दर्तालगायतको काम गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको हो ।
लामिछानेले सन् २०१४ मा अमेरिकाको नागरिकता र पासपोर्ट लिएका थिए । विदेशी नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः बदर हुने नागरिकता ऐनको प्रावधान छ । उनले सन् २०१८ मा अमेरिकी नागरिकता त्याग गरेको जानकारी जिल्ला प्रशासनलाई गराएका थिए । त्यसरी जानकारी गराएपछि नयाँ नागरिकता लिनुपर्नेमा २०१४ मा खारेज भइसकेकै नागरिकता प्रयोग गरेको विषयमा उनीविरुद्ध उजुरी परेको हो ।
प्रारम्भिक अनुसन्धान गर्दा उनले नागरिकता ऐनसम्बन्धी कसुर गरेको देखिएमा प्रहरीले पक्राउ पुर्जी जारी गरी विस्तृत अनुसन्धान अघि बढाउनेछ । यो उजुरीमा विदेशको नागरिकता त्यागेपछि फेरि नयाँ नागरिकता लिनुपर्ने हो कि पुरानै नागरिकताले वैधानिकता पाउने हो भन्ने विषय प्रमुख छ ।