
स्याङ्जा क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले १५ हजार एक सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।
कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पराजित गरे । ०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार चार सय ३१ मत प्राप्त गरे ।
स्याङ्जा २ (क) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ म्बर गरी १९ वडा पर्छन् । विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र ०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन् ।
यसैगरी यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । गुरुङले १२ हजार नौ सय ५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । एमाले उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार ६ सय २७ मतसहित पछ्याइरहेकी छिन् ।