मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १५ बिहीबार ०५:५७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक करोडले लिए राष्ट्रिय परिचयपत्र

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १५ बिहीबार ०५:५७:००

बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र नम्बर लिनेको संख्या एक करोड पुगेको छ । योजना सुरु गरेको १२ वर्षपछि करिब एकतिहाइ नागरिकले यस्तो नम्बर लिएका हुन् । यसलाई सरकारले ऐतिहासिक उपलब्धि मानेको छ । 

०७८ साउनदेखि राहदानी बनाउन परिचयपत्र नम्बर अनिवार्य गरेपछि सरकारी कार्यालयमा भिड बढेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले एक करोड नेपालीको बायोमेट्रिक विवरण संकलन हुनु ठूलो सफलता भएको बताए । उनका अनुसार कात्तिक मसान्तसम्म ९९ लाख ५५ हजारको विवरण संकलन भइसकेको थियो । 

दैनिक औसतमा २० देखि २५ हजारले बायोमेट्रिक विवरण दिएर परिचयपत्र नम्बर लिने गरेका छन् । जसअनुसार यही मंसिर महिनामा एक करोडको आँकडा पार भएको हो । बायोमेट्रिक विवरण उपलब्ध गराएलगत्तै सरकारले राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने गर्छ । सोही नम्बरका आधारमा राहदानी बनाउन सकिन्छ । अन्य सरकारी सेवामा पनि यो नम्बरलाई अनिवार्य गर्ने सरकारको योजना छ । राष्ट्रिय परिचय विभागले देशैभरी  विवरण संकलन लागि अभियान नै चलाएको छ । जसक्रममा ४३ जिल्लामा राष्ट्रिय परिचयपत्रको अभियान सकिएको महानिर्देशक भट्टराईले जानकारी दिए । 

चालू आर्थिक वर्षमा ७० लाख नागरिकको विवरण संकलन गर्ने सरकारको लक्ष्य छ । लक्ष्यअनुसार नै साउन र भदौ महिनामा मासिक ६ लाखका दरले विवरण संकलन भएकोमा पछिल्ला महिना केही घटेको छ । ‘अबको करिब दुई वर्षपछि सबै नागरिकको विवरण संकलन गरेर परिचयपत्र वितरण गर्ने हाम्रो लक्ष्य छ,’ महानिर्देशक भट्टराईले भने । सरकारले यही आर्थिक वर्षभित्र परिचयपत्र विवरण संकलन गरी परिचयपत्र वितरण गर्ने योजना दुई वर्षअघि बजेट भाषणमा सार्वजनिक गरेको थियो । तर, लक्ष्यभन्दा विववरण संकलनदेखि छपाईमा ढिलाई भएको छ । 

०६६/६७ को सरकारको नीति तथा कार्यक्रममै राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धि योजना उल्लेख गरिएको थियो । ०६७ मै गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना गरिएको थियो ।  सुरुमा एडिबीले एक लाख १७ हजार कार्ड छपाईको लागि अनुदान दिइ यो परियोजना सुरु भएको हो ।  पछिल्लो समय सरकारले आफ्नै बजेटबाट यो अभियान अघि बढाएको छ । 

परिचयपत्र छपाई सुस्त 
विवरण संकलन तिव्र भएपनि परिचयपत्र छपाई भने निकै सुस्त छ । पाइलट प्रोजेक्ट सकिएपछि यही वर्षदेखि विभागले परिचयपत्र छपाईको काम सुरु गरेको थियो । हालसम्म ६ लाख कार्ड मात्र छपाई भएको छ । काठमाडौं र कञ्चनपुर जिल्लाको कार्ड मात्र छपाई भएको छ । गत २६ बैशाखमा परिचयपत्र छपाईको उद्घाटन गरिएको थियो । 

कर्मचारी कम हुँदा छपाईमा ढिलाई भएको विभागका प्रवक्ता लक्ष्मण ढकालले बताए । ‘अहिले एक सिफ्टमा मात्र परिचयपत्र छपाई भइरहेको छ,’ उनले भने, ‘हामीले तीन सिफ्टमा छपाईका लागि कर्मचारी भर्नाको माग गरेका छौं ।’ यद्यपी कार्डका उपदेयिता प्रष्ट भइनसकेकाले यसमा सर्वसाधरणको चासो छैन । परिचयपत्र नम्बर नै राहदानी बनाउने तथा विभिन्न परीक्षाका लागि पर्याप्त हुन्छ ।  

कार्ड लिन पनि बायोमेट्रिक विवरण दिनुपर्ने 
राष्ट्रिय परिचय लिन पनि निकै झन्झटिलो प्रावधान राखिएको छ । कार्ड लिने सम्बन्धित व्यक्ति आफैं गएर मात्र हुँदैन, १० औंलाको बायोमेट्रिक विवरण समेत दिएपछि मात्र कार्ड जारी हुन्छ । बायोमेट्रिक विवरण दिएपछि मात्र कार्ड जारी हुने सिष्टम बनेको विभागका निर्देशक ढकालले बताए । 

अहिले कार्ड नम्बर लिनका लागि बायोमेट्रिक दिन नै भिडभाड हुने गरेको छ । कार्ड लिन समेत बायोमेट्रिक दिनुपर्ने भएपछि एकै कर्मचारीलाई दोहोरो जिम्मेवारी हुन्छ । यस्तो अवस्थामा भिडभाड थप बढ्ने अवस्था छ । 

त्रुटी सच्याउन सकस 
राष्ट्रिय परिचयपत्रको विवरणमा कुनै त्रुटी भएमा सच्याउन भने समस्या कायमै छ । परिचयपत्र छपाई नभईकन विवरण सच्याउन मिल्दैन । यससम्बन्धि सफ्टवेयर नै त्यस्तो बनेकाले समस्या भएको विभागका प्रवक्ता लक्ष्मण ढकाल बताउँछन् । ‘विगतमा यस्तै विदेशी सफ्टवेयर खरिद गरिएको रहेछ, परिचयपत्र छपाई नभईकन सच्याउन मिल्दैन,’ उनले भने ।