मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १५ बिहीबार ०६:३२:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेसमा ‘अन्तर्घात’को कलह

Read Time : > 5 मिनेट
२०७९ मङ्सिर १५ बिहीबार ०६:३२:००

जित निश्चित भएको सूचीमा राखेका २५ क्षेत्र नै गुमेपछि कांग्रेस नेताहरू भन्न थालेका छन्– पार्टीभित्रैबाट अन्तर्घात भयो

प्रतिनिधिसभातर्फ ९१ क्षेत्रमा चुनाव लडेको कांग्रेसको आन्तरिक विश्लेषण थियो– कम्तीमा ७० क्षेत्रमा सहजै चुनाव जितिन्छ । तर, चारवटा क्षेत्रको परिणाम आउन बाँकी रहँदा कांग्रेसले ५४ मा मात्रै जित निकालेको छ, एकमा अग्रता लिइरहेको छ । जित निश्चित भएको सूचीमा राखेका २५ सिट गुमाएको छ । अनपेक्षित परिणामबारे कांग्रेस नेताहरूको निष्कर्ष छ– पार्टीभित्रैबाट अन्तर्घात भयो । संस्थापन र इतर समूहका नेताहरू एकले अर्कालाई असहयोग गरेको गुनासो गरिरहेका छन् । 

निर्वाचनपूर्व कांग्रेसमा पाँचदलीय गठबन्धनलाई निरन्तरता दिँदै तालमेल गरेर जानुपर्ने संस्थापन पक्ष र एक्लै चुनाव लड्नुपर्ने शेखर कोइराला–गगन थापा समूहबीच निकै ठूलो विवाद थियो । विवाद सैद्धान्तिक तहमा मात्र होइन, प्रत्यक्ष र समानुपातिकतर्पmको टिकट बाँडफाँडका वेला पनि दुई समूहबीच उत्तिकै ठूलो तनाव भएको थियो । नेताहरूको बुझाइमा त्यही विवाद अन्तर्घातको तहसम्म पुगेको हो । 

कांग्रेस केन्द्रीय कार्यालयमा अनौपचारिक रूपमा आएका उजुरीमा ‘आकांक्षी रहे पनि टिकट नपाएका नेताले चुनावमा असहयोगी भूमिका खेलेको’ उल्लेख छ । यद्यपि, कडा प्रतिस्पर्धा हुने सूचीमा राखिएका केही क्षेत्रमा भने कांग्रेसले जित निकालेको छ । 

उम्मेदवारीलाई लिएर कांग्रेसभित्र कुन तहको असन्तुष्टि थियो भन्ने बुझ्न उसले गरेका कारबाहीकै सूची नै काफी छ । निर्वाचनअघि प्रतिनिधिसभा र प्रदेश सभामा बागी उम्मेदवारी दिने ८२ जनालाई पार्टीबाट निष्कासित गरेको थियो । कांग्रेसले तीनपटक गरी पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गर्ने उम्मेदवारलाई कारबाहीको सूचना निकालेको थियो । कारबाही पर्नेमा केन्द्रीय सदस्य दिनेश कोइराला र निवर्तमान सांसद अमरेशकुमार सिंहलगायत थिए । कांग्रेसले यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारबाही गरेको थियो । कांग्रेसका बागीकै कारण गठबन्धनका अन्य दलले पाएका कतिपय सिट पनि गुमेका छन् । 

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक गोपालमान श्रेष्ठले निर्वाचनमा अन्तर्घातको समस्या देखिएको बताए । अन्तर्घातकै कारण पार्टीले विगतमा एक्लै निर्वाचन जितेका स्थानमा पनि पाँचदलीय गठबन्धन हुँदासमेत परिणाम निकाल्न नसकेको उनले बताए । ‘यो निर्वाचनमा पार्टीभित्रबाटै असहयोग र अन्तर्घात एकदमै देखिएको छ । जसकारण हामीले अपेक्षा गरेभन्दा करिब १५ सिट जित्न सकेनौँ । साथीहरूकै असहयोगले हामीले गुमायौँ,’ उनले नयाँ पत्रिकासँग भने । 

संस्थापन पक्षका नेता श्रेष्ठले गठबन्धनका सहयात्री दलहरूबाट भने बद्मासी नभएको दाबी गरे । ‘कांग्रेसले अधिकतम रूपमा गठबन्धनमा आबद्ध अन्य दललाई सहयोग गरेको छ । अरू दलबाट कांग्रेसले पनि उत्तिकै सहयोग पाएको छ । सबै दलमा भोट ‘गिभ एन्ड टेक’ भएको छ,’ उनले भने ।

रोल्पा (२) बाट उम्मेदवार रहेका इतर समूहका नेता तथा कांग्रेसको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि पार्टीभित्रैबाट ठूलो अन्तर्घात हुँदा आफू पराजित हुनुपरेको बताए । ‘ मुख्य रूपमा पार्टीभित्रैबाट असहयोग रह्यो । संस्थापन पक्षले मलाई भन्दा पनि माओवादीको विद्रोही उम्मेदवारलाई सघायो,’ उनले भने, ‘उहाँहरू मिटिङ र छलफलमा पनि अर्को उम्मेदवारलाई सघाउन लाग्नुभयो । कांग्रेसका साथीहरू चुनावी सभामा पनि भोट माग्नेभन्दा पनि ‘भोट दिए देऊ नदिए नदेऊ’ भनेजसरी प्रस्तुत हुनुभयो । हामी पार्टीमा जुन समूहको भए पनि पार्टी जिताउन लाग्नुपर्छ भनेर लाग्यौँ, तर संस्थापन समूह हराउन लागिपर्‍यो ।’

निर्वाचन परिणामपछि कांग्रेस नेताहरूले औपचारिक–अनौपचारिक रूपमा अन्तघार्तको विषय उठाउन थालेका छन् । 

केही उदाहरण
– एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा कांग्रेस नेता बलबहादुर केसी पराजित बने । नतिजासँगै कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले परिणामबारे तत्कालै समीक्षासहितको विज्ञप्ति जारी गर्दै पार्टीकै नेताहरूको असहयोग र अन्तर्घातका कारण पराजय भोग्नुपरेको बतायो । कांग्रेस जिल्ला सचिवद्वय भलाकानी राई र युवराज घिमिरेले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्य आङगेलु शेर्पा, जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा र सोलु–दूधकुण्ड नगर सभापति सोनाम ग्याल्जेन शेर्पाको असहयोग र अन्तर्घातका कारण पराजित भएको उल्लेख छ । 

‘केन्द्रीय सदस्य आङगेलु शेर्पा, जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा र सोलु–दूधकुण्ड नगर सभापति सोनाम ग्याल्जेन शेर्पासमेतको नेतृत्वमा सघन रूपमा असहयोग र अन्तर्घातका कारण कांग्रेस उम्मेदवार पराजित भएको यथार्थ स्पष्ट भयो,’ विज्ञप्तिमा छ । केसी दुई हजार ७७९ को मतान्तरले पराजित बनेका थिए । उनलाई एमालेका मानवीर राईले १९ हजार ३२४ मत ल्याएर पराजित गरेका थिए । केसीले १६ हजार ५४५ मत पाए । कांग्रेसले आन्तरिक मूल्यांकनमा केसीको नाम निर्वाचित हुने सूचीमा राखेको थियो । 

– काभ्रे २ को नतिजा सार्वजनिक भएलगत्तै कांग्रेसका उम्मेदवार शिव हुमागाईंले पार्टीभित्रको असहयोग र अन्तर्घातकै कारण आफूले पराजय व्यहोर्नुपरेको सार्वजनिक अभिव्यक्ति दिए । स्थानीय तहको नतिजासमेतको आधारमा कांग्रेसले हुमागाईंलाई जित्ने सूचीमा राखेको थियो । हुमागाईं पाँच हजार ८६३ को मतान्तरले एमालेका गोकुल बाँस्कोटासँग पराजित बने । बास्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ४८२ मत पाए । ‘यहाँ लोकतान्त्रिक–वाम गठबन्धनलाई धेरै घेराबन्दी थियो । कांग्रेस पार्टीभित्रबाट पनि पराजित गराउन घेराबन्दी गरिएको थियो र चक्रव्युहमा राखिएको थियो । बाहिरबाट पनि घेराबन्दी गरिएको थियो,’ परिणामलगत्तै धुलिखेलमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा हुमागाईंले भनेका थिए । काभ्रेबाट गठबन्धनका उम्मेदवारले चार प्रदेश सभा र काभ्रे १ मा जित निकाल्दा उनी पराजित बनेका थिए । उनले पार्टीमा अन्तर्घातको समस्याबारे तत्काल मुख नखोल्ने प्रतिक्रिया दिए । ‘निर्वाचनपछि मतदातालाई धन्यवाद दिने अभियानमा छु । कांग्रेसमा अन्तर्घातको समस्या छ । यसबारे पछि आफ्नो कुरा राख्नेछु,’ उनले नयाँ पत्रिकासँग भने । 

– अर्घखाँचीबाट निवर्तमान उपसभामुखसमेत रहेकी पम्फा भुसाल एक हजार ७३० को मतान्तरले एमाले उम्मेदवार टोपबहादुर रायमाझीसँग पराजित बनिन् । रायमाझीले ४२ हजार ६७५ मत पाउँदा भुसालले ४० हजार ९४५ मत पाएकी थिइन् । भुसाल पनि निर्वाचन जित्ने सूचीमा नै थिइन् । परिणामपछि गठबन्धनका जिल्ला तहका नेताहरूको बैठकमा भएको समीक्षामा पार्टीका आन्तरिक समस्याले निर्वाचनमा भुसालले हार खानुपरेको उल्लेख छ । 

– पाँचथरमा सहमहामन्त्री भीष्मराज आङदेम्बे ४७ मात्रको मतान्तरले एमालेका वसन्त नेम्वाङसँग पराजित बने । नेम्वाङले ३२ हजार ११० मत पाउँदा आङदेम्बेले ३२ हजार ६३ मत पाएका थिए । उनी पनि बालुवाटारको चुनाव जित्ने सूचीमा थिए । आङदेम्बे पार्टीको आन्तरिक पंक्तिमा अन्तर्घातका कारण निर्वाचनमा झिनो मतले पराजय भोग्नुपरेको नेताहरू बताउँछन् ।

– प्रदेश १ मा मुख्यमन्त्रीका रूपमा चर्चामा रहेका कांग्रेस नेता गुरुराज घिमिरे मोरङ ४ (क) बाट पराजित भए । उनी चार सय ६ मतान्तरले पराजित बने । परिणामअनुसार १५ हजार ५० मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका जयप्रकाश चौधरीले १५ हजार ४६५ मत पाएका थिए । त्यस्तै, रोल्पा (ख) बाट कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पराजित भए । उनको क्षेत्रमा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन मगरले चुनाव जिते । पुनलाई कांग्रेसबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा हेरिएको थियो । पुन चार हजार ५२१ मतान्तरले पराजित भएका थिए । पुनले १० हजार ४०६ मत पाएका थिए भने र मगरले १४ हजार ९२७ मत पाएका थिए । दुवै नेता आफ्नो पार्टीमा गठबन्धन गर्न नहुने पक्षमा वकालत गर्ने र संस्थापनविरुद्ध सशक्त रूपमा आवाज उठाउनेमा पर्छन् । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि परिणाम अपेक्षित नभएको बताउँछन् । उनी यसबारे जिल्लाबाट अध्ययन भइरहेको र रिपोर्टका आधारका कारबाही गरिने बताए । ‘जित्ने सूचीमा रहेका ठाउँमा थोरै मतान्तरमा पराजित भएको अवस्था छ । यस विषयमा जिल्लाबाट जानकारी लिने काम भइरहेको छ । पार्टी हितविपरीतको गतिविधि भएको पाइएमा विधानमा कारबाहीको स्पष्ट व्यवस्था छ । कारबाही गर्छौँ,’ उनले नयाँ पत्रिकासँग भने । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा पनि अन्तर्घात समस्याका रूपमा आएको कांग्रेसकै प्रतिवेदन थियो । 

सोचेअनुसारको परिणाम नआउनुमा अन्तर्घात नै मुख्य हो


गोपालमान श्रेष्ठ कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति 

पार्टीभित्रैको अन्तर्घातका कारण कतिपय नेताले हार व्यहोर्नुपर्‍यो भन्ने आवाज कांग्रेसमा उठेको छ, यो कत्तिको सत्य हो ? 
निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनेको छ । तर, पहिलो पार्टी बन्दा जति सिट फरक हुनुपथ्र्यो त्यो हुन सकेन । पार्टीभित्रबाटै असहयोग र अन्तर्घात एकदमै देखिएको छ, जसकारण हामीले अपेक्षा गरेभन्दा करिब १५ सिट जित्न सकेनौँ । आफ्नै साथीहरूको असहयोगले गुमायौँ । सरकार बनाउन पनि अब गठबन्धनबाहिरबाट तानतुन पार्नुपर्ने अवस्था बन्यो । कांग्रेसले अधिकतम रूपमा गठबन्धनमा आबद्ध अन्य दललाई सहयोग गरेको छ । अरू दलबाट कांग्रेसले पनि उत्तिकै सहयोग पाएको छ । सबै दलमा भोट ‘गिभ एन्ड टेक’ भएको छ ।

के कारणले भयो अन्तर्घात ?
०७४ मा उजुरी आएकोमा पार्टीले १४औँ महाधिवेशनअघि सबैलाई माफी दियो । कसैलाई पनि कारबाही गरेन । फलस्वरूप पार्टीमा अनुशासनको महŒव रहेन । अन्तर्घात गरेका कतिपय त पुरस्कृत हुने अवस्था पनि आयो । अन्यथा कम्तीमा पनि ७० सिट हामीले जित्ने अवस्था थियो । उम्मेदवार नहुँदा समानुपातिकमा पनि भोट घटेको छ । आफ्नो समूहको नभएको र टिकट नपाएका असन्तुष्टले यस्तो गरेको देखिन्छ । 

कांग्रेसको भोट घट्नुलाई अन्तर्घात मात्रैलाई मान्न सकिन्छ ? 
सोचेअनुसारको परिणाम नआउनुमा अन्तर्घात नै मुख्य हो । अन्तिम समयमा आएर नयाँ पार्टी पनि मैदानमा आए । किन हारियो भन्दा ‘हाम्रै साथीहरू घाम ताप्न गए’ भन्ने जवाफ पनि आएका छन् । निर्वाचन परिणाम सँगसँगै साथीहरूले प्रतिवेदन तयार गर्दै हुनुहुन्छ । निर्वाचन समितिले सातै प्रदेशबाट रिपोर्ट मगाएको छ । प्रदेश १ मा हामीलाई धेरै घाटा देखिएको छ । धेरै साथीले हार्नुभयो । प्रदेश सभामा पनि हामीले जितिरहेका स्थानमा हार व्यहोर्नुपर्‍यो । हामीले जित्दै आएको सुनसरीका तीनमध्ये दुई स्थान हारिसकेका छौँ । रूपन्देहीमा पनि त्यस्तै भयो । यस्तै–यस्तै ठाउँको प्रारम्भिक मूल्यांकन गरेका छौँ । कारण ०७४ को संकटमा एक्लै जितेका क्षेत्र पनि अहिले आन्तरिक कारणले हारेका छौँ । तीन भोटदेखि हारेको अवस्था पनि छ । हारेकाले पनि हाम्रै साथीका कारण हार व्यहोर्नुपर्‍यो भन्नुभएको छ, कतिपयले तथ्य पनि दिनुभएको छ । 

अन्तर्घातमा संलग्नहरूलाई पार्टीले कारबाहीको दायरामा ल्याउँछ कि अघिल्लोपटक जस्तै माफी दिन्छ ?
जिल्लामा यसबारे अध्ययन भइरहेका छन् । प्रतिवेदन मगाएका छौँ । आएपछि अनुशासन समितिमार्फत कारबाही गर्छौँ । कारबाही हुन्छ । 

पार्टीको संस्थापन पक्षले माओवादीका विद्रोहीलाई सघायो

अमरसिंह पुन रोल्पा (ख)बाट पराजित कांग्रेस उम्मेदवार

पराजित हुनुभयो, कमजोरी के भए ?
मुख्य रूपमा पार्टीभित्रैबाट असहयोग रह्यो । संस्थापन पक्षले मलाई भन्दा पनि माओवादीको विद्रोही उम्मेदवारलाई सघायो । उहाँहरू मिटिङ र छलफलमा पनि अर्को उम्मेदवारलाई सघाउन लाग्नुभयो । कांग्रेसका साथीहरू चुनावी सभामा पनि भोट माग्नेभन्दा पनि ‘भोट दिए देऊ नदिए नदेऊ’ भनेजसरी प्रस्तुत हुनुभयो । हामी पार्टीमा जुन समूहको भए पनि पार्टी जिताउन लाग्नुपर्छ भनेर लाग्यौँ, तर संस्थापन समूह हराउन लागिपर्‍यो ।

गठबन्धन दलको सहयोग कस्तो रह्यो ?
यो क्षेत्रमा माओवादीको पकड छ । औपचारिक कार्यक्रममा पूरापूर सहभागी भए । तर, भोट हाल्ने समयमा घात गरे । ‘भोट ट्रान्सफर’मा सहयोग भएन । आन्तरिक रूपमा उहाँहरू पनि हराउने भूमिकामा देखिनुभयो ।

अन्तर्घातको असर समग्र कांग्रेसमा कस्तो पर्ला ?
देशव्यापी पर्छ । पार्टीलाई देशभरबाट ठूलो क्षति पुगेको छ । मैले पार्टीमा गठबन्धन गर्नुहुँदैन भनेर मत राखेको हो । तर, पार्टीको निर्णयपछि कार्यान्वयनमा इमानदार भएर लागेँँ । मलाई व्यक्तिगत रूपमा चुनाव जित्न समस्या थिएन । एमालेका साथीहरूले जिताउने प्रस्ताव ल्याउनुभएको थियो । तर, पार्टीलाई घात गरेर त्यसो गर्न लागिनँ ।