१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १३:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङमा २२ को उम्मेदवारी, १६ जनाको जमानत जफत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा खोटाङका १६ उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभातर्फ १० उम्मेदवारको जमानत जफत भएको हो।

जिल्लामा प्रतिनिधिसभातर्फ आठ तथा दुई प्रदेश सभातर्फ १४ गरी २२ जनाको उम्मेदवारी परेको थियो। त्यसमध्ये ६ जनाले मात्र जमानत जोगाउन सफल भएका छन्। प्रतिनिधिसभा सदस्यको उम्मेदवारले जनही रु. १० हजार र प्रदेश सभा सदस्यको उम्मेदवारले जनही रु. पाँच हजार जमानत (धरौटी) राख्नुपर्ने व्यवस्था छ।

प्रतिनिधिसभातर्फका राप्रपाका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई, स्वतन्त्रका जयन्द्रकुमार राई, जनता समाजवादी पार्टीका डा. कृष्णकुमार राई र मंगाेल नेसनल अर्गनाइजेसनका दीपक मगरको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए।

प्रतिनिधिसभातर्फ कुल ६७ हजार तीन सय ७३ मत खसेकामा ६४ हजार चार सय २२ मत सदर भएको छ। सदर मतका आधारमा जमानत जोगाउन उम्मेदवारले कम्तीमा ६ हजार चार सय ४३ मत ल्याउनुपर्थ्याे । प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं १ नम्बर प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासा’ (विजयी) र नेकपा (एमाले)का पोलिटब्युरो सदस्य विशाल भट्टराई (निकटतम प्रतिस्पर्धी)को मात्र जमानत जोगिएको छ।

यस्तै, आठ उम्मेदवार रहेको प्रदेश सभा (क)मा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)का पदमप्रसाद आचार्य, नेपाल मजदुर किसान पार्टीका केशव राई, जनता समाजवादी पार्टीका राकेश राई, स्वतन्त्र पार्टीका कुमारप्रसाद भट्टराई, स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेल र मंगाेल नेसनल अर्गनाइजेसनका प्रयाग राईको जमानत जफत भएको छ। ३२ हजार तीन सय ९० मत सदर भएको प्रदेश सभा (क)मा उनीहरूले कम्तीमा तीन हजार दुई सय ३९ मत प्राप्त गरेको भए जमानत जफत हुनबाट जोगिन्थ्यो। 

प्रदेश सभा (क)मा एमालेका प्रदेश समिति सदस्य पाँचकर्ण राई ‘पिके’ (विजयी) र नेकपा (एकीकृत समाजवादी)का प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई (निकटतम प्रतिद्वन्द्वी)को मात्र जमानत जोगिएको निर्वाचन कार्यालयले जनाएको छ।

६ जना उम्मेदवार रहेको प्रदेश सभा (ख)मा नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकाल, जनता समाजवादीका प्रेमकुमार राई, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राई र मंगाेल नेसनल अर्गनाइजेसनका विमला राईको जमानत जफत भएको छ। कुल ३५ हजार तीन सय ८१ मत सदर भएको यस क्षेत्रमा जमानत जोगाउन कम्तीमा तीन हजार पाँच सय ३९ मत आवश्यक थियो। प्रदेश सभा २ (ख)मा नेपाली कांग्रेसका भूपेन्द्र राई (विजयी) र एमालेका रामप्रसाद दंगाल (निकटतम प्रतिस्पर्धी)को मात्र जमानत जोगिएको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए।

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा ४७.१८ प्रतिशत मात्र मत खसेको थियो।