१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार १०:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्नपूर्ण केबलकारको समन्वयमा सराङकोटमा मन्दिर बन्ने

६ करोडको लागतमा शिव मन्दिर र पञ्चमुखी गणेश मूर्ति स्थापना गरिने

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार १०:१८:००

पोखराको पर्यटकीयस्थल सराङकोटमा ६ करोड रुपैयाँको लागतमा शिव मन्दिर र पञ्चमुखी गणेश मूर्ति स्थापना गरिने भएको छ । पोखरा–१८, सेदीबगरदेखि सराङकोट जोड्ने गरी निर्माण गरिएको अन्नपूर्ण केबलकारको समन्वयमा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिले शिव मन्दिर र पञ्चमुखी गणेश मूर्ति स्थापना गर्न लागेको हो ।

आउँदो ६ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण गर्न लागिएको मूर्ति निर्माणका लागि अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङको संयोजकत्वमा एक समिति गठन गरिएको छ । श्री राणी सेवा संघ काठमाडौंद्वारा कुलदेवीका रूपमा दुर्गा अवतार त्रिशूलसहित विशेष पूजा गरी निर्माणको काम सुरु गरिएको छ । सराङकोट जाने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले मूर्ति निर्माण गर्न लागिएको गुरुङले जानकारी दिए । ६ करोड रुपैयाँको लागतमा निर्माण हुने मूर्ति ३० फिट अग्लो रहने र भारतमा निर्माण हुने गुरुङले बताए । सराङकोटमा विशाल शिव मन्दिर, भ्यु टावर, बहुउद्देश्यीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।

पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केबलकार १ चैत ०७८ देखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । केबलकारमा नेपाली व्यवसायी कालु गुरुङलगायतको ७५, स्थानीयको १० र वैदेशिक लगानी १५ प्रतिशत रहेको छ । केबलकारमा यात्रा गर्दा थ्रिनट भ्युमार्फत एकैपटकमा फेवाताल, शान्ति स्तूपा, हिमशृंखला, पोखरा बजार, आसपासका हरियाली क्षेत्र, प्राकृतिक सैन्दर्यको दृश्यावलोकनका साथै सूर्योदय र सूर्यास्तको समेत अवलोकन गर्न पाइनेछ । सेदीबगरदेखि सराङकोटसम्मको केबलकारको दूरी २.४ किलोमिटर रहेको छ । केबलकारमा आठजनाले यात्रा गर्न मिल्ने १७ वटा र सामान ओसारपसार गर्ने एक गरी १८ वटा गन्डोला रहेका छन् । केबलकार सञ्चालनमा आएपछि सेदीबगरबाट सातदेखि आठ मिनेटमै सराङकोट पुग्न सकिन्छ ।