मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
प्रेम गौतम काठमाडाैं
२०७९ मङ्सिर १३ मंगलबार ०६:३९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बहुमत पुग्नेमा ढुक्क, ‘पावर सेयरिङ’मा चासो

Read Time : > 3 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ मङ्सिर १३ मंगलबार ०६:३९:००

सत्तागठबन्धन बहुमतनजिक, सैद्धान्तिक रूपमा गठबन्धनकै सरकार बनाउन एकमत भए पनि ‘पावर सेयरिङ’मा शीर्ष नेताहरूको चासो

बालुवाटारमा बाक्लियो भेटघाट

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि चौतर्फी अग्रसरता बढाएका छन् । उनले संसदीय दलको नेता बन्न पार्टीभित्र र प्रधानमन्त्री बन्न सत्ता–साझेदारसँगै अन्य दलका नेतासँगको संवादलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री देउवाले सोमबार माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग चुनावी समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गरेका छन् । गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ । निर्वाचनको सबै परिणाम आइसकेपछि गठबन्धनको औपचारिक बैठक बस्छ र यही गठबन्धन अगाडि बढ्छ,’ उनले भने ।

जित र अग्रतासहित गठबन्धनसँग १३६
दोलखा, बाजुरा र स्याङ्जा २ को मतगणना हुन बाँकी

गठबन्धनका नेता जोसँग संवादमा छन्
बहुमतको सुनिश्चितता गर्न गठबन्धनका शीर्ष नेताले अन्य साना दल र स्वतन्त्रसँग पनि संवाद थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फोन संवाद गरेका छन् । प्रचण्डले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरेका थिए । उनले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पनि छलफल गरेका छन् । त्यस्तै, दुई सिट रहेको प्रभु साहको समूह र स्वतन्त्र जितेका अमरेशकुमार सिंहसँग पनि सत्तागठबन्धनका नेता सम्पर्कमा छन् । 

अहिलेकै सत्तागठबन्धनको सरकार बनाउने गरी शीर्ष नेताहरूले अग्रसरता बढाएका छन् । निर्वाचनको अन्तिम परिणाम कहिलेसम्म आउँछ भन्ने अनिश्चितता कायमै रहे पनि भावी सरकारलाई लिएर दौडधुप र जोडघटाउ सुरु भएको छ । 

स्थिरता र संविधानको नारा लिएर चुनावमा गएको गठबन्धन बहुमतउन्मुख छ । सोमबार रातिसम्मको परिणामअनुसार गठबन्धनका पाँच दलले प्रत्यक्षतर्फ १३३ सिट जितिसकेका छन् । तीन सिटमा कांग्रेसले अग्रता लिइरहेको छ । अहिलेसम्मको समानुपातिक मत केलाउँदा कांग्रेसले ३३ र माओवादीले १५ सिट पाउने देखिन्छ । विवादका कारण तीन क्षेत्रको मतगणना बाँकी नै छ । 

गठबन्धनमा रहेका दलका नेताहरू सैद्धान्तिक रूपमा गठबन्धनकै सरकार बनाउन तयार भए पनि समग्र ‘पावर सेयरिङ’मा उनीहरूको चासो छ । प्रत्यक्ष र समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि चौतर्फी अग्रसरता बढाएका छन् । उनले संसदीय दलको नेता बन्न पार्टीभित्र र प्रधानमन्त्री बन्न सत्ता–साझेदारसँगै बाहिरका दलका नेतासँग पनि संवाद बढाएका छन् । 

प्रधानमन्त्री देउवाले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग चुनावी समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गरेका छन् । गठबन्धनमै रहेका दलहरूको बहुमत सुनिश्चित नभइसकेकाले प्रधानमन्त्री देउवा बाहिरका दलका नेतासँग पनि सम्पर्कमा छन् । 

स्रोतका अनुसार देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग टेलिफोन संवाद गरेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुर राजधानी फर्केपछि छलफल गर्ने तयारी छ । यसअघि प्रचण्डले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरेका थिए । 

यसअघि देउवा र प्रचण्डबीच गत शनिबार छलफल भएको थियो । सत्तागठबन्धनले सुविधानजक बहुमतका लागि जसपा, नागरिक उन्मुक्ति र स्वतन्त्रप्रति पनि नजर लगाएको छ । दुई सिट रहेको प्रभु साह समूह र अमरेशकुमार सिंहसँग पनि गठबन्धनका नेता सम्पर्कमा छन् । 

माओवादी अध्यक्ष प्रचण्डले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग केही दिनअघि छलफल गरेका थिए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले माग पूरा भए सरकारमा जान सक्ने बताइन् । ‘माग पूरा भएपछि जान पनि सकिन्छ । तर, हामीले अहिले केही सोचेका छैनौँ,’ उनले भनिन् ।  

मतगणनाको परिणाम आइसकेपछि निर्वाचनको समग्र समीक्षा गर्ने नेताहरूले बताएका छन् । गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनका अनुसार मतपरिणाम आइसकेपछि गठबन्धनको औपचारिक बैठक बस्नेछ । उनले भने, ‘नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ । निर्वाचनको सबै परिणाम आइसकेपछि गठबन्धनको औपचारिक बैठक बस्छ र यही गठबन्धन अगाडि बढ्छ ।’ 

माओवादी महासचिव देव गुरुङले निर्वाचनको सम्पूर्ण परिणाम आएपछि पार्टीमा समीक्षा हुने र त्यही आधारमा गठबन्धनमा छलफल हुने बताए । ‘निर्वाचन परिणामपछि सुरुमा पार्टीमा समीक्षा हुन्छ । त्यसपछि पार्टी निर्णयका आधारमा पावर सेयरिङसहित सम्पूर्ण विषयमा गठबन्धनमा छलफल हुन्छ,’ उनले भने, ‘सहमति नजुटे मात्र विकल्प सोच्ने हो । गठबन्धनका नेताहरूबीच अहिले अनौपचारिक छलफल जारी छ, सबैै परिणाम आएपछि निर्णायक छलफल हुन्छ ।’

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले छलफल प्रारम्भ भएको बताए । ‘गठबन्धनमा रहेका दलहरूबीच छलफल प्रारम्भ भएको छ । निर्वाचनको सम्पूर्ण परिणाम आएपछि समग्र समीक्षा गरेर अगाडि बढ्छौँ,’ उनले भने । 

कांग्रेस प्रवक्ता महतले पावर सेयरिङमा पनि समस्या नहुने दाबी गरे । ‘हामी गठबन्धन गरेर निर्वाचनमा गएका हौँ । गठबन्धन अगाडि बढ्ने सवालमा पावर सेयरिङले समस्या हुँदैन,’ उनले भने । यद्यपि, पावर सेयरिङबारे छलफल भइनसकेको उनले बताए । 

पावर सेयरिङसहित अघि बढ्ने तयारी नेताहरूको छ । राष्ट्रपति, उपपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखसहित सातै प्रदेशका मुख्यमन्त्रीको विषयमा सहमति गरेर अगाडि बढ्ने तयारी रहेको स्रोतले जनाएको छ । यसअघि सोमबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालसँग उनकै निवास कोटेश्वर पुगेर भेटेका थिए । पौडेलसँगको भेटवार्तापछि नेपाल देउवासँग भेटवार्ता गर्न बालुवाटार गएका थिए ।

संवैधानिक व्यवस्था
संविधानको धारा ७६ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था छ । निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उपधारा (१) मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने उल्लेख छ । हाल कुनै पनि दलले बहुमत ल्याउने अवस्था छैन । उपधारा (२) मा उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । 

उपधारा (३) मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । उपधारा (४) मा प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

उपधारा (५) मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रतिनिधिसभाको कुनै सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । त्यसरी नियुक्त प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । उपधारा (७) मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।