मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ मङ्सिर ११ आइतबार ०५:५४:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

समानुपातिकमा एमाले र कांग्रेसको ६–६ प्रतिशत तथा माओवादी र जसपाको २–२ प्रतिशत मत नयाँ दलतिर

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ मङ्सिर ११ आइतबार ०५:५४:००

शनिबार मध्यरातीसम्मको मतगणनाअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेस र एमालेले ०७४ को तुलनामा कम्तीमा ६–६ प्रतिशत मत गुमाउने देखिएको छ । त्यस्तै, माओवादी र जसपाले दुई–दुई प्रतिशत मत गुमाउने सम्भावना छ । राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदय तथा राप्रपाको पुनरोदयले ठूला दलको समानुपातिक मत कमी आउने देखिएको हो । ठूला दलले गुमाएको मत मूलतः नयाँ दल र राप्रपातिर गएको छ । 

०७४ को निर्वाचनमा पाँच दलले मात्रै थ्रेसहोल्ड कटाउँदा त्यसको अधिकतम फाइदा एमाले, कांग्रेस र माओवादीले लिएका थिए । ०७४ मा समानुपातिकतर्फ कुल सदर मत ९५ लाख ४४ हजार ७७९ परेको थियो । यो मत ४८ दलले पाएका थिए । एमालेले ३१ लाख ७३ हजार ४९४ अर्थात् ३३.२४ प्रतिशत, कांग्रेसले ३१ लाख २८ हजार ३९८ अर्थात् ३२.७७ प्रतिशत, माओवादीले १३ लाख ३ हजार ७२१ अर्थात् १३.६५ प्रतिशत, राजपा (लोसपा)ले चार लाख ७२ हजार २५४ अर्थात् ४.९४ प्रतिशत र संघीय समाजवादी फोरम (जसपा)ले चार लाख ७० हजार २०१ अर्थात् ४.९२ प्रतिशत मत प्राप्त गरेका थिए । 

अहिलेसम्मको मतपरिणाम हेर्दा यो निर्वाचनमा लोसपा थ्रेसहोल्ड कटाउन नसक्ने अवस्था छ । राति १२ बजेसम्मको गणनाअनुसार एमालेले २७.६२ प्रतिशत, कांग्रेसले २६.४१ प्रतिशत, माओवादीले ११.५९ प्रतिशत मत प्राप्त गरेको छ । जसपाले ३.३ प्रतिशत मत प्राप्त गरेको छ । 

अन्तिम गणनासम्म यही अनुपातमा मत प्राप्त गरे एमालेले ५.६२ प्रतिशत, कांग्रेसले ६.३६, माओवादीले २.०६ र जसपाले १.६२ प्रतिशत मत गुमाउने देखिन्छ । अहिले थ्रेसहोल्ड कटाउने अवस्थामा नरहेको लोसपाको ०७४ मा पाएको ४.९४ प्रतिशतमध्ये अहिले ३.६ प्रतिशत मत अन्य दलमा स्थानान्तरण भएको छ । 

प्रमुख दलहरूले गुमाएको मत प्रतिशत नयाँ आएको राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपामा सिफ्ट भएको छ । रास्वपाले ११.१३ प्रतिशत मत पाउने देखिएको छ भने राप्रपाले ५.९ प्रतिशत मतसहित कमब्याक गरेको छ । थ्रेसहोल्ड कटाउने निश्चित नभए पनि मधेसमा सिके राउत नेतृत्वको दल जनमत पार्टीले र थारू बहुल क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले ठूला दलका मत खोसेका छन् । 

मत प्रतिशत स्थानान्तरण भएसँगै यसको असर ठूला दलको समानुपातिक सिटमा पर्ने देखिएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा कुल एक सय १० सिट छ । शनिबार अबेर रातिसम्म दलहरूले प्राप्त गरेको मतको प्रतिशत हेर्दा ०७४ को निर्वाचनमा पाएभन्दा एमाले र कांग्रेसलगायत ठूला दलले कम सिट पाउने देखिएको छ । 

राति १२ बजेसम्म ८१ लाख १० हजार २७० मत गणना भएको छ । त्यसमध्ये एमालेले २२ लाख ४० हजार २५५, कांग्रेसले २१ लाख ४२ हजार ३८७, माओवादीले ९ लाख ४० हजार ११६, राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख तीन हजार ३९, राप्रपाले चार लाख ७८ हजार ४४२ र जसपाको दुई लाख ६७ हजार ९८४ मत पाएका छन् । यसबाहेक अन्य दलले तीन प्रतिशत मत पुर्‍याएका छैनन् ।

०७४ को नतिजा 
०७४ मा समानुपातिकतर्फ ४८ दललाई कुल सदर मत ९५ लाख ४४ हजार ७७९ परेको थियो । थ्रेसहोल्ड कटाएका पाँच दलको कुल सदर मत ८५ लाख ४८ हजार ५९ मा एमालेले ३७.३, कांग्रेसले ३६.४, माओवादीले १५.५ तथा राजपा (लोसपा) र फोरम (जसपा) ले ५.५ प्रतिशत मत पाएका थिए । 

यीबाहेक थ्रेसहोल्ड कटाउन नसकेका ४३ दललाई परेको नौ लाख ९६ हजार ७२० मत अर्थात् १०.४४३ प्रतिशत मत सदरमा गणना नहुँदा कुल सदर मत ८५ लाख ४८ हजार ५९ हुन आएको थियो । यसलाई सय प्रतिशत मानेर पाँच दललाई भाग गर्दा सिट संख्या थपिएको थियो । सदर मत संख्या घट्दा स्वतः पाँच दलको मत प्रतिशत र सिट संख्या बढेको थियो । ४१ सिट पाएको एमालेको मत प्रतिशत बढेर ३७.३ पुगेको थियो । ४० सिट पाएको कांग्रेसको ३६.४ प्रतिशत, १७ सिट पाएको माओवादीको १५.५ प्रतिशत, ६/६ सिट पाएका राजपा र फोरमको ५.५ प्रतिशत मत पुगेको थियो । 

कुल मतदाता एक करोड ५४ लाख २७ हजार ९३८ रहेको ०७४ मा एक करोड ५ लाख ९४ हजार ४४ मत खसेको थियो । १० लाख ४२ हजार ७७७ अर्थात ९.८४ प्रतिशत मत बदर भएको थियो ।