
प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा सत्तागठबन्धनले नराम्रो हार व्यहोरेको छ। प्रतिनिधिसभामा सत्तागठबन्धन शून्य भएको छ।
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। सत्तागठबन्धनको समर्थनमा नेकपा एमालेबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई विश्वकर्माले पराजित गरे।
यस्तै, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल विजयी बने। मतगणनाको सुरुवाती चरणमा पछि परेका पौडेलले अन्तिमतिर आएर राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पराजित गरे।
क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहराले सत्तागठबन्धनका साझा उम्मेदवार तथा बहालवाला गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणलाई पराजित गर्दै अघिल्लोपटक ब्रेक लागेको संसद् छिर्ने बाटो तय गरे।
क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्लाले मित्रवत प्रतिस्पर्धा गरेका सत्तागठबन्धनका उम्मेदवार कांग्रेसका प्रमोदकुमार यादवलाई पराजित गरे। र, क्षेत्र नम्बर ५ बाट एमालेकै बासुदेव घिमिरेले सत्तागठबन्धनका उम्मेदवार भरत शाहलाई पराजित गरे।