
पर्यटकीय नगरी पोखरामा शनिबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता सुरु भएको छ।
प्रतियोगितामा ‘नेपाल आइटिएफ जुनियर्स वर्ल्ड र्याकिङ टेनिस च्याम्पियनसिप ग्रेड–५ सर्किट १-२’ का खेलहरू हुनेछन् । कास्की जिल्ला टेनिस संघको आयोजना एवं नेपाल टेनिस संघको सहयोगमा सुरु प्रतियोगिता २४ मंसिरसम्म चल्नेछ।
पोखरामा पाँचौँपटक आयोजना गरिएको प्रतियोगितामा नेपालसँगै चाइनिज ताइपेई, दक्षिण कोरिया, रसिया, भारत, स्पेन, जर्मनी, जापान, फिलिपिन्स, अमेरिका, श्रीलंका र अस्ट्रेलिया गरी १२ देशका एक सय बढी खेलाडीहरू सहभागी भएकाे आयोजक संघका अध्यक्ष लोक गुरुङले जानकारी दिए।
प्रतियोगिता सञ्चालनका लागि आइटिएफ रेफ्री प्रवीणकुमार पोखरा आएका छन्। प्रतियोगिताका प्राविधिक निर्देशक अजय विष्टका अनुसार प्रतियोगितामा १३ देखि १८ वर्षसम्मका खेलाडीहरू सहभागी छन्।
पोखरा रंगशाला टेनिस कोर्टमा सुरु प्रतियोगितामा सर्किट १ र २ अन्तर्गत ब्वाइज सिंगल्स, गर्ल्स सिंगल्स, ब्वाइज डबल्स र गर्ल्स डबल्स गरी चार विधाका खेलहरू हुनेछन्।
प्रतियोगितामा ब्वाइजतर्फ नेपालबाट आठ, चाइनिज ताइपेईका पाँच, दक्षिण कोरियाका १०, रसियाका एक, भारतका ३१, स्पेनका एक, जर्मनका एक, जापानका तीन तीन, श्रीलंकाका दुई, अस्ट्रेलियाका दुईजना खेलाडीहरू सहभागी छन्।
यस्तै, गर्ल्सतर्फ नेपालका नौ, भारतका ३७, रसियाका एक, श्रीलंकाका एक, अमेरिकाका दुई, दक्षिण कोरियाका ६, ताइपेईका तीन, हङकङका एक, अस्ट्रेलियाका तीन फिलिपिन्सका एकजना खेलाडी सहभागी छन्।
प्राविधिक निर्देशक विष्टका अनुसार प्रतियोगितामा सिंगल्सतर्फका विजेताले ३०, रनरअपले १८ पोइन्ट, सेकेन्ड रनरअपले नौ, क्वाटर फाइनलिस्टले पाँच र फस्ट राउन्ड जित्नेले दुई अंक पाउनेछन्।
डबल्सतर्फ सिंगल्स प्रतियोगितामा पाउने अंकको २५ प्रतिशत अर्थात् बिजेताले सात, रनरअपले ४.५, सेकेन्ड रनरअपले २.२५, क्वाटर फाइनलिस्टले १.२५ अंक पाउनेछन्।
आयोजक संघका कोषाध्यक्ष अनुजकुमार बाँस्तोलाका अनुसार खेलाडीसँगै उनीहरूका एक–एक जना प्रशिक्षकसँगै एक–एकजना अभिभावक गरी तीन सय विदेशी पोखरा आएका छन्।
प्रतियोगिताको कारण पोखराको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने भनाइ उनको छ। प्रतियोगिताबाट करिब २० लाख आम्दानी र १५ लाख खर्च हुने अनुमान गरिएको बाँस्तोलाले जानकारी दिए।