Skip This
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल निर्वाचित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Saturday, 27 July, 2024
२o७९ मङ्सिर १० शनिबार o५:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल निर्वाचित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार o५:४५:oo

लामो रस्साकस्सी पछि अन्तत: रुपन्देही क्षेत्र नम्बर २ को निर्वाचन परिणाम नेकपा एमालेको पक्षमा आएको छ । मनोनयन दर्तासंगै चर्चामा आएको रुपन्देही क्षेत्र नं २ निर्वाचनपछि झनै सबैको चाँसोको बिषय बनेको थियो । सत्ता गठबन्धनबाट समाजवादी पार्टीका राजु गुरुङको उमेदवारी खारेजीमा परेसंगै गठबन्धनले जनमुक्ती पार्टीलाई सर्मथन गर्ने निर्णय गरेको थियो।

अन्य पार्टी भन्दा जनमुक्ती पार्टीको मत संख्या उल्लेख्य रहेको र रुपन्देही क्षैत्र नं २ मा सर्मथन गर्दा  क्षेत्र नं ३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पनि सहज हुने आशामा सर्मथन गरिएको थियो । 

नेपाल मजदुर किसान पार्टीलाई सर्मथन गर्ने चर्चा चलिरहँदा जनमुक्ती पार्टीलाई सत्ता गठबन्धनले समर्थन गर्ने निर्णय भएसंगै गठबन्धनमा आबद्ध जनमोर्चाले असहमती जनाउँदै गठबन्धनको निर्णयको बिपक्षमा उभिएको थियो । अर्का उम्मेदवार निकोलश भुसालको उम्मेदवारी पनि अदालतले खारेज गरेसंगै रुपन्देही २ मा राम्रो उम्मेदवारको अभाव देखिएको थियो ।

तर सबैको आंकलनलाई आश्चर्यमा पार्दै स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले मत पाउन थाले । सबैले उनको बारेमा जानकारी लिन लागे । मत गणना भन्दा पहिले राम्रो परिचय पनि नबनेका पौडेल मतगणनासंगै सबैको चाँसोको बिषय बने । एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई टक्कर दिने गरि मत आउन थालेसंगै उनको चर्चा सुरु भयो ।

विष्णु पौडेललाई अन्तिम अवस्थासम्म पनि कडा टक्कर दिएका गणेश पौडेलले २५ हजार ७ सय ८२ मत प्राप्त गरे  भने एमालेका  पौडेलले २७ हजार १ सय ४७ मत ल्याएर विजयी भए । एमाले उमेदवार पौडेलले १ हजार ३ सय ६६ मतले विजयी भए ।   सत्ता गठबन्धनको समर्थनका उम्मेदवार केशव बहादुर थापा (सुर्यवंशी) ले २२ हजार १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कुल १ लाख २६ हजार ८०७ मतदाता रहेको यस क्षेत्रमा ८१ हजार २०२ मत खसेको थियो। पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलको संसदीय यात्रा यो पाँचौ पटक हो। २०५१ सालमा पहिलोपटक पाल्पाबाट निर्वाचित भएका पौडेल २०६४, २०७० र २०७४ सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । २०५६ सालको निर्वाचनमा भने पौडेल रुपन्देहीबाटै पराजित भएका थिए।