मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ८ बिहीबार १८:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेका विशाल भट्टराईलाई हराउँदै माओवादीका पासाङ विजयी

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १८:१७:००

प्रतिनिधिसभा सदस्यमा खोटाङबाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ विजयी भएका छन्। 

पोलिटब्युरो सदस्य एवं प्रदेश १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीसमेत रहेका पासाङ निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं निवर्तमान संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पछाडि पार्दै मन्त्री पासाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। 

प्रतिनिधिसभा सदस्यका लागि ६७ हजार ३७३ मत खसेकामा गठबन्धनका साझा उम्मेदवार मन्त्री पासाङले ३१ हजार ३५१ मत प्राप्त गरेर विजयी हुँदा एमालेका भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका छन्। जम्मा खसेको मतमध्ये दुई हजार ९८६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

साकेला गाउँपालिका–२ रतन्छामा २०२५ वैशाख–१४ गते जन्मिएका पासाङले २०४१ सालबाट राजनीति सुरु गरेका थिए। २०४९ सालबाट भूमिगत राजनीतिमा क्रियाशील भएर २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सभासद बनेका पासाङ २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा (ख)बाट निर्वाचित भएका थिए। 

तत्कालीन नेकपा (माले)को विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिक यात्रा सुरु गर्नुभएका पासाङ खम्बुवान राष्ट्रिय मुक्ति मोर्चामा २०४९ देखि ०५८ सालसम्म क्रियाशील रहेका थिए। २०६० सालबाट खम्बुवान माओवादीसँग एकीकरण भएपछि पासाङले माओवादीमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। 

भूमिगत अवस्थामा खोटाङको साप्सुखोलामा नेपाली सेनासँग भएको दोहोरो भिडन्तमा सेनाको गोली लागेर घाइतेसमेत भएका पासाङ जिल्लामा निष्ठावान् तथा भ्रष्टाचारविरोधी नेताका रूपमा परिचित छन्। 

भर्खरै ढलानको काम सकिएको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोसी नदीको निर्माणाधीन मोटरेबल पक्की पुल पासाङकै पालामा योजना परेको हो। मन्त्री पासाङसँग पराजित एमालेका उम्मेदवार भट्टराई २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा प्रतिनिधिसभामा निर्वाचित भएका थिए। 

यस्तै, प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू जनता समाजवादी पार्टी (जसपा)का डा. कृष्णकुमार राईले एक हजार ९१४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठले एक हजार ७६१, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १४०, मंगोल नेसनल अर्गनाइजेसन पार्टीका दीपक मगरले १३१, आमूल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९ मत प्राप्त गरेका छन्। एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ मत अर्थात् ४७ दशमलव १८ प्रतिशत मत खसेको थियो।