मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १७ शनिबार
  • Saturday, 03 December, 2022
अनिल यादव काठमाडाैं
२०७९ मङ्सिर ७ बुधबार ०५:४४:००
Read Time : > 10 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘ट्रान्सफर’ भएनन् मत

Read Time : > 10 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ मङ्सिर ७ बुधबार ०५:४४:००

सत्तारूढ दलहरू कांग्रेस नेतृत्वमा र विपक्षी दलहरू एमाले नेतृत्वमा गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका थिए, तर प्रारम्भिक परिणाम र जारी गणनाले दुवै गठबन्धनभित्र गडबड भएको देखिन्छ, नेताहरूको अपेक्षाअनुसार मत ‘ट्रान्सफर’ भएन

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरू कांग्रेस नेतृत्वमा र विपक्षी दलहरू एमाले नेतृत्वमा गठबन्धन मैदानमा उत्रिएका थिए । तर, अहिलेसम्मको मतपरिणाम र जारी गणनाले दुवै गठबन्धनभित्र गडबड भएको प्रष्ट संकेत गरेको छ । गठबन्धनभित्रकै दलहरूका मत एक–अर्कामा ‘ट्रान्सफर’ नभएको देखिएको छ । 

सत्तागठबन्धनमा कांग्रेसका मत माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चामा अपेक्षाकृत ‘ट्रान्सफर’ भएका छैनन् । त्यस्तै, विपक्षी गठबन्धनमा एमालेका मत राप्रपालगायतका दलमा ‘ट्रान्सफर’ कम भएको देखिन्छ । गठबन्धनप्रति असन्तुष्ट दुवै दलका कार्यकर्ता र परम्परागत मतदाताले नयाँ दलका र स्वतन्त्र उम्मेदवारलाई मत दिएको अनुमान लगाउन सकिन्छ । 

सत्तागठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र लोसपा छन् । केही ठाउँमा जनमुक्ति र स्वतन्त्र उम्मेदवारलाई पनि सत्तागठबन्धनको समर्थन छ । यो गठबन्धनका तर्फबाट कांग्रेसले ९१, माओवादीले ४६, एकीकृत समाजवादीले २०, जनमोर्चाले दुई, लोसपाले सात, स्वतन्त्र दुई (घनश्याम भुसाल र प्रभु साह) र जनमुक्तिले एक सिटमा उम्मेदवारी दिएको थियो । 

एमाले नेतृत्वको विपक्षी गठबन्धनमा जसपा, राप्रपा, राप्रपा नेपाल, परिवार दल, जनता प्रगतिशील पार्टी, कांग्रेस बिपी, स्वतन्त्र समावेश छन् । एमालेले १४१ सिटमा आफूले उम्मेदवार उठाएर जसपालाई १७ र राप्रपालाई तीन क्षेत्रमा सघाएको छ । राप्रपा नेपालका कमल थापालाई एमालेको चुनाव चिह्न दिएको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक उम्मेदवार बनाएको छ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, कांग्रेस बिपीका कर्ण मल्ल, कांग्रेसका बागी दिनेश कोइरालालाई पनि एमालेले सघाएको छ ।

अपेक्षाकृत मत ‘ट्रान्सफर’ नभएको विषयलाई लिएर दलका नेताहरूको मिश्रित प्रतिक्रिया छ । कांग्रेस नेता डा. मीनेन्द्र रिजालले भोट ट्रान्सफर भएन नै भन्न नसकिने बरु सानो भोट भएको ठाउँमा ठूलो भोट सार्न गाह्रो भएको बताए । ‘भोट ट्रान्सफर हुँदा र नहुँदा १३ सिटको अन्तर पर्छ भन्ने आकलन गरेको थिएँ । सुरुदेखि नै मलाई ‘भोट ट्रान्सफर’ हुनेमा आशंका थियो । मैले भोट ट्रान्सफर भएन भनेर मानिरहेको छैन । ठूलो भोट सानोमा सार्न कठिन भएको हो । यसमा इमानदारिता नभएको विषय नै होइन । गठबन्धनमा कांग्रेसबाहेकका दलको बेस सानो छ,’ रिजालले भने, ‘धेरै मत भएको ठाउँमा थोरै लगेर थप्न सकिन्छ, तर थोरै भएको ठाउँमा धेरै भोट लगेर थप्न सकिँदैन । गठबन्धन गर्दा पनि जहाँ कांग्रेसको उम्मेदवार छैनन्, त्यहाँ नयाँ पार्टीले मत काटेको देखिन्छ । केहीबाहेक ठूला बेस भएका कांग्रेस र एमालेको उम्मेदवार भएको स्थानमा नयाँ दलले मत काटेको देखिँदैन । झापाको विषय फरक भयो । त्यहाँ राप्रपा र एमालेको सीधासीधा एलाइन्स भएको छ ।’

रिजालले गठबन्धनभन्दा तालमेल गरेको भए राम्रो हुने विश्लेषण गरे । ‘सिद्धान्त, विचारभन्दा सानो भोट भएको ठाउँमा ठूलो भोट सार्न गाह्रो भयो । ठूलो भोट भएकोमा सानो भोट सार्न गाह्रो भएन । कांग्रेसका उम्मेदवार नभएका स्थानमा भोट ट्रान्सफर मात्र नभएको होइन समानुपातिकमा कांग्रेसलाई मत पनि नगएको देखिन्छ । त्यो त अनुमान मात्रै हो । समानुपातिकको पनि परिणाम आएपछि थाहा हुन्छ,’ रिजालको बुझाइ छ, ‘अहिले गठबन्धन नभएर तालमेल हुनुपथ्र्यो । हरेक क्षेत्रमा फोर्स गरेर एक मात्र उम्मेदवार नबनाएर जहाँ अर्को पार्टीको जित्ने बलियो सम्भावना छ त्यहाँ अर्कोले उम्मेदवार नठाउने तथा ठाउँ र परिस्थितिअनुसार उम्मेदवार उठाउने अवस्थामा भएको भए निर्वाचनपछि पनि काम गर्न गठबन्धनलाई सहज हुन्थ्यो । यसको परिणामको विषयमा अहिले नै भनिहाल्ने स्थिति छैन ।’

एमाले नेता विष्णु रिजालले जनताले कांग्रेस र माओवादीको गठबन्धन नरुचाएको देखिएको बताए । ‘हामीले अपेक्षा गरेका ठाउँमा अग्रता लिइरहेका छौँ । सबै स्थानको मतगणना भइसकेको छैन । सबै क्षेत्रको मतगणनाका आधारमा मात्रै यसबारे भन्न सकिन्छ । अहिले नै यसबारे भन्न हतार हुन्छ । अहिलेकै नतिजाका आधारमा कतिपय स्थानमा सत्तागठबन्धन एमालेसँगको प्रतिस्पर्धामा नै छैन । नयाँ दल र एमालेबीच प्रतिस्पर्धा छ । यो नतिजाबाट प्रारम्भिक रूपमा जनताले कांग्रेस र माओवादीको गठबन्धन नरुचाएको देखिन्छ । हामीलाई एक्लै निर्वाचन लड्दा गठबन्धन चुनौती नभएर नयाँ–नयाँ दल चुनौतीका रूपमा आएको संकेत गर्छ । जनताको असन्तुष्टिको व्यवस्थित गर्ने सन्दर्भमा दलहरूले सोच्नुपर्ने अवस्थालाई यसले प्रतिबिम्बित गर्छ ।’

माओवादी नेता गणेश शाहले अहिलेको निर्वाचनले केन्द्रले निर्णय गर्दैमा पहिलेजस्तो कार्यकर्तास्तरबाट स्वीकार हुँदैन भन्ने देखाएको र गठबन्धनमा भोट ट्रान्सफर नभएको स्पष्ट देखिएको बताए । ‘गठबन्धनमा भोट ट्रान्सफर नभएको स्पष्ट नै देखियो । प्रारम्भिक मतगणनाले गठबन्धन गर्दा केन्द्रले निर्णय गर्दैमा पहिलेजस्तो कार्यकर्तास्तरबाट स्वीकार हुँदैन भन्ने देखायो, अर्को कुरा पार्टीको आन्तरिक कारणले पनि यस्तो हुन गएको अनुमान लगाउन सकिन्छ । स्थापित राजनीतिक दलहरूले जनताको असन्तुष्टिको राजनीतिक समाधान नदिने र स्वतन्त्र र उदीयमान दललाई ‘अन्डर स्टिमेट’ गर्दा पनि यो अवस्था आयो,’ उनले भने, ‘यसबाट आगामी दिनमा उम्मेदवार कसरी छनोट गर्ने भन्ने विषयको अधिकार केन्द्रबाट नभई तल्लो तहमा नै दिनुपर्छ भन्ने सबक सिकाएको छ । साथै, पुरानै अनुहारको विकल्प दिन नसक्नु पनि दलहरूको कमजोरी रह्यो । गठबन्धन गर्दा दलका भ्रातृ र शुभेच्छुक संस्था पनि सक्रिय रूपमा लागेको देखिएन । उम्मेदवारमा पनि गठबन्धनको भोट छ भन्ने ‘ओभर कन्फिडेन्स’ सबै रूपमा भन्नुपर्दा धेरै कारणले गठबन्धन प्रत्युत्पादक भयो ।’ 

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले अहिले नै सबै भन्न नसकिने, तर गठबन्धन पूर्ण रूपमा भएन कि भन्ने प्रश्न उठेको बताए । ‘मतगणना अति प्रारम्भिक भएको हुनाले यसैलाई आधार मान्न त मिल्दैन, तर सामान्यतया अनुमान लगाउन सकिने अवस्था छ । धेरै मत गन्न बाँकी नै छ । गठबन्धन पूर्ण रूपमा भएन कि ? अथवा गठबन्धनभित्र राजनीतिक दलहरूको आ–आफ्नो दलहरूको अन्तर्विरोधले काम गर्‍यो कि भन्ने समीक्षा गर्दै छौँ । अहिले नै पछिको विषयमा भन्न हतार हुन्छ,’ खतिवडाले भने । 

लोसपा नेता सुरेन्द्र झाले गठबन्धन अस्वाभाविक हुँदा भोट ट्रान्सफर हुन नसकेको बताए । ‘वास्तवमा गठबन्धन राजनीतिक सिद्धान्त र दर्शनमा आधारित थिएन । विचार नमिल्ने एकदमै विपरीत ध्रुवका राजनीतिक दलबीच बनेको अस्वाभाविक गठबन्धन थियो, जसलाई पार्टीभित्रकै नेता कार्यकर्ताले रुचाएका थिएनन् । गत पाँच वर्षमा जसरी दुईतिहाइको सरकारका पार्टी क्षतविक्षत भए, मधेसकेन्द्रित दल टुटफुट भए, कांग्रेसले जसरी सरकारको नेतृत्व गर्‍यो, न्यायालय जसरी यसमा मुछियो, भ्रष्टाचारका काण्ड जसरी बाहिर आए, यो सबै जनतामा ठूलो नैराश्यता पैदा भएको थियो,’ उनले भने, ‘माथि दलीय गठबन्धन बने पनि पार्टीभित्रकै नेता–कार्यकर्तालाई चित्त बुझेको थिएन, त्यसैले मतदाताले स्वतन्त्र ढंगले आफूलाई जहाँ मन लाग्यो त्यहीँ मत हालेको देखिन्छ । नागरिकलाई विश्वासमा लिएर जनस्तरमा लामो बहस गरेर राजनीतिक दर्शन मिल्नेसँग गठबन्धन निर्माण भएको भए भोट ट्रान्सफर हुने सम्भावना बढ्थ्यो । तर, शीर्ष नेताले त्यसो गर्नुको साटो जबर्जस्ती आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुकमा आफ्नो निर्णय लाद्न खोज्दा यो परिणाम आएको हो । दलहरूको अलोकतान्त्रिक हिसाबले निर्णय गरेर कार्यकर्तालाई लाद्ने पद्धतिविरुद्धको विद्रोह पनि हो अहिले देखिएको परिणाम ।’

झाले गठबन्धनले लोसपालाई मात्रै होइन, कांग्रेसबाहेका अरू पनि दललाई असर पुर्‍याएको बताए । ‘खासगरी जहाँ–जहाँ कांग्रेसका उम्मेदवार थिए, त्यहाँ–त्यहाँ उनीहरूले जित्ने या लिड गरेको अवस्था देखिन्छ, तर गठबन्धनका अन्य दलले भने कांग्रेसको भोट ट्रान्सफर भएको देखिँदैन । यो राजनीतिक बेइमानी हो । जसको मुख्य दोषी शीर्ष नेता नै हुन् । खासमा हामीले अस्वाभाविक गठबन्धन गर्नै हुँदैनथ्यो, गठबन्धन गरे पनि मधेसकेन्द्रित दलहरूबीच नै गनुपथ्र्यो,’ उनले भने । 

विपक्षी गठबन्धनमा रहेको जसपा नेता मनीष सुमनले अहिलेसम्म मत ‘ट्रान्सफर’ सन्तोषजनक नै रहेको प्रतिक्रिया दिए । ‘मतगणना नसकी केही भनिहाल्ने अवस्था छैन । तर, मतदाताको प्रारम्भिक रुझान हेर्दा एमाले र जसपाको गठबन्धन रहेको स्थानमा ‘भोट ट्रान्सफर’ सन्तोषजनक नै छ । एमालेले हामीलाई घात गरेको देखिँदैन । कतिपय स्थानमा मतगणना नै सुरु भइनसकेकाले अहिले नै यसबारे टिप्पणी गर्नु हतार हुन्छ,’ उनले भने ।

काठमाडौं ३ मा सत्तागठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सन्तोष चालिसे विजयी भएका छन् । उनले १४ हजार १५८ मत र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मत पाएका छन् । वडागत मतपरिणामअनुसार गत स्थानीय तह निर्वाचनमा कुल मतका आधारमा कांग्रेस अगाडि छ । कांग्रेसले १५ हजार ७९५ मत ल्याएको छ । यस्तै, एमालेले १४ हजार ८७६ मत ल्याएको छ । माओवादीको मत एक हजार ७३० छ । 

काठमाडौं ४ मा कांग्रेसका गगन थापाले जित हासिल गरेका छन् । थापाले २१ हजार ३०२ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन् । स्थानीय तह निर्वाचनको वडाध्यक्षतर्फको मतपरिणामअनुसार सत्तागठबन्धन दलले १८ हजार ९२१ मत (कांग्रेस १५ हजार ७६३, माओवादी ७४४, एकीकृत समाजवादी दुई हजार ४१४) र एमालेले १६ हजार ५०७ मत पाएको थियो ।

काठमाडौं ५  मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले १५ हजार २३७ मत ल्याएर एमालेका उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका छन् । पोखरेलले १० हजार १७२ मत पाएका थिए । स्थानीय तहमा एमालेका वडाध्यक्षले १९ हजार ७३० तथा सत्तारूढ गठबन्धनका वडाध्यक्षले १७ हजार ८४८ मत प्राप्त गरेका थिए । वडाध्यक्षहरूको कुल मतपरिणाममा गठबन्धनभन्दा एमाले एक हजार ८४८ मत अगाडि देखिन्छ ।

काठमाडौं १० मा गठबन्धन छैन ।  यस क्षेत्रमा कांग्रेसका राजेन्द्रकुमार केसीले अग्रता बनाइरहेका छन् । मंगलबार मध्यरातसम्मको मतपरिणाम अनुसार केसीले ९९५० मत सहित अग्रता कायम गरेका छन् ।

एमालेका हिमेश केसी  ६६७१ मतका साथ प्रतिस्पर्धामा छन् । तेस्रो नम्बरमा राप्रपाका बलराम थापाले ५३६१ मत पाएका छन् । चौथोमा  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टल ५१८१ र पाँचौँ नम्बरमा माओवादीकी अञ्जना विशंखे २९६७ मतका साथ प्रतिस्पर्धामा छन् । स्थानीय तह निर्वाचनको परिणामअनुसार यस क्षेत्रमा  कांग्रेसले २३ हजार ४९५ मत, एमालेले १८ हजार ५७१ मत र चार हजार ६७२ मत पाएको देखिन्छ ।

भक्तपुर १ मा एमालेका नवराज गेलालले ७९७८ मत पाएर अग्रता लिइरहेका छन् । मंगलबार मध्यरमतसम्म जारी मतगणनाको परिणामअनुसार  अघिल्लो निर्वाचन जितेका नेमकिपाका प्रेम सुवाल ६१९५ मतका साथ प्रतिस्पर्धामा छन् । तेस्रो नम्बरमा राप्रपाका भरतबहादुर खड्काले ५९७१ मत र चौथो नम्बरमा सत्तागठबन्धनका उम्मेदवार माओवादीका सुनील गोठेले २८०५ मत पाएका छन् ।  यो क्षेत्र नेमकिपाको गढ मानिन्छ । 

स्थानीय तहमा नेमकिपाले ३३ हजार ८९५ मत ल्याएको थियो । एमालेले १४ हजार ११९ मत ल्याउँदा कांग्रेसले भने १३ हजार १३ मत र राप्रपाले ६ हजार २८६ मत ल्याएको थियो । माओवादीले भने जम्मा १ हजार ३८८ मत प्राप्त गरेको थियो । एमाले, कांग्रेस, माओवादी एकै ठाउँमा उभिँदा पनि नेमकिपाजति मत ल्याउन सकेको देखिँदैन ।

भक्तपुर  २ मा कांग्रेसका दुर्लभ थापा क्षेत्री  र एमालेका महेश बस्नेत प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा मंगलबार मध्यरातसम्मको परिणामअनुसार थापाले १८२६१ मतसहित अग्रता बनाएका छन् भने बस्नेत १७४२३ मतसहित प्रतिस्पर्धामा छन् । स्थानीय तह निर्वाचन कांग्रेसका वडाध्यक्षले १४ हजार १९२ मत ल्याएका थिए भने एमालेका वडाध्यक्षहरूको नौ हजार ७७२ मत पाएका थिए ।

ललितपुर १ मा सत्तागठबन्धनबाट कांग्रेसका उम्मेदवार उदयशमशेर जबराले जीत हासिल गरेका छन् । मध्यरात सम्पन्न मतगणनामा उनले प्रतिस्पर्धामा रहेका एमाले उम्मेद्वार नवराज सिलवाललाई पराजित गरेका हुन् । 

यो क्षेत्रका स्थानीय तह निर्वाचनमा वडाध्यक्ष उम्मेदवारले पाएको मतअनुसार सत्तागठबन्धन दलको मत बलियो छ । यस क्षेत्रमा गठबन्धन दलले २८ हजार ६२७ मत पाएको थियो । मतपरिणामअनुसार कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २३ हजार ७३६ मत पाएका थिए । माओवादीका उम्मेदवारले चार हजार ८९१  पाएका थिए । त्यस्तै, एमाले वडाध्यक्ष उम्मेदवारले १९ हजार ८८ मत पाएका थिए । 

ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जनले जित हासिल गरेका छन् । उनले हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई पराजित गरेका थिए । मतपरिणामअनुसार महर्जनले १५ हजार २५ मत पाएका थिए भने शाक्यले आठ हजार ८८६ कत पाएर पराजित भए । त्यस्तै, तेस्रो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार  बुद्धरत्न महर्जनले आठ हजार ६६६ मत र गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका कृष्णलाल महर्जनले आठ हजार २६४ मत चौथो नम्बरमा मत पाएका छन् ।  

स्थानीय निर्वाचनमा सत्तागठबन्धनले ३० हजार २६५ मत पाएको थियो । मतपरिणामअनुसार कांग्रेसले २१ हजार ८१९, एमालेले १६ हजार २३७, माओवादीले पाँच हजार ८८६ र समाजवादीले दुई हजार ५६० मत पाएका थिए । एमालेले १६ हजार २३७ मत पाएको थियो । 

गत स्थानीय तहमा वडाध्यक्षले पाएको मत परिणामअनुसार कैलाली ३ मा कांग्रेस सबैभन्दा अगाडि देखिन्थ्यो । उसले एक्लै यहाँ १९ हजार ९९२ मत ल्याएको थियो । त्यसमा माओवादीको ११ हजार ७१६ र एकीकृत समाजवादीको वडाध्यक्षको १ हजार ९७८ मत जोड्दा सत्तागठबन्धनको कुल मत ३३ हजार ६८६ पुग्छ । एमालेले भने यहाँ ११ हजार २५७ ल्याएको थियो । तर, यसपटक यो क्षेत्रबाट पश्चिममा नयाँ शक्तिमा उदाइरहेको नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन् । जब कि स्थानीय तहमा उन्मुक्ति पार्टीको मत ५ हजार २४७ मात्रै थियो । गंगारामले २३ हजार १२० मत ल्याएर ५ हजार ३७१ को मतान्तरसहित सत्तागठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीलाई हराएका हुन् । एमालेका उम्मेदवार गौरीशंकर चौधरीले भने यहाँ ९ हजार ८७४ मत मात्रै ल्याए । जब कि ०७४ को संसदीय निर्वाचनमा गौरीशंकर माओवादीका तर्फबाट २४ हजार ८७९ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिवेला उनीसँग कांग्रेसका रामजनम चौधरी २० हजार ४९४ मतसहित पराजित भएका थिए । यसपटक मतदाताको रुझान थारू आन्दोलनबाट जन्मिएको नागरिक उन्मुक्तितर्फ जाँदा सत्तागठबन्धनको मत ट्रान्सफर हुन नसकेको हो ।

इलाम १ मा ०५६ बाहेकका सबै चुनावमा एमालेबाट निर्वाचित भएका झलनाथ खनाल यसपटक एकीकृत समाजवादीबाट सत्तागठबन्धनका उम्मेदवार छन् । स्थानीय चुनावमा वडाध्यक्षहरूले पाएको मत हेर्दा यसपटक पनि उनी बलिया देखिन्थे । कांग्रेसको २५ हजार ७७२, समाजवादीको ९ हजार ४८१ र माओवादीको १ हजार २३५ सत्ता जोड्दा गठबन्धनको कुल मत ३८ हजार ३१७ पुग्छ । 

तर, जारी मतगणनामा २६ हजार २३३ मत मात्रै रहेको एमालेका उम्मेदवार महेश बस्नेतले २ हजारभन्दा बढी मतान्तरले पछाडि पारेका छन् । गठबन्धनभित्रकै अन्य दलहरूको मत ट्रान्सफर हुन नसक्दा यहाँ उनकै सहकर्मी बस्नेतले जित्ने सम्भावना बढेको छ । मंगलबार मध्यरातसम्मको मतगणनामा यहाँ बस्नेतको १० हजार २८७ मत हुँदा खनालको ८ हजार ७८० छ ।

०७४ मा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १६ हजार २२८ मतान्तरसहित कांग्रेसका गोविन्दराज पोखरेललाई हराएकी थिइन् । तर, यसपटक सत्तागठबन्धनबाट प्युठानमा उम्मेदवार रहेकी उनलाई एमालेका उम्मेदवार सूर्य थापाले तीन हजारभन्दा बढी मतले पछाडि पारिरहेका छन् । स्थानीय तहको वडाध्यक्षको मतअनुसार यहाँ सत्तागठबन्धनको मत ५० हजार ८०२ छ भने एमालेको ३९ हजार ८७७ छ । जसअनुसार एमालेभन्दा सत्तागठबन्धन ११ हजार मतले अगाडि देखिन्छ । तर, गठबन्धनका अन्य दलको भोट ट्रान्सफर हुन नसक्दा यहाँ एमालेका थापाले उनलाई पछाडि पारिरहेका छन् । सोमबार मध्यरातसम्म १२ बजेसम्मको मतगणना अपडेटमा थापाको मत ११ हजार ६९१ हुँदा पौडेलको मत ९ हजार ४४५ छ । 

मत ट्रान्सफर नभएका बलिया उदाहरण

. काठमाडौं २ मा स्थानीय निर्वाचनको मतअनुसार सत्तागठबन्धन २५ हजार १७१ सहित पहिलो थियो । तर, प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धनका साझा उम्मेदवार माओवादी नेतृ ओनसरी घर्ती राति १२ बजेसम्मको गणनाअनुसार ६ हजार १६४ मतसहित चौथो स्थानमा छिन् । स्थानीय निर्वाचनमा १७ हजार ३२८ मत पाएको एमालेका उम्मेदवार मणिराम फुयाँल सात हजार ३८७ मतसहित दोस्रो स्थानमा छन् । यस क्षेत्रमा स्वतन्त्र पार्टीकी सोविता गौतम ९ हजार ६३७ मतसहित पहिलो र राप्रपाकी कुन्तीदेवी पोखरेल ६ हजार ७६९ मतसहित तेस्रो स्थानमा छिन् ।

२. काठमाडौं ६ मा प्रारम्भिक मतगणनामा सत्तागठबन्धनका उम्मेदवार कांग्रेस नेता भीमसेनदास प्रधान चार हजार ३७६ मतसहित तेस्रो स्थानमा छन् । जब कि स्थानीय निर्वाचनमा गठबन्धन १६ हजार ३४३ मतसहित पहिलो स्थानमा थियो । स्थानीय निर्वाचनमा १४ हजार ३०३ मत पाएको एमालेका तर्फबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल चार हजार ४०५ मतसहित दोस्रो स्थानमा छन् । यस क्षेत्रमा सात हजार २१६ मतसहित स्वतन्त्र पार्टीका शिशिर खनाल पहिलो स्थानमा छन् । 

३. जनमोर्चाको आफ्नै पनि सम्मानजनक जनाधार रहेको प्युठानमा गठबन्धनको तर्फबाट दुर्गा पौडेल उम्मेदवार छिन् । ५० हजार ८०२ मत पाएर स्थानीय निर्वाचनमा सत्ता गठबन्धन पहिलो शक्ति बने पनि प्रतिनिधिसभा निर्वाचनमा मंगलबार रातिसम्मको मतगणनामा पौडेल एमालेका उम्मेदवार सूर्य थापाभन्दा पछाडि छन् । स्थानीय निर्वाचनमा ३९ हजार ८७७ मत पाएको थियो । 

४. स्थानीय निर्वाचनको परिणामअनुसार इलाम १ मा सत्तागठबन्धनको मत एमालेभन्दा झन्डै १२ हजार बढी थियो । यो क्षेत्रमा मंगलबार मध्यरातिसम्मको नतिजामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका झलनाथ खनाल आठ हजार ७८० मतसहित दोस्रो स्थानमा छन् । एमालेका उम्मेदवार महेश बस्नेत १० हजार २८७ मतसहित पहिलो स्थानमा छन् ।

. स्थानीय निर्वाचनको परिणामअनुसार सप्तरी २ मा सत्तागठबन्धनको ३३ हजार १८४ र एमाले–जसपा गठबन्धनको २० हजार ३५४ मत थियो । तर, प्रतिनिधिसभा निर्वाचनमा यी दुवै गठबन्धनका उम्मेदवार भन्दा जनमत पार्टीका उम्मेदवार सिके राउत धेरै मतान्तरले अगाडि छन् । जनमतका अध्यक्ष राउतले २२ हजार २६० मत पाउँदा सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले चार हजार ५६५ र जसपाका अध्यक्ष उपेन्द्र यादवले ११ हजार ३२३ मत पाएका छन् । 

६. सत्तागठबन्धनबाट लोसपाका अध्यक्ष महन्थ ठाकुर र एमाले–जसपा गठबन्धनबाट हरिनारायण यादव उम्मेदवार रहेको महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरको अग्रता छ । जब कि स्थानीय निर्वाचनमा यो क्षेत्रमा सत्ता गठबन्धनले २९ हजार ५४३ र एमाले–जसपा गठबन्धनले २५ हजार १७७ मत पाएका थिए । मंगलबार रातिसम्मको मतगणनामा कापरले ३३ सय ७६, ठाकुरले १९ सय ३२ र यादवले १७ सय ११ मत पाएका छन् । ठाकुरले ०७४ मा यही क्षेत्रबाट जितेका थिए ।

७. वैशाखमा भएको स्थानीय निर्वाचनमा पाँच हजार २४७ मात्र मत ल्याएको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी कैलाली ३ को प्रतिनिधिसभा निर्वाचनमा २३ हजार १२० मत ल्याएर पाँच हजार ३७१ को मतान्तरसहित विजयी भए । सत्ता गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ७४९ र एमालेका उम्मेदवार नौ हजार ८७४ मत पाएका छन् । स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले ३३ हजार ३८६ र एमालेले  ११ हजार २५७ मत पाएको थियो ।

एउटा मात्र होइन धेरै कारण छन् : चन्द्रकिशोर, विश्लेषक
स्थानीय तहमा पनि गठबन्धन भएको थियो । त्यो गठबन्धनले पनि सफलता हासिल गर्‍यो र केही सीमितता पनि देखा पर्‍यो । त्यतिवेलाका गठबन्धनका धेरै सबल पक्ष पनि थिए, केही रिक्तता पनि थिए । त्यसवेला मैत्रीपूर्ण प्रतिस्पर्धा भनियो, त्यसमा सीमितता पहिल्यै तय भयो । दोस्रो, यो निर्वाचनमा मत घटेको छ, त्यसको मूल फ्याक्टर भनेको कुनै एक निर्वाचन क्षेत्रमा गठबन्धनमा रहेका एक दलबाहेक अरू दलले उम्मेदवारी दिने अवस्था रहेन । जसकारण ती दलका शुभेच्छुक निराश भए । त्यही कारण कतिपय सहरमा रहेका निर्वाचनमा घर नै गएनन् । त्यसले पनि गठबन्धनकै मत घट्यो । 

तेस्रो, त्यहाँ जो व्यक्ति उम्मेदवार छन्, तिनको गठबन्धनका अरू दलसँग कस्तो सम्बन्ध छ भन्नेले पनि मत ट्रान्सफरमा भूमिका खेल्यो । कतिपय ठाउँमा मत ट्रान्सफर पनि भएको छ, कतिपय स्थानमा हुन सकेको छैन । यो निर्वाचनमा ‘कास्ट फ्याक्टर’ले पनि काम गरेको थियो । एउटा गठबन्धनमा एउटा जातिको उम्मेदवार रहँदा र अर्को गठबन्धनमा आफ्नो जातिको उम्मेदवार रहँदा त्यसरी पनि भोट हालियो । अर्को पैसा खर्च गर्नेले विभिन्न पार्टीका मतदाताको मत किने । मूलतः यिनै कारणले गठबन्धन जति सशक्त हुनुपर्ने थियो, त्यो हुन सकेन । 

खासमा नयाँ शक्ति आउँदैमा ‘भोट ट्रान्सफर’ रोकिनुपर्ने होइन । नयाँ आएकाहरू मौजुदा शक्तिभन्दा कति प्रगतिशील छन् भन्ने मुख्य प्रश्न हो । रवि लामिछाने नेतृत्वको पार्टीलगायत अहिले उदाइरहेका नयाँ शक्तिहरू संघीयताबारे प्रस्ट छैनन्, आलोचना गरिरहेका छन् । आफूलाई नयाँ शक्तिका रूपमा प्रस्तुत गरिरहेको पार्टीसँग स्पष्ट राजनीतिक रोडम्याप देखिएको छैन । आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त गर्न खोजेजस्तो देखिन्छ । चुनाव भनेको केवल चटक होइन, यसको दीर्घकालीन प्रभाव हुन्छ ।