१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:३८:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चार वर्षदेखि अलपत्र चक्रपथ विस्तार : दोस्रो खण्डको काम अझै एक वर्ष धकेलिने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३८:oo

कलंकी–चाबहिल धोबीखोला खण्ड विस्तार गर्ने सहमति भए पनि वसुन्धरासम्म मात्रै विस्तार गरिने

चार वर्षदेखि अलपत्र काठमाडौं चक्रपथ विस्तारको दोस्रो खण्डको निर्माण अझै एक वर्ष पर धकेलिने भएको छ । चक्रपथ विस्तारको जिम्मा लिएको चिनियाँ कम्पनीले सन् २०२४ जनवरीबाट मात्रै दोस्रो खण्ड विस्तारको काम सुरु गर्ने जानकारी दिएको छ । चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका एकजना विशेष प्रतिनिधि अनौपचारिक रूपमा चक्रपथ विस्तार आयोजनाको अध्ययन गर्न गत साता नेपाल आएका थिए । सोही प्रतिनिधिले आयोजना प्रमुख मेघराज मरासनीसँगको भेटवार्तामा यस्तो बताएको आयोजनाका सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए । उनका अनुसार आयोजनाको डिजाइन बनाउन पनि अझै एक वर्ष समय लाग्नेछ ।

‘चीनबाट आउनुभएका प्रतिनिधिसँग अघिल्लो शुक्रबार अनौपचारिक भेटवार्ता भएको थियो । त्यस क्रममा उहाँले जनवरी २०२४ देखि मात्रै काम सुरु गर्न सकिने बताउनुभएको छ । साथै, डिजाइन बनाउन पनि अझै एक वर्ष लाग्ने बताउनुभएको छ,’ उनले भने, ‘सम्भवतः अब एक वर्षमा डिजाइन बनाउनेलगायतका प्रक्रिया पूरा गरेर आयोजना निर्माणको काम सुरु गर्ने चीनको योजना होला ।’ दोस्रो खण्डको डिजाइन कुन मोडलमा बनाउने भन्ने विषयमा चीन र नेपालबीच थप सम्झौता गर्ने तयारी रहेको उनको भनाइ छ ।  

चिनियाँ अनुदानमा काठमाडौं चक्रपथ विस्तार गर्ने द्विपक्षीय सम्झौता यसअघि नै भइसकेको छ । सोहीअनुसार चीनले पहिलो चरणमा चक्रपथको कोटेश्वर–सातदोवाटो–एकान्तकुना–कलंकीखण्डको विस्तार कार्य ०७५ मै सम्पन्न गरिसकेको छ । त्यसलगत्तै दोस्रो खण्ड विस्तार गर्न ०७५ मै नेपाल र चीनबीच सम्झौता भएको थियो । तर, सम्झौता भएको चार वर्ष बित्दा पनि त्यसको कार्यान्वयन अलपत्र अवस्थामा छ । चार वर्षसम्म चीनले त्यससम्बन्धी डिपिआर (डिजाइन)समेत बनाउन सकेको छैन ।  यद्यपि, अब औपचारिक रूपमा चक्रपथ विस्तारको थप काम बढाउने चिनियाँ प्रतिनिधिले आश्वासन दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताए ।  ‘चिनियाँ प्रतिनिधिसँग मन्त्रालयमा कुनै पनि भेटवार्ता भएको त छैन । उहाँले आयोजना कार्यालयमा अनौपचारिक भेटवार्ता गर्नुभएको जानकारी आएको छ,’ उनले भने ।

चक्रपथ विस्तारका मुख्य घटनाक्रम 

- ३ पुस ०६९ (१८ डिसेम्बर २०१२) : पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तार गर्न नेपाल–चीन सम्झौता 
- २ चैत ०६९ (१५ मार्च २०१३) : पहिलो खण्ड विस्तारको काम सुरु 
- ४ माघ ०७४ (१७ जनवरी २०१८) : दोस्रो खण्ड (कलंकी–धोबीखेला) विस्तार गर्न नेपाल–चीन सम्झौता 
- असार ०७५ (जुलाई १०१८) : पहिलो खण्ड विस्तारको काम सम्पन्न 
- मंसिर ०७८ (डिसेम्बर २०२१) : चिनियाँ प्राविधिक टोलीद्वारा आयोजनास्थल अनुगमन 
- कात्तिक ०७९ (नोभेम्बर २०२२) : एक चिनियाँ विशेष प्रतिनिधिको अनौपचारिक अध्ययन 

यस्तो छ इतिहास

चीनकै अनुदानमा १९७७ मा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । अहिले चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको विस्तार गर्न आयोजना अघि बढाएको हो । त्यसका लागि नेपाल र चीनबीच सहमित भएको थियो । चक्रपथमा बीचमा चार लेनको मुख्य सडक र दायाँ–बायाँ २–२ लेनको सडक बनाउने योजना छ । समग्रमा चक्रपथको चौडाइ ६२ मिटर बनाउने योजना छ । त्यसमा आठ लेनको सडक बनाउँदा ५० मिटर जग्गा प्रयोग हुनेछ । त्यसबाहेक दायाँ–बायाँ ६–६ मिटरको सर्भिस ट्र्याक भने नेपालले बनाउनेछ । तर, महराजगन्ज चोकको करिब दुई सय ४४ मिटर सडकखण्डमा ३० मिटर मात्रै कायम गरिएको छ । त्यहीँ रहेका १९ वटा निजी संरचना र जग्गा पूरै अधिग्रहण गर्नुपर्नेछ । स्वयम्भूको चैत्य भने नभत्काउन सहमति भइसकेको छ । यसअघि कलंकीदेखि–धोबीखोलासम्मको ११.६ किलोमिटर विस्तारको लक्ष्य लिए पनि पछि नारायणगोपाल चोकसम्म विस्तार गर्ने र बाँकी क्षेत्र तेस्रो खण्डमा निर्माण गर्ने बताइएको थियो । तर, अहिले आएर नारायणगोपाल चोकसम्मको खण्ड पनि विस्तार नहुने पक्का भएको छ । उक्त चोकभन्दा दुई सय ४४ मिटर पछि रहेको वसुन्धरासम्मको खण्ड मात्रै विस्तार गरिनेछ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि सरकारले एक अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो आयोजना बनाउन ६ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान छ । तर, आयोजनाको डिजाइन बनेपछि मात्रै यसबारे टुंगो लाग्नेछ ।  

नारायणगोपाल चोकसम्म पनि सडक विस्तार नहुने
साइट क्लियरेन्स नभएको भन्दै चीनले दोस्रो चरणमा कलंकी–वसुन्धराखण्ड (८.४ किलोमिटर) मात्रै विस्तार गर्ने भएको छ । दोस्रो चरणमा कलंकी–धोबीखोलाखण्ड (११.६ किलोमिटर)लाई विस्तार गर्ने नेपाल र चीनबीच सहमति भएको थियो । तर, नारायणगोपाल चोकदेखि धोबीखोलासम्म साइट क्लियरेन्स हुन सकेको छैन । उक्त ठाउँमा अझै मुआब्जा विवाद छ । त्यसपछि नारायणगोपाल चोकभन्दा दुई सय मिटर पछाडिसम्म मात्रै चक्रपथ विस्तारको काम हुने सडक विभागका एक उच्च अधिकारीले बताए । दोस्रो चरणको निर्माण कार्य सुरु गर्न ढिलाइ भएपछि सडक विभागले केही समयअघि चीनलाई औपचारिक इमेल पठाएको थियो । त्यसको रिप्लाई गर्दै चीनले हाल आयोजना निर्माणबारे आन्तरिक तयारी भइरहेको जवाफ पठाएको छ । साथै, शीघ्र रूपमा औपचारिक भेटवार्ता गर्ने जवाफसमेत चीनबाट आएको विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए । 

यस्तो हुन्छ अबको प्रक्रिया 
चीनले आयोजनाको डिपिआर (डिजाइन) पेस गरेपछि नेपालले स्वीकृति गर्नुपर्ने हुन्छ । त्यसपछि चीनले नै उक्त आयोजना निर्माण गर्न टेन्डर आह्वन गर्नेछ । उक्त टेन्डरमा छनोट हुने कम्पनीले नै आयोजना बनाउनेछ । त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी भने नेपाल सरकार, सडक विभागले नै पाउनेछ । 

सम्भवतः दोस्रो खण्डको निर्माण गर्ने ठेक्का पनि पहिलो खण्ड बनाउने चिनियाँ सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले पाउन सक्ने बताइएको छ । उक्त कम्पनीले पहिलो खण्ड निर्माण गर्दा प्रयोग गरेका उपकरणहरू नेपालमै छ । दोस्रो खण्डको विस्तार गर्ने उद्देश्यअनुसार नै कम्पनीले उक्त उपकरणहरू यहीँ राखेको बताइएको छ ।

अन्य खण्डको विस्तार भने अन्योलमा 
यसबाहेक चक्रपथको अन्य खण्डको निर्माण भने अझै अन्योल अवस्थामै छ । उक्त खण्डहरू कहिले र कुन मोडलमा बनाउने अझै टुंगोसमेत लागेको छैन । नारायणगोपाल चोकमा रहेको मुआब्जा विवाद अझै कायम छ । नारायणगोपाल चोकदेखि धोबीखोलाखण्डको साइट क्लियरेन्स अझै हुन सकेको छैन । धोबीखोलादेखि तिलगंगासम्म खण्डको विस्तारबारे भने अझै अध्ययन भएको छैन । तिलगंगादेखि कोटेश्वरखण्डको विस्तारबारे काठमाडौं डिभिजनले दुई वर्षअघि नै अध्ययन गरेको थियो । उक्त अध्ययनले आयोजना निर्माणमा बढी लगानी लाग्ने देखाएपछि तत्काल उक्त खण्ड विस्तार नगर्ने मनसायमा सरकार पुगेको छ । 

ad
ad