मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १७ शनिबार
  • Saturday, 03 December, 2022
२०७९ मङ्सिर ४ आइतबार ०९:३२:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

पृथ्वीले थेग्न सक्छ आठ अर्ब जनसंख्या

Read Time : > 3 मिनेट
२०७९ मङ्सिर ४ आइतबार ०९:३२:००

अहिले जनसंख्या बढेर पृथ्वीले थामिनसक्नु हुने र घटेर धराशयी हुने दुवै धारणा यथार्थपरक छैनन्

संयुक्त राष्ट्रसंघका अनुसार नोभेम्बर १५ बाट पृथ्वीको जनसंख्या आठ अर्ब पुगेको छ । यसलाई एकथरी मानिसले खतराको घन्टी मानेका छन् । जनसंख्या वृद्धिलाई केहीले लामो समयदेखि आम भोकमरीसँग जोड्ने गरेका छन् । पृथ्वीको जनसंख्या बढी भएको भन्दै अब उनीहरूले आफ्नो भविष्यवाणीमा वातावरणीय विपत्ति जोड्नेछन् । तर, अर्का खाले मानिसचाहिँ ठिक उल्टो कुरा गर्दै छन् । ‘न्यून जन्मदरको कारण जनसंख्या घराशयी हुँदै छ र यो मानव सभ्यताका लागि विश्वतापमानभन्दा धेरै ठूलो जोखिम हो,’ चिफ ट्विइट शीर्षकमा इलोन मस्कले ट्विइट गरेका छन् । वास्तवमा, गत दशकमा जनसंख्यामा आएको परिवर्तनलाई हेर्दा आपसमा विरोधाभाषी यी कुनै पनि भविष्यवाणी सही सावित हुने देखिँदैन । 

विश्वको जनसंख्या ६ अर्बबाट बढेर सात अर्ब पुग्न १२ (सन् १९९८ देखि २०१०) वर्ष लाग्यो । त्यसपछि, अर्काे एक अर्ब थपिएर आठ अर्ब पुग्न पनि उत्तिकै समय लागेको छ । जनसंख्या वृद्धिलाई विपत्तीकरणको पृष्ठभूमिमा, वृद्धिका पछाडिका कारणहरू सम्झनलायक छन् । दीर्घायु, पोषण तथा जनस्वास्थ्यमा सुधार, मातृशिशु मुत्युदरमा आएको ह्रास जनसंख्या वृद्धिका प्रमुख कारण हुन् । विश्वको जनसंख्याको वृद्धि कोभिड– १९ महामारीमा समेत जारी रह्यो । महामारीको अवधिमा जनसंख्या एक करोड ६० लाखदेखि दुई करोड ८० लाखले बढेको द इकोनोमिस्टको आकलन छ । यो संख्या यस अवधिमा भएका मृत्युको २० प्रतिशत हाराहारी हो । त्यसैले विश्व जनसंख्या धराशयी हुन थालेको कुनै प्रमाण भेटिँदैन । अहिलेको प्रवृत्तिलाई हेर्ने हो भने विश्वको जनसंख्या सन् २०३७ सम्ममा नौ अर्ब पुग्ने र सन् २०८०–२१०० बीचमा १० अर्ब ४० करोडको उच्चतम बिन्दुमा पुग्नेछ ।

यसैगरी जनसंख्या घटेर न्यून हुने सम्भावना पनि चिन्तायोग्य देखिँदैन । जनसंख्याको विश्वव्यापी वृद्धिदर दु्रत गतिमा घटिरहेको छ र पनि नियमित रुपमा अर्बका हिसाबले वृद्धि भइरहेको छ । सन् १९६३ मा जनसंख्या २.३ प्रतिशतले बढेको थियो । सन् २०२२ मा केवल ०.८ प्रतिशतले मात्रै बढ्ने देखिएको छ । यो दर सन् १९५० यताकै न्यून वृद्धिदर हो ।

जनसंख्या निरन्तर बढ्दै जाँदा वृद्धिदरचाहिँ कसरी घट्न सक्छ ? स्थिरता र गतिले ठूलो अर्थ राख्छ । सन् १९९० र २०००को दशक तुलनात्मक रूपले तीव्र जनसंख्या वृद्धिका दशक थिए । त्यतिखेर जन्मिएका बच्चा अहिले प्रजनन गर्ने उमेरमा पुगेका छन् । सन् १९८७ मा १८–४९ वर्ष उमेरका वयस्कको संख्या दुई अर्ब २० करोड थियो । अहिले यो समूहको जनसंख्या तीन अर्ब ६० करोड छ । तर, प्रजनन गर्ने सम्भावित आमाबाबुको संख्या निकै ठूलो देखिए पनि उनीहरूमा धेरै सन्तान जन्माउने प्रवृत्ति छैन । एक महिलाले आफ्नो जीवनकालमा कति बच्चा जन्माउँछिन् भनी मापन गर्ने कुल प्रजनन दर सन् १९९० मा ३.३ प्रतिशतबाट घटेर अहिले २.३ मा झरेको छ । जुन जनसंख्या स्थिर रहने २.१ प्रतिशतको प्रतिस्थापन दरभन्दा थोरै मात्र बढी हो । जनसंख्या बढ्दै गए पनि यो वृद्धि अनियन्त्रित छैन । तर, यो विश्वव्यापी वृद्धिको औसतमा ठूलो क्षेत्रीय असमानता छिपेको छ । 

विश्वमा सन् २०२२ र २०५० बीच हुने जनसंख्या वृद्धिको आधा हिस्सा केवल आठ मुलुककै हुनेछ । तीमध्ये पाँच राष्ट्र अफ्रिकी (कंगो, इजिप्ट, इथोपिया, नाइजेरिया र तान्जानिया) हुन् । अन्य तीन एसियाका (भारत, पाकिस्तान र फिलिपिन्स) देश छन् । आगामी वर्ष जनसंख्यामा भारतले चीनलाई उछिन्नेछ । अफ्रिकाले यसै वर्ष युरोप र उत्तर अमेरिकाको संयुक्त जनसंख्यालाई उछिन्दै छ । अफ्रिकाको जनसंख्या सन् १९८० मा यी मुलुकको एकतिहाइ मात्रै थियो । यसका वातावरणीय र सामाजिक दुवैखाले प्रभाव हुनेछन् ।

पहिले वातावरणीय प्रभावबाट सुरुवात गरौँ । भारत र अफ्रिकाका मानिस अमेरिका, युरोप र चीनका मानिसले भन्दा निकै कम प्रदूषण गर्छन् । संयुक्त राष्ट्रसंघका अनुसार विपन्न र न्यून मध्यम आय भएका मुलुक विश्वको कार्बन उत्सर्जनको केवल सात भागको एक भागका लागि मात्रै जिम्मेवार छन् । आगामी दशकको ९० प्रतिशत जनसंख्या वृद्धि यिनै कम प्रदूषणकारी मुलुकबाट हँुदै छ । जनसंख्या वृद्धिले कहिलेकाहीँ वातावरणीय दबाबलाई निकै खराब बनाउँछ जसको उदाहरणका लागि खडेरीग्रस्त सोमालियालाई लिन सकिन्छ । तर, विश्वतापमानमा जनसंख्या वृद्धिले बढ्दो जीवनस्तरले जति धेरै योगदान गरेको प्रमाण पाइएको छैन ।

वृद्ध बन्दै गएको समाजबारे पनि यही कुरा औँल्याउन सकिन्छ । विश्वका दुईतिहाइ मानिस ती देशमा बस्छन्, जहाँको जनसंख्या स्थिर वा घट्दो  क्रममा छ । र, तिनको कुल प्रजनन दर प्रतिस्थापन दरभन्दा कम छ । 

६१ धनी देशमा सन् २०५० सम्ममा अहिलेको भन्दा एक वा बढी प्रतिशतले जनसंख्या घट्ने आनुमान छ । संकुचन हँुदै गएका समाजले निश्चय नै पनि सामाजिक समस्या सामना गर्नुपर्ने हुन्छ । उनीहरूसँग अनुपातिक रूपमा ठूलो आकारको निवृत्त जनसंख्यालाई पाल्न पुग्ने जनसंख्या हुँदैन । यसको अर्थ उच्च कर र वृद्धवृद्धाका निम्ति गरिने खर्चमा कटौती हुनेछ ।

घट्दो जनसंख्या सभ्यताका लागि खतरा हो कि होइन भन्ने पनि स्पष्ट छैन । आशावादी अनुमानअनुसार जर्मनीजस्ता धनी देशको जनसंख्या सन् २१०० मा सन् १९५० को तहमा पुग्न सक्छ (न्यून प्रजनन दरमा परिवर्तन नभएको अवस्थामा) । 

त्यो तुलनात्मक रूपले निकै ठूलो परिवर्तन हो, तर त्यो विनाशकारी नै हुनेछ भन्न पनि सकिँदैन । बढ्दो उत्पादकत्वको कारण आगामी आठ दशकमा सेवानिभृत्तको संख्या बढी भए पनि तिनलाई काम गर्ने उमेर समूहका थोरै संख्याका मानिसले पाल्न सक्छन् । जस्तो कि, आजभन्दा ८० वर्षपहिले सन् १९४२ मा भन्दा अहिले खेती वा स्टिल उत्पादनका लागि थोरै मानिस भए पुग्छ । 

तर, यति भन्दाभन्दै पनि अहिले विश्वले वातावरणीय ह्रास र राजनीतिक उथलपुथलजस्ता ठूला समस्याको समाना गरिरहेको तथ्यलाई इन्कार गरिएको होइन । यद्यपि, आठ अर्बको संख्याले जनसांख्यिकीय विपत्तिलाई संकेत गर्दैन । बरु, जनसंख्याको आकार पृथ्वीको क्षमताअनुकूल नै रहेको संकेत गर्छ । द इकोनोमिस्टबाट