१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ३ शनिबार
  • Saturday, 10 May, 2025
२o७९ मङ्सिर ३ शनिबार १३:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पाका दुई केन्द्र : मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म महिला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ३ शनिबार १३:५५:oo

हिमाली जिल्ला डोल्पाका ६८ मतदान केन्द्रमध्ये दुई वटा मतदान केन्द्रको नेतृत्व महिलाले गरेका छन्। त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने त्रिपुरा मावि काटियाचौर मतदान केन्द्र र ठुलीभेरी नगरपालिका– ३ मा पर्ने सरस्वती मावि मतदान केन्द्र महिला कर्मचारीले नेतृत्व गरेका छन्।

यी मतदान केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म महिला खटाइएको छ। त्रिपुरा मावि मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा सम्झना महतारा र सहायक मतदान अधिकृतको रुपमा मायादेवी शाही खटिएकी छन्। बलिसरा बिक, सुनिता ठकुल्ला, भाग्यादेवी रोकाया, सन्ध्या आचार्य, शान्ति महतारा, निमा साङ्मो रोकायलगायतका कर्मचारी यस मतदान केन्द्रमा खटिएका छन्। यहाँ खटिएका म्यादी र नेपाल प्रहरीहरु पनि अधिकांश महिला छन्।

निर्वाचनको पूर्व तयारी गर्न केही समस्या भएपनि मतदानस्थल निर्माणलगायतका सम्पूर्ण काम गरिएको मतदान अधिकृत सम्झना महताराले बताइन्। ‘पुरुषसरह महिलाले पनि काम गर्न सक्छन्, त्यो विगतका निर्वाचनले पनि देखाएको छ। तर, झैंझगडा भयो भने चाहिँ केही समस्या हुनसक्छ,’ उनले भनिन्। उनका अनुसार यस मतदान केन्द्रमा दूधे बच्चा भएका चार जना महिला कर्मचारीसमेत रहेका छन्।

यता सरस्वती मावि, दुनै मतदान केन्द्रमा पनि मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी पनि महिला खटाइएको छ। मतदान अधिकृतको रुपमा सुजिता श्रेष्ठ र सहायक मतदान अधिकृतको रुपमा संगीता कार्की खटिएकी छन्।

त्यसैगरी तुलसाकुमारी रावत, सुमित्रा धराला, टीका थापा, उर्मिला रोकाय, निसा बुढा र विजु बुढा खटिएका छन्। महिलाहरु मात्र हुँदा काम गर्न कुनै असहजता महसुस नभएको मतदान अधिकृत सुजिता श्रेष्ठले बताइन्।

मतदान केन्द्रहरु समावेशी र महिलामैत्री बनाऔं भन्ने हिसाबले दुईवटा मतदान केन्द्रमा महिला मात्र खटाएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए। ‘हाम्रो समाजमा महिलालाई कार्यसम्पादनका हिसाबले कमजोर ठान्ने गरिन्छ। जिम्मेवारी पाएको ठाउँमा पुरुषभन्दा महिलाले अझ राम्रो काम गर्नसक्छन्,’ उनले भने।