2022-11-17-03-56-48.jpeg)
चुनावी प्रचारमा हिँडेका महिला कमै देखिन्छन्, मधेसमा । तर, सर्लाहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ अन्तर्गतको प्रदेश सभा (ख) की उम्मेदवार महिन्द्र साह तेलीका लागि मत माग्न महिलाको टोली गाउँ–गाउँ पुगिरहेको छ ।
महिला मात्र होइन आधा दर्जन तेस्रोलिंगी पनि उनको घरदैलो कार्यक्रममा देखिन्छन् । उनीहरू प्रदेश सभा उम्मेदवार महेन्द्र अर्थात् ‘राधा मौसी’का लागि मत मागिरहेका छन् ।
आगामी निर्वाचनमा देशभरमा ६ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये फरक पहिचान र एजेन्डासहित प्रतिस्पर्धामा उत्रिएकी पारलैंगिक उम्मेदवार हुन् उनी । समाजसेवासँगै आफ्नो समुदायको हितका लागि आफू चुनावी मैदानमा उत्रिएको उनी बताउँछिन् ।
आफ्नो पक्षमा महिला सहभागिताबारे उनी भन्छिन्, ‘मैले उनीहरूको बच्चालाई आशीर्वाद दिएको छु, खेलाएको छु । त्यो आशिषको गुन तिर्न पनि महिलाले मलाई जिताउँछन् । महिलासँगै मेरो कुरा मिल्छ ।’
मैथिली, भोजपुरी, बज्जिका, अवधि वा हिन्दी भाषामा मौसी भनेको सानिमा (आमाका दिदी–बहिनी) भन्ने बुझिन्छ । राधा मौसीलाई नचिन्ने निकै कम छन् यस क्षेत्रमा ।
प्रदेश सभाका सदस्यका लागि उनको यो दोस्राे लडाइँ हो । यसअघि उनले मलंगवा नगरपालिकाको मेयरका लागि पनि उम्मेदवारी दिएकी थिइन् । पछिल्लोपटक ०७९ को स्थानीय तह निर्वाचनमा समेत मेयरमा उम्मेदवारी दिने तयारी गरे पनि मतदाता नामावलीमा नाम छुट्दा उनले प्रतिस्पर्धा गर्न पाइनन् ।
उनी आत्मविश्वासका साथ भन्छिन्, ‘मैले कसैलाई त्यस्तो व्यवहार गरेको छैन जसले म हारूँ । मैले सबैलाई सधैँ आशीर्वाद दिएँ । मलाई राजनीति गर्ने हक नभएको होइन ।’
आफ्ना जजमान (जसले घरमा शुभकार्य हुँदा बोलाउँछन्, आशीर्वाद लिन्छन् र केही दान गरेर पठाउँछन्) घरैपिच्छे भएकाले उनीहरूले मत दिने उनको विश्वास छ ।
उनले थपिन्, ‘हाम्रो समुदायको पनि हक हो । त्यो अधिकार हामीले पाउनुपर्छ । सडकमा हिँड्दा मौगमेहरा, छक्का भन्छन् । हाम्रो हेला हुनुभएन । हामी पनि तपाईंहरूजस्तै, तपाईंहरूकै पेटबाट निस्किएका हौँ । हाम्रो हिस्सा, हाम्रो नाम हामीले पाउनुपर्छ ।’
जनप्रतिनिधि बन्ने तेस्रो प्रयास
एक त समाजसेवा, अर्को यसअघि पनि दुईपटक निर्वाचनमा उम्मेदवारी दिएकीले पनि उनलाई धेरैले चिन्दछन् । जिल्लामा कुल मतदाता चार लाख १३ हजार एक सय ७४ छन् । जसमध्ये आठजना तेस्रोलिंगी हुन् ।
उनलाई राजनीतिको चस्काले छोएको ०७४ सालमा हो । उनले पहिलोपटक मलंगवा नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार उनले नाै सय ३२ मत ल्याएकी थिइन् ।
तर, त्यो हारले उनी रोकिइनन् । लगत्तै आएको संसदीय निर्वाचनमा पनि उनले उम्मेदवारी दिइन् । यसपटकझैँ प्रदेश सभामा क्षेत्र नम्बर २ (ख) बाट उनले उम्मेदवारी दिएकी हुन् । उनी दुई सय सय ९३ मतसहित पाँचौँ स्थानमा रहिन् ।
‘मेरो २५ लाख भारु पर्ने गाडी त्यो वेला मध्यरातमा मेरै घरअगाडि जलाइयो । मैले प्रहरीमा पनि निवेदन दिएँ, तर केही सुनुवाइ भएन,’ उनले आफ्नो निर्वाचन अनुभव साट्दै भनिन्, ‘यसपटकको मेयरमा उम्मेदवारी दिन चाहेको थिएँ । तर, मेरो मतदाता नामावली हरिपूर्वा पुर्याइदिएछन् । सधैँ मलंगवा वडा नं. ९ मा रहेको नाम कसरी हरिपूर्वा– ६ मा पुग्यो ? मलाई उठ्न नदिन, मेरो लोकप्रियताको इर्ष्याले प्रतिद्वन्द्वी दलहरूले कर्मचारीलाई प्रयोग गरे ।’
दुवै निर्वाचनमा उनको लिंग जनाउ गर्ने स्थानमा ‘पुरुष’ लेखिएको छ । यद्यपि, यसपटक भने आयोगले त्यस स्थानमा ‘अन्य’ लेखेको छ । उनी दुवै निर्वाचनमा स्वतन्त्र उठेकी थिइन् । यसपटक उनलाई नेपाल जनता पार्टीले क्षेत्र नं. २(ख) बाट सहजै टिकट दियो ।
तीनै तहको सरकार प्रमुखमा पुगेकाहरूले यो ठाउँको विकास नगरेको भन्दै आफूले यो क्षेत्रको नेतृत्व गर्न पाए जनताले विकासको मुख देख्न पाउने उनको भनाइ छ । ‘मलाई यहाँको दुर्दशाले राजनीतिमा आउन प्रेरित गरेको हो । राजनीति निकै खराब हो । तर, मलंगवा र सिंगो सर्लाहीको दुरावस्थाले म यस्तो ठाउँमा पुगौँ कि यो क्षेत्रको विकासमा योगदान गरौँ भन्ने लाग्यो,’ राधा मौसीले भनिन् ।
आफूले मत माग्न घरदैलो कार्यक्रममा जाँदा कहिल्यै घृणाको सामना गर्नु नपरेको उनी बताउँछिन् । जन्मेको घर र ठाउँबाहेक सधैँ आफूले सम्मान पाएको उनको भनाइ छ ।
तर, उनका लागि मत माग्नेहरूले भने कहिलेकाहीँ तीतो अनुभव गर्नुपर्छ । राधा मौसीका लागि मत माग्न जाँदा आफूहरूको लैंगिकतामाथि मानिसहरूले प्रश्न गर्ने गरेको एक महिला कार्यकर्ता बताउँछिन् ।
‘हामी दिनभर उहाँको प्रचारमा खट्छौँ । हामीलाई उहाँले परेको वेला सहयोग गर्नुभयो, हाम्रो छोरीहरूको बिहेमा खर्च दिनुभयो, त्यसैले हामीले उहाँको समर्थन गरेका हौँ । तर, मत माग्न जाँदा तिमीहरू पनि छक्का हौ, भनेर सोध्छन्,’ ती महिलाले भनिन् ।
महेन्द्रदेखि राधासम्मको यात्रा : घरमा अपहेलित, नगरमा सम्मानित
उनी राधा मौसी हुनुअघिसम्म आर्थिक रूपले राम्रै परिवारको छोरा, महेन्द्र साह तेली थिइन् । ५९ वर्षअघि रौतहटको करौनियामा जन्मिँदा उनको आमाबाले दिएको नाम हो यो ।
तर, यो नामले उनलाई यस्तो लैंगिक भूमिकामा बाँध्यो कि उनलाई यो नामले सकस भयो । बाल्यकालमा राम्रो भए पनि किशोरावस्थामा परिवार, समाज र विद्यालयमा समेत अवहेलना खप्नुपरेको उनी सम्झिन्छिन् ।
उनी दुई आमा, आठ भाइ र सात बहिनीको परिवारमा जन्मिएकी हुन् । किशोरावस्थामा प्रवेश गरेपछि उनको व्यवहारमा परिवर्तन आयो । जसलाई समाजले पचाउन सकेन ।
‘मैले जम्मा ६ कक्षासम्म पढ्न पाएँ । शिक्षक र सहपाठीको व्यवहार राम्रो थिएन । जसको पेटबाट जन्मेँ, उनीहरूले नै हेपेपछि कसले अपनाओस् ?,’ उनले थपिन्, ‘घरमा पनि मलाई मेक अप गर्न, सारी लगाउन मन लाग्थ्यो । फेरि जुन अंग विकास हुँदै जान्छ, त्यो छोपिन्न, देखिहाल्छ ।’
घर–परिवारबाटै अवहेलना भएपछि आफू खाली हात रुँदै निस्किएर भारतको हिमाचल पुगेको उनले बताइन् । त्यहीँको चिन्तपूर्णी मन्दिरमा किन्नरबाट उनले राधा नाम पाएकी हुन् । नाच्ने गाउने काम गरेर हुर्किएकी उनी यही नामले चिनिन चाहन्छिन् ।
अहिले उनलाई जन्मेको घरसँग मतलब छैन । तर, बीच–बीचमा नेपाल आउँदा रौतहटबाटै आमाबालाई भनेर नागरिकता भने बनाइन् । घरबाट निस्केपछि भारतमा गएर किन्नर समाजमा नाच्ने, गाउने र आशीर्वाद दिने काम गरिन् ।
त्यसबीचमा सर्लाहीको मलंगवामै घर बनाइन्, बस्न थालिन् । उनी ४० वर्ष भइसक्यो यतै बस्न थालेको । ‘यहीँका मान्छे मेरा आमाबा हुन्, दाजुभाइ, दिदीबहिनी हुन्,’ उनी भन्छिन् ।
अहिले उनको केही खेतीबारी छ, पशुपालन र माछापालन व्यवसाय गरेकी छिन् । बाँकी उनको कमाइ भनेको उनीसँगै बस्ने दुई चेलाहरूले (पारलैंगिक व्यक्ति) आशीर्वाद दिने र खुसी भएर पाएको पैसा हो । उनका दुई धर्मपुत्र छन् ।
प्रदेश सभा सदस्यमा आफू र आफ्नो समाजका लागि आवाज उठाउने उनको भनाइ छ । ‘मजस्तै सबै राजनीतिमा आउनुपर्छ । आफ्नो हकका लागि । हामी धरतीमा केही लिएर आएका छैनौँ । त्यसैले आफूले चाहेको सबै कुरा गर्नुपर्छ । जसरी म उठेँ, उनीहरू पनि उठून्,’ उनले भनिन् ।
तस्बिरमा चुनावी प्रचार