१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १ बिहीबार ०६:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

४५ हजार गाई र ३४ हजार भैँसी व्यावसायिक पालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १ बिहीबार ०६:१८:००

नेपालमा व्यावसायिक रूपमा ४४ हजार आठ सय गाई र ३४ हजार ६ सय भैँसी व्यावसायिक रूपमा पालन गरिएका छन् । पालन गरिएकामध्ये उन्नत जातका गाईको संख्या ७५ प्रतिशत रहेको छ भने भैँसीको संख्या ७१ प्रतिशत रहेको छ । व्यावसायिक किसानहरूले संकलन गरेको दूधमा गाईको हिस्सा ६३ प्रतिशत रहेको र भँसीको हिस्सा ६१ प्रतिशत रहेको एक सर्वेक्षणले देखाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय तथ्यांक कार्यालयको संयुक्त आयोजनामा गरिएको आर्थिक वर्ष  ०७८/७९ मा नेपालका मध्यम तथा ठूला पशुपालन व्यवसायीहरूको एकीकृत सर्वेक्षण ०७८ ले यस्तो देखाएको हो । मन्त्रालयका अनुसार सर्वेक्षणमा देशभरका सात सय ९८ पशुपालन व्यवसाय छनोट गरिएका थिए । सर्वेक्षणले सबैभन्दा बढी व्यावसायिक भैँसी पाल्नेमा गण्डकी प्रदेश रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिममा रहेको देखाएको छ । व्यावसायिक रूपमा सबैभन्दा धेरै गाई पाल्नेमा भने बागमती प्रदेश र कम पाल्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ ।

यसैगरी, सर्वेक्षणले १५ हजार तीन सय ८० गाईले दूध दिने समयमा चार करोड ५८ लाख तीन हजार चार सय ५७ लिटर दूध दिने देखाएको छ । जातअनुसार होलिस्टिन–होलिस्टिनक्रस ब्रिड जातको गाईबाट सबैभन्दा बढी दूध उत्पादन हुने गरेको पाइएको हो । स्थानीय जातको गाईको सरदर दूध दिने अवधि नौ महिना र उन्नत जातको १० महिना देखिएको छ । दूध उत्पादनमा बागमती प्रदेशले सबैभन्दा बढी एक करोड ३५ लाख ९८ हजारसहित अग्रणी रहेको छ ।

यसैगरी, सर्वेक्षणले व्यावसायिक फार्मबाट दुई करोड ३२ लाख ३१ हजार ९१ लिटर भैँसीको दूध उत्पादन भएको देखाएको छ । मुर्रा जातको भैँसीबाट सबैभन्दा बढी दूध उत्पादन हुने गरेको पाइएको छ । भैँसीको दूध उत्पादनमा ८३ लाख ८८ हजार एक ८३ लिटरसहित गण्डकी प्रदेश अग्रणी रहेको छ ।  त्यसैगरी, नेपालमा एक लाख ५० हजारवटा बाख्रा व्यावसायिक रूपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका बाख्राको संख्या ४५ प्रतिशत रहेको छ । उन्नत जातमध्ये बोर बाख्रा सबैभन्दा बढी ३१ हजार ६ सय ३७ रहेका छन् ।   सर्वेक्षणले सबैभन्दा बढी २२ प्रतिशत बाख्रा प्रदेश नम्बर १ मा र सबैभन्दा कम चार प्रतिशत मधेस प्रदेशमा रहेको देखाएको छ । 

सर्वेक्षणले नेपालमा गाई–भैँसीपालन (मिश्रित) फार्म चारसय ८३ वटा, बाख्रा, च्यांग्रा, भेडापालन (मिश्रित) फार्म एक सय ९८ वटा र गाई–भैँसीपालन तथा बाख्रा–च्यांग्रा, भेडापालन(मिश्रित) फार्म  रहेको देखाएको छ । व्यावसायिक पशुपालन फार्महरू प्रदेश नम्बर १ मा सबैभन्दा बढी एक हजार दुई सय ७० वटा र मधेस प्रदेशमा सबैभन्दा कम चार सय चार रहेका छन् ।  

सर्वेक्षणले नेपालमा व्यावसायिक रूपमा पालिएका भेडाको जम्मा संख्या ८८ हजार चार सय २१ देखाएको छ जसमध्ये बरुवालजातका भेडा सबैभन्दा बढी १३ हजार तीन सय ३४ संख्यामा रहेका छन् भने त्यसपछि कागेजातका छन् जसको संख्या ६ हजार दुई सय ४८ रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी ४० प्रतिशत भेडा कर्णाली प्रदेशमा र सबैभन्दा कम चार प्रतिशत मधेस प्रदेशमा रहेको देखाएको छ ।