मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १३ शुक्रबार
  • Friday, 27 January, 2023
पशुपतिशमशेर जबरा
२०७९ कार्तिक २९ मंगलबार ०६:३४:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राजनीति र वैदेशिक सम्बन्धमा हाम्रो बाटो

असंलग्नताभन्दा पनि कतै नढल्कीकन सदा सतर्क रहने विदेशनीति सञ्चालन गर्नु नेपालका लागि हितकर हुनेछ

Read Time : > 4 मिनेट
पशुपतिशमशेर जबरा
२०७९ कार्तिक २९ मंगलबार ०६:३४:००

बहुदलीय प्रजातन्त्रपछि राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरेदेखि हाम्रा राजनीतिक एजेन्डा एउटै छन्– राष्ट्रियता, प्रजातन्त्र र उदारवाद । यो बृहत् राजनीतिक अवधारणामा हामी अहिले हिन्दूराष्ट्र र राजसंस्थाको एजेन्डा पनि सँगसँगै अघि बढाइरहेका छौँ । यो मुलुक पहिला पनि हिन्दूराष्ट्र थियो र अब पनि विधिवत् कायम रहनुपर्छ । संविधानले पूर्णतः बाँधेको राष्ट्रप्रमुखका रूपमा राजसंस्था रहनुपर्छ भन्नेमा हामी दृढ छौँ । हामी अहिलेकै राजनीतिक पद्धतिको सीमाभित्र रहेर यी विषय उठाइरहेका छौँ । 

उदारवादको छातामुनि रहेर हामीले आर्थिक एजेन्डा अघि सारेका छौँ । पहिलो, यो मुलुकको समृद्धिको मूल आधार जलस्रोत हो । म जलस्रोतमन्त्री भएर काम गरेको थप अनुभवका आधारमा निकालेको निष्कर्षमा अहिले पनि कायम छु । जलविद्युत्पछि पर्यटन नेपालको आर्थिक समृद्धिको आधार हो । यति सुन्दर मुलुक विश्वमा कहीँ पनि छैन । तेस्रो, नगदेबाली । जलविद्युत्, पर्यटन र नगदेबालीका आधारमा राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ । हाम्रा एजेन्डा यिनै विषयवरिपरि केन्द्रित छन् । 

निर्वाचनमा राजनीतिक दलका एजेन्डा पढ्दा र सुन्दा वास्तवमा निराशा मात्रै हात लाग्छ । उनीहरू जे पनि बोलिरहेका छन्, नगर्ने कुरा केही पनि छैन । दलहरूको घोषणापत्रमा केही पनि भन्न र बोल्न बाँकी छैनन् । उनीहरू घोषणापत्रमा कति इमानदार छन् भन्ने उनीहरूको विगतको कामले नै देखाएको छ र अब पनि देखाउनेछ । दलहरूका घोषणापत्र कार्यान्वयन हुने हो भने देश बन्न पाँच वर्ष लाग्दैन । तर, ३० वर्षदेखि जनताका माग तिनै छन् । जनताका अपेक्षामा बदलाव आएका छैनन् र दलहरूले अघि सारेका घोषणापत्रका सारमा पनि फेरबदल आएको छैन । यो यथार्थलाई सबैले मनन गर्नु आवश्यक छ । 

लामो राजनीतिक अनुभवका आधारमा नेपाल अव्यवस्थापन (मिस व्यवस्थापन)का कारण अघि बढ्न सकेन भन्ने लाग्छ । राजनीतिक नेतृत्वको मिस म्यानेजमेन्ट र व्यापक भ्रष्टाचारका कारण मुलुक समृद्धिमा अघि बढेन । सुन्दर मुलुकको सौन्दर्य र अपार सम्भावनालाई भ्रष्टाचारले समाप्त पारेको छ । नेपाललाई अघि बढाउन इमान र दक्षता चाहिएको छ । राजनीति मात्र नभई हरेक क्षेत्रमा इमान र दक्षताको कमी हुँदा हामी पछि परेका छौँ । अब जनताले खबरदारी गरिरहेका छन्– मनपरी गर्न पाइँदैन । अति भयो, इनफ इज इनफ ।

चुनावको मुखमा सबैतिरबाट खबरदारी चाहिएको छ । अब नेपालको अपार सम्भावनाको बाटो देखाउनु आवश्यक छ । संसद्मा, सबैले सुन्ने गरी बाटो देखाउनु आवश्यक छ । हामीजस्ता मानिसको भूमिका अब त्यही हुनुपर्छ, बाटो देखाउने । नयाँ नेतृत्वले त्यसलाई कार्यान्वयन गर्नुपर्छ । अब भोट पाउनेहरूले भोट दिनेहरूप्रति इमानदार हुनुपर्छ । व्यवस्थापन र दक्षताको संयोग मिलाउनुपर्छ ।

३० वर्षदेखि मैले जनताका अपेक्षा सुन्दै आएको छु– भ्रष्टाचार नहोस्, सुशासन कायम होस्, विकास होस् । हाम्रो उत्तरको छिमेकी चीनले विकासमा फड्को मारेको छ । दक्षिणी छिमेकी हिन्दुस्तानले पनि विकासमा धेरै प्रगति हासिल गरेको छ । तर, अपार सम्भावना बोकेको नेपालचाहिँ सधैँ कमजोर र गतिविहीन भएर किन बस्नुपर्ने ? अब नेपाल गरिब भएर बसिरहन सक्दैन । 

नेपाली जनताले अब सहनेवाला छैनन् । यो निर्वाचन यसकारण पनि महत्वपूर्ण छ । निजी फाइदातिर फर्केर राजनीतिक दलहरूले मुलुकको अपार सम्भावनालाई उपेक्षा गर्दाको परिणाम जे भयो, अब हामी यत्तिकै बस्न सक्दैनौँ । यसपालि जनताको चेत बदलिएको छ । सचेत जनमतका आधारमा लाग्छ, अब देश बन्छ र बनाउनुपर्छ । 

राप्रपा फरक र विकल्प लिएर आएको छ । नेपालको उन्नति परम्परा र चिनारी एवं धर्मका आधारमा मात्र सम्भव हुने हो । यस सन्दर्भमा हामी फरक छौँ । रवीन्द्र मिश्रजस्ता व्यक्ति राप्रपामा आएका छन् । यसले अलिकति युवामा आशा पलाएको छ । राप्रपा मात्रै यस्तो पार्टी हो, जसले नेतृत्वमा पुस्तान्तरण गरेको छ । राप्रपाले युवा मात्र नभएर जनजाति समुदायका युवालाई नेतृत्व हस्तान्तरण गरेको छ । हाम्रा साथी कमल थापाजी राप्रपाबाट अलग हुनुभएको छ र अहिले सूर्यमा चुनाव चिह्न लिएर अघि बढ्नुभएको छ । मलाई यो त्यति सहज लागिरहेको छैन । 

राप्रपा इमानको राजनीतिमा विश्वास गर्छ । हामीले भ्रष्टाचार नगर्ने कसम खाएका छौँ । यसमा हामी अरूभन्दा फरक छौँ । हामी जनताको उन्नतिको बाटोबाट देश अघि बढाउने संकल्पमा प्रतिबद्ध छौँ । अध्यक्ष राजेन्द्र लिङ्देनदेखि सिंगो पार्टी पंक्ति यसमा एक छ । विदेश नीतिका सन्दर्भमा हामीले कतैतिर नढल्किने भन्दै आएका छौँ । तर, कतैतिर नढल्केर बस्दा पनि मुलुकको उन्नति कसरी हुन्छ ? नेपालमा हिन्दुस्तान, चीन र अमेरिकाका अनेका चासो छन् ।

दुई ठूला छिमेकीको बीचमा रहेको र संसारकै ठूलो शक्तिको पनि सक्रियता रहेको अवस्थामा नेपालले अब निदाउन मिल्दैन । उनीहरूका जायज चासो सम्बोधन गर्न र हाम्रा चासो सम्बोधन गराउन हामी चौबीसै घन्टा सतर्क रहनुपर्छ ।
 

छिमेकीलाई मात्र होइन, हामीले परको शक्तिलाई पनि विचार गरेर अत्यन्तै परिपक्व सुझबुझपूर्ण परिस्थिति निर्माण गर्नुपर्छ । बदलिँदो परिप्रेक्ष्यसँगै आफू पनि बदलिनुपर्छ र सन्तुलनलाई आफ्नो फाइदाको अनुकूलतामा प्रयोग गर्नुपर्छ । सन्तुलन र कतैतिर नढल्किने मात्रै भनेर पुग्दैन । अहिले भारतसँग नेपालको सम्बन्ध ठिक दिशामा छ । चीन र अमेरिकासँगको सम्बन्धमा अझै काम गर्नुपर्छ । अमेरिकाको एसपिपी अस्वीकार गरेर नेपालले एमसिसी स्वीकार गरेको छ । यतिसम्म ठिकै छ । चीनसँग सम्बन्ध सञ्चालनमा थप मिहिनेत गर्नुपर्छ । नेपाल बिआरआईमा प्रवेश गरेको छ । हामीले अनुदान र न्यून ब्याजदरको सफ्टलोन लिनुपर्छ । हामी श्रीलंका वा पाकिस्तान बन्ने होइन । चीनबाट लिने सहयोग न्यून ब्याजदरको हुनुपर्छ, ताकि हामी भविष्यसम्म समस्यामा फस्नु नपरोस् ।

चीनमा राष्ट्रपति सी जिनपिङ फेरि तेस्रोपटक सत्तामा आएका छन् । उनले आफ्नो सामथ्र्य र क्षमता देखाएका छन् । चीनको नेतृत्व कसले गर्ने भन्ने चीनको मामिला हो । हामीले विदेश नीति सञ्चालनमा कुनै वाद वा विचार हेर्दैनौँ र हेर्नु पनि हुँदैन । सम्बन्धमा कूटनीतिक सन्तुलन कायम राखेर मुलुकको दूर भविष्य कायम राख्ने गरी नेपालले आफ्नो यात्रा तय गर्नुपर्छ । चीनमा को आयो भन्ने कुराले यहाँ धेरै फरक पर्दैन । नेपालमा चिनियाँ मोडलको राजनीतिक दल वा राजनीतिक पद्धति अघि बढ्ने सम्भावना छैन । हामीले छिमेकीसँग सन्तुलित सम्बन्ध राख्न सक्नुपर्छ । नेपालको प्रजातन्त्र अमर रहन्छ । बहुदलीय प्रजातान्त्रिक पद्धतिमा परिवर्तन नआउने भएकाले कुनै पनि छिमेकी मुलुकको बादले यहाँ केही गर्न सक्दैन । नेपालमा कहीँ कतैबाट पनि प्रजातन्त्रमाथि खतरा छैन । 

हिन्दुस्तानसँग पनि हामीले सन्तुलित र व्यावहारिक सम्बन्ध कायम गर्नुपर्छ । सीमा खुला छ । जनस्तरीय समबन्ध कायम भइहाल्छ । यहाँको राजनीतिक प्रणाली र धर्म हामीले नै तय गर्ने हो । यसमा कसले हस्तक्षेप गर्छ, हामीलाई ? त्यो सम्भावना पनि छैन । हाम्रा राजनीतिक मुद्दाहरूको व्यवस्थापन हामीले नै गर्ने हो । हामी राजनीतिक रूपमा सक्षम छौँ । हामीले हिन्दुस्तानसँग राम्रो सम्बन्ध कायम गर्ने विषय यही हो । हामीले वैदेशिक सम्बन्धमा एजिलिटी (फर्‍याकफुरुकपन) मा जानुपर्छ । एउटा डोरीमाथि हिँडेकोजस्तो सतर्कता अपनाउनु आवश्यक छ । 

असंलग्नताभन्दा पनि सदा सतर्क रहने विदेश नीति सञ्चालन गर्नु नेपालका लागि हितकर हुनेछ । यसको अर्थ हो, हामी कतैतिर ढल्किने कुरामा विश्वास गर्दैनौँ । यो मुलुक भूराजनीतिका सन्दर्भमा सतर्क हुनुपर्छ । नेपाली कूटनीतिक विद्वान् सरदार यदुनाथ खनालले नेपालको अस्तित्वको संवेदनशीलताबारे भनेका गम्भीर विचारलाई अहिलेको पुस्ताले पनि मनन गर्नु जरुरी छ । 

नेपाल सतर्क भएकै कारण अहिलेसम्म बाँचेको हो र भविष्यमा पनि नेपाल बाँच्ने आधार यही हो । राजा पृथ्वीनारायण शाहले कसरी मुलुक निर्माण गर्नुभयो र इतिहासका कालखण्डदेखि अहिलेसम्म मुलुक कसरी कायम रह्यो ? यसको प्रमुख कारण हो– सतर्कता । दुई ठूला छिमेकीको बीचमा रहेको र संसारको ठूलो शक्तिको पनि सक्रियता रहेको अवस्थामा नेपालले अब निदाउन मिल्दैन । उनीहरूका जायज चासो सम्बोधन गर्न र हाम्रा जायज चासो सम्बोधन गराउन हामी चौबीसै घन्टा सतर्क हुनुपर्छ । हामीले राष्ट्रिय गौरव कायम राख्नुपर्छ । अहिलेसम्म नेपालको स्वतन्त्रतालाई कसैले छुन नसकेको यथार्थलाई हामीले गौरवसाथ अघि बढाउनुपर्छ । हामी अघि बढ्ने योबाहेक विकल्प छैन । 
(पूर्वजलस्रोतमन्त्री जबरा राप्रपाका पूर्वअध्यक्ष हुन्)