महामारीमा सबैले भुलेका श्रमिक

आइतबार, १६ चैत, २०७६
डिजिटल संस्करण

कोरोना अर्थात् कोभिड–१९ का कारण आम्दानी गुमेका प्रत्येक नागरिकलाई साताको पाँच सय अमेरिकी डलर खातामा पठाइदिने व्यवस्था क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रयुडोले गरे । बच्चाका लागि थप ३ सय डलर दिइने घोषणा उनको छ । आफ्ना नागरिकहरू भोकै बस्नु नपरोस् भन्ने उनको प्रमुख ध्येय छ । 

यता दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सुकुमबासी र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई निःशुल्क खाना खुवाउने घोषणा गत शनिबार गरे । त्यसयता त्यहाँका सुकुमबासी र मजदुरले खानाको चिन्ता गर्नुपरेको छैन, उनीहरूलाई भात र राजमाको दाल सरकारले खुवाइरहेको छ । त्यति मात्रै होइन, भारतीय अर्थमन्त्री निर्मला सिथारमणले संकटको यो घडीमा गरिब, कामदार र सुकुमबासी जनताको सुरक्षाका लागि भनेर १७ खर्ब भारुबराबर राहत योजना सार्वजनिक गरिन् । गरिब जनताले अहिले पाइरहेकोमा थप ५ किलो चामल वा पिठो र थप १ किलो दाल पाउने अर्थमन्त्रीले बताइन् । भारतका कोही पनि गरिबले भोकै बस्नु नपर्ने घोषणा अर्थमन्त्रीको छ । 

संसारका सबै मुलुकजस्तै नेपाल पनि अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा छ । यो लडाइँमा सबैभन्दा जोखिममा रहेको गरिब र कामदार वर्ग हो– जो सहरमा दिनभरि ज्याला–मजदुरी गर्छ र राति हातमुख जोर्छ । जो गाउँमा दिनभरि खेतीको काम गर्छ र अन्नपातको जोहो गर्छ । जो बिरानो देशमा हाड घोट्छ र आफू खान्छ, नेपालमा आफ्ना परिवारलाई खानलाउन पु-याउने जिम्मेवारी पनि उसैको हुन्छ ।

कोभिड–१९ को यो त्रासमा अहिले सबैभन्दा पीडित बनेको तर कसैले पनि वास्ता नगरेको वर्ग यही कामदार वर्ग बनेको छ । स्वदेश र विदेशमा रहेका लाखौँ श्रमिकको काम गुमेको छ, आम्दानी गुमेको छ, हिजो कमाएको रकम हिजै सकियो, आज खान पैसा छैन । तर, उनीहरूले के खालान्– के लाउलान् भनेर सोच्ने फुर्सद सरकारले आजका दिनसम्म पाएको छैन । श्रमिकको हक अधिकारका विषयमा लड्ने नारा लगाउने एनजिओ आइएनजिओ आफैँ क्वारेन्टाइनमा बसेका छन् । 

वैदेशिक रोजगारमा गएका कामदार फर्किए भने तिनले मुलुकको श्रमबजार र रोजगारीमा मात्रै होइन, राजनीतिको आयाममै अदलबदल ल्याउन सक्छन् ।

ठमाडौंजस्ता ठूला सहर र भारतका विभिन्न ठाउँमा काम गर्न गएका धेरै मजदुर अहिले गाउँगाउँमा फर्केका छन् । उनीहरू यो समय रमाइलो गर्न सहर वा भारत छिरेका थिएनन्, चैत–वैशाखमा गाउँमा लाग्ने अनिकालबाट बच्न काम खोज्दै देशभित्रैका ठूला सहर र भारतका विभिन्न बजार छिरेका थिए । तर, अचानक आएको यो महामारीले उनीहरूलाई पुनः गाउँ नै फर्काएको छ । कतिपय बाटोमा अलपत्र छन् ।

गाउँमा अधिकांशको एउटा सानो टुक्रा भए पनि जग्गा होला । तर, चैत–वैशाखसम्म अधिकांशले उब्जनी खाइसकेका हुन्छन्, घरमा अन्नपात बाँकी हुन्न । उनीहरू अन्नपात नभएको गाउँमा पुगेर के खालान् ? आफ्ना बालबच्चालाई कसरी खुवाउलान् ? अहिले कोरोनाको डरका कारण अन्य बिरामीलाई कसैले वास्ता गरेको छैन । भोलि रुघाखोकी, झाडापखाला वा अन्य बिरामी परे भने उनीहरूले कहाँबाट उपचार खर्चको बन्दोबस्त गर्लान् ? राज्यको सम्पूर्ण ध्यान कोरोनामा लागिरहँदा गाउँका गरिब जनता ज्वरो, झाडापखाला, हैजाजस्ता अन्य रोगको उपचार गर्न नसकेर मर्ने सम्भावना अत्यन्तै धेरै छ ।

दोस्रो– भारतमा काम गर्न गएकामध्ये लाखौँ कामदार नेपाल फर्किसके । भोलि बाँकी बसेकाले पनि त्यहाँ रोजगारी गुमाउने र फर्कने सम्भावना छ । खाडी, मलेसियालगायत मुलुकमा पुगेका हजारभन्दा धेरै कामदारलाई फिर्ता लैजान त्यहाँका रोजगारदाताले नेपालका म्यानपावर कम्पनीलाई पत्र काटिसके । संक्रमण बढ्दै जाँदा केही समयमै यस्तो संख्या लाखौँ पुग्न सक्छ । अहिले संकटको घडीमा खाडी मलेसियामो कामदारले रोजगारी गुमाउनेछन्, ज्याला पाउने छैनन् । त्यस्तो अवस्थामा उनीहरूले नेपालमा पठाउँदै आएको रेमिट्यान्स त पठाउन छाड्नेछन् नै, उल्टै नेपालबाट पैसा माग्नुपर्ने अवस्था पनि आउन सक्छ ।

त्यसो भयो भने त्यस्ता कामदारका परिवार–बालबच्चा भोकै पर्न सक्नेछन् । साहुकारबाट ३६ प्रतिशतसम्म ब्याजमा ऋण लिएर बाहिर गएको कामदारले ऋण तिर्न सक्नेछैन । उनीहरूले बन्धकी राखेको थोरै घरखेत पनि साहुकारले खाइदिन सक्नेछ । यसो भयो भने त्यो गरिब कामदारले कसको मुख हेर्ने ? सरकार उनीहरूको अभिभावक बन्नुपर्ने हो । तर, सरकारले आजका दिनसम्म यस विषयमा सोचेकै छैन, भोलि सोच्ला भनेर कसरी भन्नु ?  संसारमा कोरोनाको प्रभाव कस्तोसम्म पर्ला यसै अनुमान गर्न सकिन्न । तर, यो महामारीका कारण संसार आर्थिक महामन्दीमा जाने भने निश्चितजस्तै छ ।

कोभिड–१९ ले ल्याउने महामन्दी सन् १९३० को महामन्दीभन्दा निकै ठूलो हुने अर्थशास्त्रीहरूले अनुमान गरेका छन् । सन् १९३० को महामन्दीले संसारभरि नै कुल गार्हस्थ्य उत्पादन १५ प्रतिशतले घटेको थियो । विश्वका विभिन्न मुलुकहरूमा बेरोजगारीको दर ३३ प्रतिशतसम्म (हरेक तीनजनामा एक बेरोजगार) पुगेको थियो । मानिसको आम्दानी अकल्पनीय रूपमा घटेको थियो । कोभिड–१९ का कारण २ करोड ५० लाख कामदारले रोजगारी गुमाउने आँकलन अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गरेको छ । ती श्रमिकको ३४ खर्ब अमेरिकी डलरबराबरको आम्दानी यो एक वर्षमा गुम्ने प्रक्षेपण आइएलओको छ । अमेरिकाको फेडेरल रिजर्भ बैंकका पूर्वअध्यक्ष बेन बर्नान्कीले यो ठूलो हिमपातजस्तो भएर आउने बताएका छन् । अर्थतन्त्रमा एकैपटक ठूलो मन्दी आउने र चाँडै नै रिकभर पनि हुने उनको भनाइ छ ।

कोरोनाको प्रभाव अल्पकालीन हुन्छ भन्ने अनुमानका आधारमा उनले त्यस्तो बताएका हुन् । विश्वव्यापी महामारी कहिले सकिन्छ भन्ने कुनै भर हुन्न । सन् १९१८ को स्पेनिस फ्लुको महामारी दुई वर्ष चलेको थियो, १३४७ मा सुरु भएको ग्रेट प्लेगको महामारी ४ वर्ष । महामारी लम्बिएर अर्थतन्त्रहरू ठूलो मन्दीमा जाँदा खाडी, मलेसिया र अन्य रोजगार गन्तव्यका मात्रै होइन, युरोप अमेरिकाबाटै लाखौँ नेपाली स्वदेश फर्कन सक्छन् । कति नेपाली देशबाहिर छन् भन्ने यकिन तथ्यांक नभए पनि भारतमा १५ लाख र अन्य मुलुकमा ३५ लाख रहेको अनुमान छ । तीमध्ये अधिकांश मानिस एकैपटक स्वदेश फर्किंदा मुलुकभित्र रोजगारी संकटको बिकराल अवस्था सिजना हुनेछ ।

बाहिर रहेकामध्ये आधा मात्रै नेपाल फर्के भने पनि २५ लाख युवा एकैपटक मुलुक भित्रनेछन् । त्यसरी फर्कन सक्ने मानिसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, उनीहरूलाई उत्पादनका काममा कसरी समाहित गर्न सकिन्छ भन्नेबारेमा नेपाल सरकारले रौँबराबर पनि विचार पु-याएको देखिन्न । हरेक वर्ष पाँच लाख कामदार नेपाली श्रम बजारमा प्रवेश गर्छन् । र, त्यति नै संख्यामा नेपालबाट विदेशमा श्रम गर्न जान्छन् । यस्तो अवस्था मुलुकभित्र धेरै रोजगारी नै सिर्जना गर्नु नपर्ने सजिलो स्थितिमा सरकार बसिरहेको थियो । तर, त्यो स्थिति सधैँ रहँदैन भन्ने सरकारले कहिल्यै सोचेन । अहिले महामारी आएर मात्रै होइन, सामान्य अवस्थामै पनि वैदेशिक रोजगारीको अवसर गुम्न सक्थ्यो । यस्तो भयावह स्थिति आउँदै छ भन्ने आँकलन गर्ने बृहद् सोचाइ अहिलेको सरकारसँग मात्रै होइन, यसअघिका सत्ता सञ्चालकसँग पनि बिल्कुलै थिएन । 

विदेशमा काम गर्ने नेपाली नहुने हो भने नेपालको अर्थतन्त्र पहिल्यै टाट पल्टिसक्थ्यो । उनीहरूले रेमिट्यान्सबापत विदेशी मुद्रा पठाउँछन्, त्यसैले खर्बौं रुपैयाँको आयात गर्दा पनि मुलुकको शोधनान्तर स्थिति सन्तुलनमै छ । अर्थतन्त्रमा रेमिट्यान्सको आधार बढ्दै गएको छ । आव ०६२-६३ मा नेपालको कुल गार्हस्थ उत्पादनको १६ प्रतिशतबराबर रेमिट्यान्स भित्रिएको थियो । आव ०७५-७६ मा यो करिब २६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष आठ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्सबापत आएको थियो । त्यही भएर १४ खर्ब १८ अर्ब रुपैयाँको आयात हुँदा पनि शोधनान्तर स्थिति (नेपाल भित्रने र बाहिर जाने विदेशी मुद्राबीचको अन्तर) धेरै बिग्रेको थिएन ।

करिब ९ खर्ब रुपैयाँ रेमिट्यान्स आएको थिएन भने सोच्नुस्, यो मुलुकको अर्थतन्त्रको हाल के हुन्थ्यो होला । संकट गहिरिएर विदेशमा रहेका कामदार फर्कनुप-यो भने उनीहरूले पठाएको डलरका कारण धानिएको अर्थतन्त्रको इज्जत सिद्दिनेछ । रेमिट्यान्स घट्न सुरु भइसकेको छ । यस आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स ० दशमलव ५ प्रतिशतले घटी पाँच खर्ब १३ मात्रै आएको छ । यस वर्ष व्यापार पनि केही घटेकाले शोधनान्तर स्थिति २१ अर्बले बचतमा छ । तर, नेपालको उपभोग मूलतः आयातमै निर्भर छ । आयात बढिरहने, रेमिट्यान्स घट्ने स्थिति आउनेबित्तिकै नेपाल विदेशी मुद्रा संकटको अवस्थामा धकेलिनेछ । त्यसको बहुआयामिक असर अर्थतन्त्रमा पर्नेछ । 

नेपाली नागरिक जुन देशमा भए पनि उनीहरूलाई हातमुख जोर्ने प्रबन्ध गराउने र महामारीबाट बचाउने पहिलो दायित्व नेपाल सरकारको हो ।

देशिक रोजगारमा गएका कामदार फर्किए भने तिनले मुलुकको श्रमबजार र रोजगारीको मात्रै होइन, राजनीतिको आयाममै अदलबदल ल्याउन सक्छन् । चेतनशील युवा जनशक्ति बेरोजगार बन्दा उनीहरूमा सत्ता र सरकारप्रति वितृष्णा उत्पन्न हुनेछ, जसले आन्दोलन, प्रदर्शन र अस्थिरताको रूप लिन सक्छ । ०६२-६३ को आन्दोलनपछिको करिब डेढ दशक मुलुक मूलतः संक्रमणमै रह्यो । विकास तथा उत्पादनको गति बढेन ।

मुलुकमा शान्ति स्थापनापछि आर्थिक विकासले गति लेला, रोजगारी सिर्जना होला भन्ने जनताको आशा निराशामा बदलियो । द्वन्द्वको वेला राज्य तथा माओवादी दुवै पक्षले युवाहरूलाई युद्धमा प्रयोग गरे । तर, शान्तिसम्झौता भएपछि त्यो अवस्था पनि रहेन । यस्तो अवस्थामा ठूलो संख्यामा बेरोजगार युवा जनशक्ति मुलुकमै रहिरह्यो भने पुनः आन्दोलन र द्वन्द्वको स्थिति सिर्जना हुने सम्भावना थियो । त्यही भएर बेरोजगार जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने सजिलो प्रयोग सरकारहरूले गरे । ०६२-६३ सम्म थोरै संख्यामा नेपाली कामदार वैदेशिक रोजगारमा जान्थे । ०६२-६३ मा एक लाख ६२ हजार दुई सय ५२ जना कामदार वैदेशिक रोजगारीमा गएका थिए । त्यसवेलासम्म वैदेशिक रोजगारीमा जाने कुल कामदारको संख्या सात लाख ५८ हजार ६ सय ७५ थियो ।

अहिले यो संख्या ३५ लाखभन्दा धेरै भइसकेको छ । र, दलहरूले वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्न गरेको प्रयोगले आजसम्म काम गरेको छ । तर, महामारी र विपत्तिका कारण स्थिति सोचेजस्तो सहज रहेन । अबका दिनमा हाम्रा रोजगार गन्तव्यहरूमा समस्या बढ्दै जाँदा श्रमिकहरू फर्कंदै जानेछन् । सामान्य अवस्थामै पनि मुलुकमा रोजगारीका अवसर सिर्जना हुन सकेका छैनन् । कोरोनाको महामारीले अर्थतन्त्र शिथिल बन्यो भने अवसरहरू अझै सीमित हुनेछन् । आजकै दिनमा ११ प्रतिशतभन्दा बढी बेरोजगारी दर रहेको मुलुकले थप कामदारको चाप धान्न सक्नेछैन । लाखौँ बेरोजगार युवाले अस्थिरताको आँधी ल्याउन सक्नेछन्, जसका कारण लामो समयदेखि सत्ता र शक्तिमा रहनेहरू बढारिन सक्छन् । 

युवालाई वैदेशिक रोजगारीमा पठाएर भित्रिएको रेमिट्यान्सले अर्थतन्त्र धान्ने गलत बाटोमा मुलुक लामो समयदेखि हिँडिरह्यो । तर, आज लाखौँ नेपाली दाजुभाइ दिदीबहिनी आफ्नो मुलुक र घरपरिवारबाट धेरै टाढा रहेर संकटको घडी बिताइरहेका छन् । त्यसैले तत्कालका लागि उनीहरू कुन अवस्था छन्, खाने लगाउने प्रबन्ध कस्तो छ ? यस विषयमा सरकारले तत्कालै ध्यान दिनुपर्छ । नेपाली नागरिक जुन देशमा भए पनि उनीहरूलाई हातमुख जोर्ने प्रबन्ध गराउने र महामारीबाट बचाउने पहिलो दायित्व नेपाल सरकारको हो । यसमा आजसम्म सरकारले जेजति प्रयास गरेको भनेर भाषण गरेको छ, त्यो नै कमजोर छ । अझ यथार्थमा त केही नै भएको छैन । 

दीर्घकालमा भने रेमिट्यान्सको धरापबाट मुलुकलाई मुक्त गर्नैपर्छ । न त वैदेशिक रोजगारीको अबको भविष्य राम्रो देखिन्छ न त रेमिट्यान्सको भरमा मात्रै मुलुक सधैँ चलिरहन्छ । मुलुकभित्रै रोजगारी सिर्जनातर्फ मुलुकका नीतिहरू केन्द्रित हुनुपर्छ । कहाँकहाँ अवसर छ, त्यसलाई कसरी सदुपयोग गर्ने भन्नेबारे गम्भीर अध्ययन हुनुपर्छ । वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने कामदारलाई एउटा सीपसँग जोड्नु आवश्यक छ । उनीहरू फर्केपछि तत्काल उनीहरूलाई उद्यम सुरु गर्ने वातावरण सरकारले बनाउनुपर्छ । कुनैवेला जापान, कोरिया र मलेसियाजस्ता मुलुक पनि विदेशमा कामदार पठाउने मुलुकमा पर्थे । तर, अहिले उनीहरूले विदेशबाट ठूलो संख्यामा कामदार लिने गरेका छन् ।

वैदेशिक रोजगारीमा गएर फर्कनेहरूलाई उद्यमशील बनाएकैले उनीहरू त्यो अवस्थामा पुगेका हुन् । कामदार उत्पादनका महत्वपूर्ण खम्बा हुन् । जसरी कच्चा पदार्थ निर्यात गर्ने मुलुक कहिल्यै धनी हुन सक्दैन, त्यसैगरी कामदारको व्यापार गरेर समृद्धि हासिल हुँदैन । सबै नेपालीले मुलुकभित्रै कामको समुचित अवसर पाए भने मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल हुनेछ ।

सम्पादकको रोजाइ

सुझावित समाचार