यसै वर्षको वसन्त ऋतुमा १३ दिनको अन्तरमा तीनपटक सगरमाथा आरोहण गरेर पूर्णिमा श्रेष्ठले इतिहास रचिन् । फोटो पत्रकारसमेत रहेकी पूर्णिमा विश्वको सातौँ अग्लो हिमाल धौलागिरि चढ्ने पहिलो नेपाली महिलासमेत हुन् । उनले सगरमाथा, धौलागिरि, अन्नपूर्णलगायत आठ हजार मिटरमाथिका आठवटा हिमाल आरोहण गरिसकेकी छन् । पूर्णिमालाई सिएनएनले ‘द एक्सट्रिम एथलेस्ट हु पुस्ड लिमिट इन २०२४’को साहसी खेलाडीको सूचीमा राखेको थियो । उनले हिमाल आरोहण गर्दाका अनुभव पवन बराइलीलाई सुनाएकी छिन्:
म गोरखाको आरुघाटमा जन्मेँ । मेरो बाल्यकाल त्यहीँ बित्यो । बाल्यकालमा घरको आँगनबाट गणेश हिमाल देखिन्थ्यो । तर, गाउँमा कहिल्यै हिउँ परेको देखिनँ । मलाई सानैदेखि डाँडामा डुल्न मन लाग्थ्यो । शारीरिक रूपमा आफूलाई बलियो लाग्थ्यो । आफूलाई त्यसरी नै प्रस्तुत गर्थेँ । गह्रुंगो भारी उचाल्ने काम गर्न सक्थेँ । खेलकुदमा सहभागी हुँदा अरूभन्दा अब्बल र कहिल्यै नथाक्ने खालको थिएँ । सानैदेखि शारीरिक रूपमा चुनौती मल्न मन लाग्थ्यो । दबिएर बस्न मन लाग्दैनथ्यो । प्रतिरोध गर्ने स्वभाव थियो ।
एसएलसीपछि काठमाडौं आएर पत्रकारिता पढेँ । टेलिभिजनमा प्रस्तोतालाई देख्दा र पत्रिकामा कसैको बाइलाइन देख्दा मलाई पनि त्यस्तै बन्ने रहर लाग्थ्यो । पढाइसँगै फोटो पत्रकारिताको काम पनि सुरु गरेँ । क्यामेरामा सुन्दर दृश्य कैद गर्ने बानी पर्यो । फोटो खिच्ने क्रममा धेरै ठाउँ पुगियो ।
हिमालसँग प्रेम
क्यामेरामा सुन्दर दृश्य कैद गर्ने हुटहुटीले हिमालसम्म पुर्यायो । सन् २०१७ मा सगरमाथा आधार शिविर जाने अवसर मिल्यो । त्यतिवेला एभरेस्ट म्याराथनको फोटो खिच्न गएको थिएँ । हिउँको संसारलाई नजिकैबाट नियाल्न पाएँ । त्यो नै मेरो पहिलो ट्रेकिङ थियो । त्यहाँ पुग्न मलाई निकै गाह्रो भएको थियो । सगरमाथा आधार शिविरमा बसुन्जेल आनन्द आयो । हिउँको दृश्यलाई क्यामेराको लेन्समा कैद गरेँ । नजिकबाट हिउँले ढाकेको सेतो हिमाल देख्दा मन खुसी भयो ।
संसारका धेरै मान्छेका सपना सगरमाथा पुग्ने हो । मेरो पनि सपना सगरमाथा पुग्ने बन्यो । सपना भेट्न अर्को चुनौती मोल्न मन लाग्यो । त्यो चुनौती थियो, सगरमाथा चढ्ने । सगरमाथा चढ्नुअघि ६ हजारभन्दा अग्लो हिमाल चढ्नुपर्ने रहेछ । त्यो थाहा थिएन । मैले आठ हजार मिटरकै मनास्लु हिमाल आरोहण गर्ने सोच बनाएँ । मनास्लु चढ्नु मेरा लागि सहज थिएन । मानसिक रूपमा तयार भए पनि आर्थिक रूपमा तयार थिइनँ । मसँग पैसा थिएन । हिमाल चढ्ने भूत सवार भइसकेको थियो । पैसा जुटाउने अभियान सुरु गरेँ । तर, धेरैले हिमाल चढेर के हुन्छ ? पनि भन्थे । पैसाको लागि धेरै ठाउँ भौँतारिएँ । आफ्नै खर्चमा हिमाल चढ्न जाने स्थिति थिएन । त्यसवेला ममा एकप्रकारको पागलपन नै सवार थियो । मसँग फोटो खिच्ने कला थियो । हिमालका लागि कुनै शारीरिक अभ्यास पनि गरेकी थिइनँ । मलाई सामान्य वाल क्लाइम्बिङको अनुभव मात्रै थियो । कसरी चढ्न सक्छु होला ? भन्ने पनि लाग्थ्यो । पूर्वाभ्यास हिमाल चढ्न जानुहुँदैन, सुनेकी थिएँ । तर, आरोहण असफल भए पनि स्वीकार गर्छु भन्ने मनस्थिति बनाएँ । तमाम चुनौतीका बाबजुद पनि २०१७ सेप्टेम्बर २३ मनास्लु आरोहण गरेँ ।
मनास्लुपछि सगरमाथा आरोहण गर्ने सोच बनाएँ । सगरमाथा आरोहण गर्नु भनेको जीवन र मृत्युको यात्रा गर्नुजस्तै रहेछ । सगरमाथा मेरा लागि केवल एक शारीरिक चुनौती मात्र थिएन, आर्थिक र सामाजिक रूपमा ठुलो संघर्ष थियो । मैले सन् २०१८ मा सगरमाथाको सफल आरोहण गरेँ । त्यसको अर्काे वर्ष आमादब्लम चढेँ । मलाई झन् हिमालको सुन्दरताले आकर्षित गर्यो । त्यसपछि मेरो पाइला रोकिनँ । धेरैको लक्ष्य सगरमाथा आरोहण गर्ने मात्रै हुन्छ । सगरमाथा चढेपछि अरू हिमाल चढ्दैनन् । तर, मलाई सगरमाथा आरोहणपछि महिला नचढेका हिमालहरू कुन रहेछन् भन्ने बुझ्न मन लाग्यो । महिला चढेको हिमाल धौलागिरि र अन्नपूर्ण रहेछ । यी दुवै हिमाल चढ्नलाई गाह्रो छ भनेको सुन्थेँ । गाह्रो मानिने अन्नपूर्ण र धौलागिरिको सफल आरोण गरेँ । त्यसपछि कञ्चनजंघा, ल्होत्से, मकालुको सफल आरोण गरेँ । मलाई सुरुमा नेपालको आठ हजार मिटर अग्ला मात्र चढ्छु भन्ने लाग्यो । मैले चढ्नुपर्ने हिमाल चढिसकेँ भन्ने हुन्थ्यो । तर, त्यस्तो नहुँदो रहेछ । एकपछि अर्काे सपनाको आयतन बढ्दै जाने रहेछ । अरू हिमाल चढ्न मन लाग्दो रहेछ ।
हिमाल चढ्न सजिलो छैन । पाइला–पाइलामा मृत्युलाई देखिन्छ । आमादब्लम चढ्दा निक गाह्रो भएको थियो । अन्नपूर्ण र कञ्चनजंघा निकै डर लागेको थियो । त्यतिवेला मनमा अनेक कुरा खेल्थे ।
फर्किन्छु, फर्किदिन होला जस्तो लाग्थ्यो । शरीरका कति पार्ट चल्दैन जस्तो लाग्ने । हिमाल नचढ्नुपर्ने रहेछ भन्ने पनि सोच आउँथ्यो । अब सक्दिनँ थाकिसकेँ भन्ने मनमा आइरहन्थ्यो ।
१३ तीनभित्र तीनपटक सगरमाथा आरोहण गर्नु सजिलो थिएन । शरीर भारी हुन्थ्यो । थकानको सीमा नै हुँदैन थियो । भोक, निन्द्रा मेरा लागि महसुस मात्रै थिए । केही सोच्न मन लाग्दैनथ्यो । शरीर चलाउन मन लाग्दैनथ्यो । अब सक्दिनँ, फर्किन्छु भन्ने सोच पनि आयो । आँखामा हिउँ छ्यापेर, आफूलाई ब्युँझाएँ । मनमा साहस भरेँ । सास हुन्जेल कोसिस गर्छु भनेर आफूलाई च्यालेन्ज दिएको थिएँ । आत्मविश्वासले एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गर्न सकेँ ।
मेरा लागि सगरमाथा जीवनको अर्काे कोसिस थियो । मैले हिमाल चढ्ने योजना सुनाउँदा धेरैले गाह्रो छ भन्थे । तर, मैले कोसिस नगरेको भए कसरी सफल हुन्थेँ होला ? अहिले फर्केर हेर्दा ठिकै गरेछु जस्तो लाग्छ । मैले त्यो जोखिम मोलेर ‘सप्राइज सफलता’ पाएँ । त्यो सफलताका लागि संघर्ष चाहिने रहेछ ।
हिउँसँग लुकामारी खेल्दाको मज्जा बयान गर्न सकिन्न । हिमाल मेरा लागि आध्यात्मिक ठाउँ हो । त्यहाँ आफ्नो जीवन पाउँछु, मृत्यु पनि पाउँछु । हिमालमा ठुलो कुरा खुसी पनि पाउँछु । हिमालले ऊर्जा र साहस भरिदिन्छ । त्यसैले हिमाल जान बाहना मिलोस् भन्ने कामना गर्छु ।
पछिल्लो समय माउन्टेनमा इन्जोय गर्न थालेको छु । दुःख भए पनि रमाइलोको रूपमा लिन्छु । त्यहाँ मृत्यु खोज्न जान मन लागोस् । कहिले प्रेम खोज्न जान मन लागोस् । आफूलाई दुःख दिन जान मन लागोस् । त्यस्तै कुनै बाहना बनोस् भन्ने लाग्छ । त्यहाँ रोमाञ्चकता पनि छ, चुनौती पनि हुन्छ । जीवनमा सबैभन्दा पहिले सन्तुष्टि खोज्नुपर्ने रहेछ । अनुभव आफैँमा शक्तिशाली चिज रहेछ । त्यो पैसाले किनेर नपाइने रहेछ । त्यो अनुभव लिएर बाँच्नु अर्कै आनन्द आउँदो रहेछ । यस्ता अनुभव संगाल्न पनि हिमाल पटक–पटक गइरहन्छु । संघर्षबाट पाएको सफलता अर्थपूर्ण लाग्दो रहेछ । साथै रमाइलो पनि लाग्ने रहेछ । डराई–डराई बाँचेको जीवनमा बेग्लै आनन्द आउँदो रहेछ । सबैभन्दा ठुलो कुरा म बाँचिरहेकी छु । त्यसैले मलाई साहस आइरहन्छ । हिमाल नगएको भए त्यस्तो अनौठो अनुभूति गर्न कहिल्यै पाउँदिन थिएँ ।
महिलालाई अझै पत्याइँदैन
पर्वतीय क्षेत्रमा पुरुषभन्दा महिला कम छन् । महिलाको क्षमता र साहसलाई कम आँकिन्छ । महिलाहरूले साहसी काम गर्न सक्दैनन् भन्ने समाजको बुझाइ छ । महिलाले सुरक्षित र सजिलो काम मात्रै गर्नुपर्छ भनिन्छ । महिलालाई शारीरिक रूपमा कमजोर ठानिन्छ । शारीरिक रूपमा मात्रै पुरुषभन्दा महिला कमजोर नै हुन्छ । हाम्रो शरीरिक बनावट नै त्यस्तै हुन्छ ।
समाजले महिलालाई आर्थिक रूपमा कमजोर बनाइदिन्छ । पुरुष जन्मिँदै सम्पत्तिको मालिक भएर जन्मिन्छ । समाजमा आर्थिक रूपमा पुरुष अघि हुन्छ । पुरुष आफ्नो सम्पत्तिको हकदार आफैँ हुन्छ । साहसी काम गर्नु महिलाका लागि सामाजिक चुनौती पनि छ ।
मलाई विवाह गरेर बच्चा जन्माउन छाडेर कहाँ हिमाल जान खोजेको भन्नेजस्ता प्रश्न पनि आइरहन्छ । प्रत्यक्ष नभने पनि हामीलाई यसरी पनि हेरिन्छ । महिलाले हिमाल चढेर के परिवर्तन आउँछ ? भनेको पनि सुनिन्छ ।
हिमाल चढ्न थालेपछि ‘तिमी यस्ती फुच्ची छ्यौ । बोकेर चढाइदिएहोला ? पनि भन्छन् । तर, यस्तो प्रश्न पुरुषलाई सोधिँदैन । महिला भएर यस्ता–यस्ता प्रश्नको सामना गरिरहनुपर्छ । मलाई लाग्छ, यी मान्यता भत्काउन हामी आफैँ अघि बढ्नुपर्छ । हामीले नै साहस गर्नुपर्छ ।